१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सत्ती भन्सारका कार्यालय प्रमुख नै तस्करीमा संलग्न, अख्तियारले थाल्यो अनुसन्धान

कार्यालय प्रमुख साह र बरामद एसी। तस्विरः नागरिक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्ती भन्सार कार्यालयको अनियमितता बारे अनुसन्धान थालेको छ। आयोगको महेन्द्रनगरस्थित कार्यालयले अनुसन्धान थालेको हो।  

आयोगका कार्यालय प्रमुख रामबहादुर कुरुवाङले अनुसन्धान सुरु गरेको जानकारी दिए। चारजनाको टोलीले कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्नुका साथै केही कागजात समेत नियन्त्रणमा लिएको बताईएको छ।  

भन्सार कार्यालयका प्रमुख विमल कुमार साह नै तस्करीमा संलग्न रहेको समाचार प्रकाशित भएपछि आयोगले अनुसन्धान थालेको हो। उनले केही दिन अघि भन्सार कार्यालयको से.१ झ ३०२ नम्बरको गाडीमा भारतीय बजार तिकुनियाँबाट एसी ल्याईरहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए। उनको गाडीबाट पानासोनिक कम्पनीका चार वटा एसी बरामद भएका थिए।  

उनले चोरी तस्करीमा संलग्न गिरोहसँगको मिलेमतोमा सामान भित्र्याउने गरेको स्थानीयको भनाई छ। भन्सार कार्यालयका कर्मचारी समेत स्थानीयको भनाईसँग सहमत छन्।  

कार्यालय प्रमुख साहकै रवैयाका कारण भन्सार कार्यालयको राजश्वमा समेत गिरावट आइरहेको छ। आर्थिक वर्ष २०७९/०८० मा १४ करोड ९४ लाख ४२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले पाँच महिनाको अवधिमा जम्मा २ करोड ४७ लाख ८५ हजार संकलन गरेको छ।

आर्थिक वर्ष ०७८/०७९ मा २० करोड ५८ लाख ६१ हजार संकलन लक्ष्य रहेकोमा १० करोड ६७ लाख ९३ हजार संकलन गरेको थियो। यो लक्ष्यको झण्डै ५२ प्रतिशत मात्रै हो।

उनी आउनु अघि भने सत्तीस्थित भन्सार कार्यालयले वर्षभरिको लक्ष्य चार महिनामै असुल गरेको थियो। कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ को ६ करोड ७ लाख रुपैयाँको लक्ष्य पहिलो चौमासिकमै ६ करोड ८ लाख संकलन गरेको थियो। सो वर्षमा १५ करोड ८३ लाख ७ हजार रुपैयाँ संकलन गरेको थियो। कार्यालय प्रमुख साह नै चोरी तस्करीमा संलग्न गिरोहसँग मिलेमतो गर्न थालेपछि राजश्व निरन्तर ओरालो लागेको देखिन्छ।  

उनले तस्करसँग मिलेर राजश्व चुहावट मात्रै गरेनन् कार्यालय सञ्चालनमा समेत मनोमानी गरेका छन्। उनले आफ्ना जेठान नाता पर्ने घनश्याम चौधरीलाई करारमा कार्यालयको ड्राइभरमा नियुक्त गरेका थिए। चौधरीकै संलग्नतामा साहले तस्करसँगको मिलेमतोमा सामान निकासी गर्ने गरेको स्थानीयहरु बताउँछन्। ‘कार्यालय प्रमुखको जेठान हुन्, कार्यालयकै ड्राइभर पनि हुन्, उनले नै सबै सेटिङ्ग मिलाउने गरेका थिए’ स्थानीय एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘चोरी तस्करीमा पूरै उसैको भूमिका थियो।’

उनी प्रायः कार्यालयमा अनुपस्थित हुने गरेका थिए। कार्यालयको हाजिरी रेकर्ड अनुसार पाँच महिनामा ४७ दिन मात्रै कार्यालयमा हाजिर भएको देखिन्छ। उनी साउनमा १८ दिन, भदौ÷असोज÷कात्तिकमा ५÷५ दिन र मंसिरमा १४ दिन मात्रै हाजिर भएका थिए।

प्रकाशित: १५ पुस २०७९ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App