२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विदेशी विनिमय सञ्चितिले नौ महिनाको आयात धान्ने

सरकारले पछिल्लो समय अर्थतन्त्र सुधार्न आयातमा कडाइ र केही वस्तुमा प्रतिबन्ध लगाइएका कारणले विदेशी मुद्राको सञ्चितिमा सुधार आएको छ। अब विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखाएको छ।

राष्ट्र बैंकले चालु आवको चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखाएको छ। राष्ट्र बैंकका अनुसार अहिले नेपालमा ९ अर्ब ६३ करोड डलर सञ्चिति पुगेको छ। चालु आर्थिक वर्षको चार महिनाको प्रतिवदनले गत असोज मसान्तको तुलनामा कत्तिक महिनामा मात्रै १५ अर्ब रूपैयाँले डलर सञ्चिति वृद्धि भएको जनाएको छ। बैंकका अनुसार २०७९ असार मसान्तसम्मको अवधिमा डलर सञ्चिति भने ९ अर्ब ५४ करोड रहेको थियो।

शोधनान्तर स्थिति २० अर्ब बचत

अवधिमा शोधनान्तर स्थिति २० अर्ब बचत देखिएको छ। विगत १४ महिनासम्म ऋणात्मक देखिएको शोधनान्तर दुई महिनादेखि बचतमा आउन थालेको हो। समग्रमा रेमिट्यान्समा सुधार र आयातमा कडाइ गरेसँगै शोधनान्तर बचतमा सुधार देखिएको हो। चालु आर्थिक वर्षमा सरकारले विदेशी वस्तुको आयातमा कडाइ र पछिल्लो समय रेमिट्यान्समा आएको उल्लेखनीय वृद्धिले गर्दा मुलुकको शोधनान्तर स्थितिमा सुधार देखिएको हो।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्ष २०७९/८० को चार महिनाको अवधिमा मुलुकको शोधनान्तर स्थिति २० अर्ब ३ करोड रूपैयाँले बचत भएको देखाएको छ। चालु आवको त्रैमासिकसम्म शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रहेको थियो तर एक महिनाको अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड पुगेको हो।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौमासिकमा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड घाटामा रहेको थियो। आव २०७८/७९ को चौमासिकमा अमेरिकी डलरमा शोधनान्तर घाटा एक अर्ब २७ करोड डलर घाटा रहेको थियो। अहिले भने यो समीक्षा अवधिमा १४ करोड ९६ लाख डलर बचतमा रहेको छ। चालु आवको चार महिनाको अवधिमा चालु खाता भने ३५ अर्ब ४० करोड रूपैयाँ घाटामा रहेको देखाएको थियो । गत आवको सोही अवधिमा भने चालु खाता दुई खर्ब २० अर्ब ९१ करोडले घाटामा रहेको थियो।

रेमिट्यान्समा २०.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले वृद्धि भएर तीन खर्ब ७८ अर्ब ४ करोड रूपैयाँ नेपाल भित्रिएको जनाएको छ। गत आर्थिक वर्षको चार महिनाको अवधिमा भने रेमिट्यान्स ७ प्रतिशतले घटेको थियो तर अहिले रेमिट्यान्स रकम भित्रिने क्रम भने बढेको छ।

चालु आवको चार महिनाको अवधिमा अमेरिकी डलरमा पनि रेमिट्यान्स भित्रिने क्रममा वृद्धि भएको देखाएको छ। अमेरिकी डलरमा रेमिट्यान्स १०.८ प्रतिशतले वृद्धि भएर २ अर्ब ९३ करोड डलर पुगेको छ। चालु आवको चार महिनाको समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भएर एक लाख ९५ हजार १ सय ९६ पुगेको छ।

आयात १८.१ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड रूपैयाँको वस्तु आयात गरेको छ। चालु आवको चार महिनाको अवधिमा कुल वस्तु आयातमा भने १८.१ प्रतिशतले कमी आएको छ। नेपालले गत आर्थिक वर्षको अवधिमा भने ६१.६ प्रतिशतले वृद्धि गरेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको छ।

निर्यातमा पनि ३३.३ प्रतिशतले कमी

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा वस्तुको निर्यात ३३.३ प्रतिशतले कमी आएर ५४ अर्ब ७७ करोड रूपैयाँको वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको चार महिनाको अवधिमा भने १०४.३ प्रतिशतले वृद्धि भएको थियो। राष्ट्र बैंकले चालु आवको चार महिनाको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ८.०८ प्रतिशत रहेको देखाएको छ।

गत आवको सोही अवधिमा मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो। बैंकले चार महिनाको अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको जनाएको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप-समूहको मूल्य सूचकाङ्क १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदाथको ८.८४ प्रतिशतले बढेको छ।

प्रकाशित: १ पुस २०७९ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App