१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

चर्को व्याज विरुद्ध आन्दोलनकाे घोषणा

चर्को व्याज र प्रतिकुल बैङ्किङ नीति विरुद्ध विराटनगरका उद्योगी व्यवसायीले आन्दोलन घोषणा गरेका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी बिहीबार देखि आन्दोलनमा उत्रने घोषणा गरेका हुन्।

उद्योगी व्यवसायीले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरूलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए।

उनिहरूले पाँच सूत्रीय माग राख्दै राष्ट्र बैङ्कको विराटनगर स्थित कार्यालयमा बिहीबार देखि धर्ना दिने, बिहीबार एक दिन विराटनगर बजार बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। आन्दोलन निष्कर्षमा नपुगुन्जेल सडक नछाड्ने बताउँदै उद्योगी व्यवसायीले विराटनगरबाट सुरूगरेको आन्दोलनलाई देशव्यापी बनाउने बताए।

उद्योगी व्यवसायीले चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने,एकल अङ्कको ब्याजदर कायम गर्नुपर्ने,स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग अघि सारेका छन्।

नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका उद्योगी व्यवसायी सम्बद्ध संघ सङ्घसंस्थाले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन्।

‘बन्द हडतालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो’ परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जान बाध्य भयौँ।’ 

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले माग पुरा नहुन्जेल सडक संघर्ष नछाड्ने स्पष्ट पारे। उनले भने‘ हामी आन्दोलनमा उत्रियौँ अब, माग  पुरा नहुन्जेल सडक छाड्दैनौँ।’

रिजालले बिहीबार र शुक्रबार मोरङ व्यापार सङ्घबाट जुलुस निकालेर बिहान ९ बजे राष्ट्र बैङ्कको विराटनगर कार्यालय पुग्ने र त्यहाँको मुख्य प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम तय गरिएको बताए। उनले राष्ट्रबैंकका कर्मचारीलाई प्रवेश गर्न दिने तर, अन्य बैंक तथा वित्तीय संस्थाका पैसा बोकेका गाडिलाई राष्ट्रबैंकमा प्रवेश गर्न नदिने बताए। दुई दिनको कार्यक्रम पछि समीक्षा बैठक गर्ने र आइतबार देखि दोस्रो चरणको कार्यक्रम सुरु गर्ने उनले बताए।

प्रकाशित: ६ पुस २०७९ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App