१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मानवसागर, उद्घाटन गर्न प्रधानमन्त्री दाहाल पोखरामा

उद्घाटन अवसरमा आइतबार पोखरा अन्तराष्ट्रिय विमानस्थल परिसरमा भेला भएका पोखरेली। तस्बिरः सन्तोष पोखरेल÷नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत रुपमा संचालनमा आउँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थल उद्घाटन गर्दैछन्। प्रधानमन्त्रीसँगै अन्य राजनीतिक दलका शीर्ष नेता पनि पोखरा आएका छन्।  

अन्तर्राष्ट्रिय विमानस्थलमा विहानैदेखि नियमित उडान गर्ने र ११ बजेपछि उद्घाटन कार्यक्रम सुरु हुने भनिए पनि मौसम खराबीले विमानस्थल नखुल्दा प्रधानमन्त्री आउन ढिलाई भएको थियो। मौसमका कारण विमानस्थल करिब १२ बजेतिर मात्र खुलेको थियो। बुद्ध एयरको जहाजमा प्रधानमन्त्री दाहाल पोखरा ओर्लेका छन्।  

आइतबारदेखि संचालनमा आएको विमानस्थलमा सौर्य, बुद्ध, यती र गुण एयरलाइन्सको जहाज अवतरण गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल बनेको खुसीयालीमा अहिले हजारौं पोखरेली विमानस्थलको बाहिर भेला भएका छन्। विभिन्न समुहले झाँकी प्रदर्शन गरेका छन्। व्यवसायिक समुहको पनि उत्तिकै सहभागिता रहेको छ। विमानस्थलमा मानवसागर उर्लेको छ।  

विमानस्थल बनेकोमा खुसीयाली साट्ने भन्दै पोखरा महानगरपालिकाले आइतबारका लागि पोखराका सम्पूर्ण शिक्षण संस्था बन्द गर्न लगाएको थियो। विभिन्न आमा समुह, क्लव, व्यवसायिक समुह, धार्मिक संस्थाले झाँकी प्रस्तुत गरेका थिए।  

पोखराको यो विमानस्थल बनाउन विसं २०३१ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण गरेर राखिएको थियो। त्यो बेला पटकपटक गरेर जग्गा अधिग्रहण गरेर राखिएको थियो। त्यसैमा अपुग जग्गा थपेर विमानस्थल बनेको हो। सबैगरि ३८ सय ९९ रोपनी क्षेत्रफलमा अहिले विमानस्थल तयार भएको छ।  

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। सुरुको सम्झौता अनुसार सन् २०२१ जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीइले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो। तरपनि चिनियाँ कम्पनिले निर्माणलाई गति दिई नै रह्यो। कोरोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेश्रो साता निर्माण कम्पनिले महत्वपूर्ण पुर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो।  

विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन। यी जहाज २ सय सिट भित्रका यात्रु क्षमताका जहाज हुन्। यो विमानस्थलले ३ वटा ठुला र ८ वटा साना गरि ११ वटा जहाज पार्किङ गर्न सक्छ। विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाई ४५ मिटर तथा धावनमार्गको मोटाई ३४ सेन्टिमिटर छ। विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता छ। १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको छ। विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत परेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको झन्डै साढे सात दशकपछि गत जेठमा भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको थियो। दोश्रो विमानस्थल थपिएको आठ महिनापछि नेपालमा तेश्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि संचालनमा आएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै झन्डै पाँचदशक अघि पोखराले देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना आइतबार पुरा भएकोमा पोखरेली खुसी भएका छन्।  

प्रकाशित: १७ पुस २०७९ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App