१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

काठमाडौँ–केरुङ रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ।

यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल विभागले जानकारी दिएको छ।

विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ। यसअघि पनि चिनियाँ सहयोगमा नै सो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो। चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को तहमा बुझ्ने गरेका छन्।

सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो। कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएनन्। सरकारको पटक–पटकको आग्रहपछि चिनियाँ प्राविधिक टोली नेपाल आएको हो। टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ। विभागले त्यसका लागि समन्वय गर्नेछ।

बेल्ट एण्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न नौ परियोजनामध्येको एक हो रेलमार्ग। गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र तत्कालीन परराष्ट्रमन्त्री डा नारायण खड्काको चीन भ्रमणमा समेत सो परियोजनाका बारेमा छलफल भएको थियो।

प्रकाशित: १२ पुस २०७९ १६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App