८ वैशाख २०८१ शनिबार
अर्थ

राजस्व छलीमा पौने अर्बको सजाय माग

सरकारले राजस्व छली गरेको आरोपमा दुई कम्पनीका सञ्चालक विरुद्ध करिब पौने अर्ब रूपैयाँ बढी सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने दुई कम्पनी विरुद्ध ७८ करोड रूपैयाँ सजाय माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो।

राजस्व अनुसन्धान कार्यालय र बुटबलले दुई वटा मुद्दा दायर गरेका हुन्। राजस्व अनुसन्धान विभाग बुटवलले उच्च अदालत तुलसीपुर र विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ गल्लामण्डीमा सञ्चालित सुमित एण्ड स्वयता ट्रेडर्सका सञ्चालक पुनित बानियाँ र ललितपुर महानगरपालिका वडा नं. ११ कुमेश्वरको त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जन विरुद्धमा मुद्दा दायर गरेको हो।

स्वयता ट्रेडर्सका सञ्चालक पुनित बानियाले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सो बमोजिमको कर योग्य आयमा लाग्ने रकम समेत सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरी राजस्व छलेको विभागले जनाएको छ।

बानियाँले राजस्व कसुर अपराध गरेको पुष्टि हुन आएको बिगो ३३ करोड ३ लाख ५० हजार रूपैयाँ बिगो कायम गरी ६६ करोड ७ लाख सजाय माग दाबी गरेको छ। विभिन्न फर्म प्रयोग गरी अबैध तवरले केही समय कारोबार गरेको र उक्त फर्मले बुझाउनुपर्ने राजस्व नबुझाइ अर्को फर्मबाट समेत कारोबार गरेको देखिएको विभागले जनाएको छ।

फर्मले बुझाउनुपर्ने राजस्व नबुझाइ अर्को फर्मबाट समेत कारोबार गरेको देखिँदा बानियाँले जानाजान गलत नियतले कारोबार लुकाउने उद्देश्यले विभिन्न फर्म सञ्चालन गरी सरकारलाई तिर्नुपर्ने राजस्व नबुझाइ एकपछि अर्को फर्मबाट कारोबार गर्दै आएको अनुसन्धानबाट फेला परेपछि मुद्दा दायर गरेको हो। कर कार्यालयलाई गुमराहमा राखी राजस्व छल्ने नियत देखिएको विभागले जनाएको छ।

त्यसैगरी विभागले करिब सवा ६ करोडको अर्को मुद्दा पनि दायर गरेको छ । विभागले राजस्व चुहावटमा ६ करोड १७ लाख ९२ हजार विगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। ललितपुर महानगरपालिका वडा नं ११ कुमेश्वरको त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जन विरुद्धमा मुद्दा दायर गरेको विभागले जनाएको छ।

प्रकाशित: २१ पुस २०७९ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App