१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

६५ करोड शंकास्पद कारोबार आरोपमा शाह पक्राउ

पृथ्वीबहादुर शाह।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले संरक्षण गरेको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहले नेतृत्व गरेका कम्पनीबाट करिब ६५ करोड रुपैयाँ शंकास्पद कारोबार भएको अनुसन्धानमा देखिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा शाहले विदेशी नागरिकलाई ठगी गर्दै शंकास्पद कारोबार गरेको भेटिएपछि उनीसहित ६ जना पक्राउ परेका छन्।

ब्युरोका एसपी सञ्जयसिंह थापाका अनुसार शाहसहितका ६ जनाले ‘हन्टिङ रिजर्भ अफ नेपाल प्रालि’ लगायतका दर्जनौं कम्पनीका नाममा शंकास्पद कारोबार गरेको भेटिएको छ। शंकास्पद कारोबारमा संलग्न भएको आरोपमा शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको उनले बताए। ब्युरोका अनुसार आरोपितले अमेरिकी नागरिक जुलिया होडेजलगायतका व्यक्तिसँग ‘एन्टी भाइरस’ नवीकरण गर्न भन्दै सम्पर्क स्थापित गरी कम्प्युटरमा पहुँच पुर्‍याई नवीकरणबापतको रकम पठाउन भनी झुक्याएर रकम लिएको देखिएको छ। उनीहरूले ‘वायर स्क्यान’ गरी ‘स्विफ्ट’ मार्फत ४६ लाख ४६ हजार अमेरिकी डलर (करिब ६१ करोड ५२ लाख रुपैयाँ), १२ हजार ८ सय २५ पाउन्ड स्टर्लिङ डलर (करिब २० लाख ३४ हजार रुपैयाँ), तीन करोड २२ लाख २८ हजार रुपैयाँ रकम प्राप्त गरेको ब्युरोले जनाएको छ। ‘शाहसहितका ६ जनाले विदेशी नागरिकलाई ठगी गरेर शंकास्पद कारोबार गरेको पाइएपछि पक्राउ गरेका छौं,’ एसपी थापाल भने, ‘उनीहरूले नेपाल सरकारसँग अनुमति नलिई कारोबार गरेको पाइयो।’  

शंकास्पद कारोबार गरेको आरोपमा प्रहरीले शाहसहित अछाम बन्नीगढी–६ का विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखा खोपाचाँगु–२ का अनुप खड्का, नवलपरासी बर्दघाट–४ का रुकमांगत काफ्ले, अछाम दर्ना–६ का रंगबहादुर साउदलाई पक्राउ गरेको हो। ब्युरोले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद लिएको छ। उनीहरूले अमेरिकाबाट भित्र्याएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको ब्युरोले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले ती कम्पनीमार्फत विदेशीलाई ठगी गरेको उजुरी पनि परेको छ। ‘शंकास्पद कारोबार गरेको सूचनाका आधारमा अनुसन्धान गर्दै आएका थियौं,’ एसपी थापाले भने, ‘शाहसहितका व्यक्तिका नाममा सञ्चालन गरेका व्यक्ति र कम्पनीका खातामा करोडौं रुपैयाँ शंकास्पद कारोबार देखिएपछि पक्राउ गरेका हौं।’ शाहले नेतृत्व गरेका ती कम्पनीमा अन्य व्यक्ति पनि साझेदार देखिएका छन्। शाहसहितले गैरकानुनी तवरले प्राप्त गरेको रकम विभिन्न कम्पनी तथा व्यक्तिहरूका बैंक खातामा जम्मा गर्दै आएको पाइएको छ।  

उनीहरूले प्राप्त रकमको स्रोत लुकाउन अन्य विभिन्न व्यक्ति तथा संस्थाका नाममा ‘ट्रान्सफर’ गरी ठगी गर्दै आएको ब्युरोको दाबी छ।

शाहको कम्पनीका नाममा विदेशबाट आएको करोडौं रूपैयाँ नेपाल राष्ट्र बैंकले रोकेपछि तत्कालीन अर्थमन्त्री शर्माले पैसा छुटाउन दबाब दिएका थिए। शाहले शंकास्पद कारोबार गरेको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकले अनुसन्धान गरिरहेका बेला अर्थमन्त्रीले पैसा छुटाउन निर्देशन दिएपछि चौतर्फी आलोचना भएको थियो। शाह संलग्न कम्पनीका नाममा अमेरिकाबाट अस्वाभाविक रूपमा करोडौं रूपैयाँ आएपछि त्यहाँको सरकारी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन)’ ले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएर छानबिन गरी रकम फिर्ता गरिदिन भनेको थियो। त्यसपछि राष्ट्र बैंकले उक्त रकम रोकेको थियो। तत्कालीन अर्थमन्त्री शर्माले रकम फुकुवा गर्न लिखित निर्देशन दिए पनि त्यसो गर्न नसक्ने अडान राष्ट्र बैंकका अधिकारीले लिएका थिए।

यस विषयमा तत्कालीन अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई दबाब दिएको सार्वजनिक भएपछि अर्थ मन्त्रालयले विदेशी लगानीलाई रोक्न नहुने भन्दै गत वर्षको चैतमा विज्ञप्तिसमेत प्रकाशित गरेको थियो। शर्माले शाहले प्रत्यक्ष वैदेशिक लगानी ल्याएको अभिव्यक्ति दिएका थिए। आफूले राष्ट्र बैंकलाई दिएको निर्देशन सञ्चारमाध्यममा आएपछि तत्कालीन अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्नेसम्मको प्रक्रिया चालेका थिए। शंकास्पद कारोबार देखिएको पृथ्वीबहादुर शाहको नाममा रहेको बैंकखाता अहिले पनि रोक्का रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाखर भट्टले बताए।

प्रकाशित: २३ पुस २०७९ ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App