१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साढे छ लाख मेट्रिक टन खाद्यान्न उत्पादन घट्यो

काठमाडौं– यो वर्ष खाद्य उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा करिब साढे छ लाख मेट्रिक टन खाद्यान्न कम फलेको कृषि विकास मन्त्रालयले जनाएको छ । लामो खडेरी, रोगव्याधीको प्रकोप, किसानले समयमा बीउ विजन नपाउनु, प्राविधिक सहयोग नपाउनु लगायतका कारणले उत्पादनमा कमी आएको हो ।

उत्पादन घटेपछि विदेशबाट थप खाद्यान्न आयात गर्दा व्यापार घाटा बढ्ने भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा सात प्रतिशत उत्पादन घटेको  मन्त्रालयले जनाएको छ ।

सरकारले कृषिमा उत्पादन बढाएर आत्मनिर्भर बन्ने योजना सार्वजनिक गरिरहँदा खाद्य उत्पादनमा कमी आएपछि सरकारी अधिकारी चिन्तित छन् । खेती किसान गरेर जिविकोपार्जन गर्ने किसान यसको प्रतत्यक्ष असरमा परेका छन् ।

मुख्य गरी धान, कोदो, गहुँ, आलु, सुर्तीजन्य, तरकारी, जुट उत्पादन घटेको छ । मकै, फापर, जौ, तेलहन, उखु, चिया, कफी, दलहनबालीमा भने उत्पादन बढको छ ।  छ लाख ५२ हजार मेट्रिक टन कम खाद्यान्न फलेको कृषि मन्त्रालयका सह—प्रवक्ता शंकर सापकोटाले बताए । ‘गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा गिरावट आएको छ,’ सापकोटाले भने, ‘सबैभन्दा धेरै गहुँ उत्पादनमा कमी आएको छ ।’ खाद्य उत्पादन घटे पनि खाद्य सुरक्षामा ठूलो असन्तुलन नआउने सापकोटाले बताए । गत वर्ष९२ लाख ६६ हजार मेट्रिक टन फलेकोमा यो वर्ष ८६ लाख १४ हजार मेट्रिक टन मात्र फलेको कृषि विकास मन्त्रालयको अनुमान रहेको छ । मन्त्रालयले देशभरका कृषि कार्यालय र किसान मार्फत तथ्यांक संकलन गरेको हो ।

धान ४ लाख ९० हजार मेट्रिक टन कम फलेको छ । गत वर्ष ४७ लाख ७ हजार मेट्रिक टन फलेकोमा यो वर्ष ७२ लाख ९९ हजार मेट्रिक टन मात्र फलेको मन्त्रालयले जनाएको छ । समयमा रोपाइँ हुन नसकेपछि धान कम फलेको हो ।  खाद्यान्न बालीमा तेस्रो हिस्सा ओगटेको गहुँ उत्पादनमा यो वर्ष निकै कमी आएको छ । समयमा हिउँदे वर्ष र हिमपात नभएकोले यो वर्ष सबैभन्दा धेरै असर गहुँमा परेको छ । १९ लाख ७५ हजार मेट्रिक टनबाट घटेर १७ लाख ३७ हजार मेट्रिक टनमा झरेको छ ।

तरकारीको रुपमा प्रयोग हुने आलुको उत्पादन घटेपछि भारतबाट आलु आयात यो वर्ष बढ्ने भएको छ । बजारमा प्रयाप्त आलु नभएपछि व्यापारीले सिजनमै भाउ बढाएका थिए । यो वर्ष आलु लगाउने क्षेत्रफल बढे पनि २ लाख ७८ हजार मेट्रिक टन कम फलेको हो । पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर लगायतका जिल्लामा गरिएको जुटबालीमा भारी गिरावट आएपछि किसान चिन्तित भएका छन् । एकातर्फ जुट उत्पादन घटेको छ भने अर्कोतर्फ भारतीय जुट मिलसँग प्रतिस्पर्धा गर्न नसकेपछि सुनसरी औद्योगिक करिडोरमा सञ्चालित सात वटा जुट उद्योग बन्द भएका छन् । नेपाल जुट उद्योग संघका अनुसार अहिले यस करिडोरमा चार वटा मात्र उद्योग सञ्चालन रहेका छन् ।

त्यसै गरी सूर्ती वालीमा दुई प्रतिशत, जौ वालीमा १२ प्रतिशत, कोदोमा दुई प्रतिशतले उत्पादन घटेको हो । चिया, कफी, रवर, कपास, अलैंची, लसुन, बेसारको उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।
मकै उत्पादन  ८६ हजार मेट्रिक टन वृद्धि भएर २२ लाख ३१ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष २१ लाख ३१ हजार मेट्रिक टन उत्पादन भएको थियो । केही क्षेत्रमा डाँठ कुहिने रोगले मकै उत्पादन घटेको भए पनि बेमौसमी एवं बसन्ते मकैको क्षेत्रफल बढेकोले उत्पादन वृद्धि भएको हो ।
गत वर्षको तुलनामा उपभोक्ताले महंगोमा तरकारी तथा फलफूल किनेर उपभोग गरिरहेका छन् । तर, उत्पादनमा सामान्य वृद्धि भएको छ । किसानले व्यवसायिक रुपमा तरकारी सहित फलफूल खेती गर्न थालेपछि उत्पादन बढेको मन्त्रालयले जनाएको छ । तरकारी ३६ लाख २९ हजार मेट्रिक टनबाट वृद्धि भएर ३६ लाख ४३ हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । किसानले १० लाख ९६ हजार मेट्रिक टन फलफूल फलाएका छन् ।

खाद्यबालीमा उत्पादन घटे पनि तेलहन वालीमा उत्पादन बढेको छ । तोरी, सस्र्यु, सुर्यमुखी तेलको उत्पादन सात प्रतिशतले वृद्धि भएको हो । तेल उत्पादन हुने वाली लगाउन किसानको आकर्षण बढेसँगै उत्पादन दुई  लाख नौ हजार मेट्रिक टन उत्पादन भएको हो । यो वर्ष क्षेत्रफल बढेर २ लाख ९ हजार हेक्टर क्षेत्रफल पुगेको छ । उद्योगीले किसानलाई उचित मूल्य नदिएर किसान निरास भैरहेको अवस्थामा सात प्रतिशतले वृद्धि भएर ३१ लाख ३२ हजार मेट्रिक टन पुगेको हो ।

उत्पादन बढाउकोलागि उन्नत प्रविधि भित्राउन पहल भैरहेको कृषि मन्त्रालयका सह—सचिब सुरज पोख्रेलले बताए । ‘उन्नत बीउविजन, मलखाद, विषादी, खेती गर्ने उपकरणमा किसानलाई सघाएका छौं,’ उनले भने, ‘ आवश्यक प्राविधिक सीप पनि दिने कार्यक्रम रहेकोल आगामि वर्ष उत्पादन बढ्ने अपेक्षामा छौं ।’
 

उत्पादन घटेका बाली          उत्पादन बढेका बाली
धान                                 मकै
कोदो                                फापर
गहुँ                                  जौ
आलु                                तेलहन
जुट                                 उखु
तरकारी                           चिया
सुर्तीजन्य                         कफी

                                              श्रोतःकृषि विकास मन्त्रालय

 

प्रकाशित: १० असार २०७३ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App