१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

मन बहलाउने स्थल बन्दै कमलविनायक पोखरी

भक्तपुरको कमलविनायक पोखरी ‘मर्निङ वाल्क जोन’ (दैनिक बिहान हिँडडुल गर्ने केन्द्र) बनेको छ। यहाँ दैनिक बिहान मर्निङ वाल्क गर्न आउनेहरूको भिड लाग्ने गरेको छ। मर्निङ वाल्कका लागि भक्तपुर नगरका विभिन्न टोल र चाँगुनारायण नगरपालिकाका विभिन्न वडाका मानिस यहाँ आउने गरेका छन्।

सहरको घनाबस्तीछेउ रहेको भक्तपुरको यो पोखरी अहिले सबैका लागि मन बहलाउने ठाउँ बन्दै आएको छ। पोखरीमा दैनिक सयौं मानिस घुम्न आउँछन्। भक्तपुर गोल्मढीका जननीप्रसाद मूल दैनिक बिहान पोखरी क्षेत्रमा घुम्न आउने गरेको बताउँछन्। आफू मात्रै नभई पोखरीमा दैनिक जताततैबाट मर्निङ वाल्क गर्न आउनेहरूको संख्या अत्यधिक हुने उनी सुनाउँछन्। घरमा बसेर रोग पाल्नुभन्दा बिहानको समयमा यसो हिँडडुल गरेर आफूलाई स्वस्थ्य राख्न धेरै मानिस पोखरीमा मर्निङ वाल्र्क गर्न पुग्ने उनको भनाइ छ।  

पोखरी भक्तपुर नगरको दक्षिणपूर्वमा रहेको छ। पोखरी भक्तपुर नगरपालिका–१० कमलविनायकमा पर्छ। पोखरीमा दैनिक बिहान घुम्न आउने बताउने भक्तपुरकै ४२ वर्षीय बलचन्द्र श्रेष्ठ सबैतिर घना बस्तीले भरिएकाले खुला अनि मनोरम ठाउँ पोखरी रहेकाले आउने गरेको बताउँछन्। दैनिक बिहान पोखरीमा आई पाँचसात चक्कर लगाएर घर जाने उनी बताउँछन्।  

पोखरी ठूलो छ। एक चक्कर घुम्नका लागि नै झन्डै पाँच मिनेट लाग्ने गर्दछ। पोखरी २० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको जनाइएको छ। साथै पोखरीवरिपरिको बाटो, बगैंचा, मन्दिर, उद्यानलगायत स्थान गरी २५ रोपनीभन्दा बढी क्षेत्रफलमा रहेको जनाइएको छ।

पोखरीको चारैतिर बसेर माछालाई खुवाउन मिल्ने, पोखरीको चारैतिर घुम्न मिल्नेलगायत कारण पोखरी थप आकर्षक बनेको छ। पोखरीको चारैतिर बसेर आनन्द मान्नेहरू पनि त्यत्तिकै भेटिन्छन्। पोखरीमा बिहान सबेरैदेखि रातिसम्म पर्यटकमा आउने स्थानीय बताउँछन्। स्थानीयका अनुसार शनिबारबाहेक सार्वजनिक बिदाको दिन, स्थानीय जात्रा वा पर्वलगायतमा यहाँ घुम्न आउनेहरूको भिड लाग्छ। साँझ र बिहानको समयमा पनि यहाँ घुम्न आउने स्थानीय उत्तिकै हुन्छन्। कमलविनायक मन्दिर सुधार समितिले पोखरीको सरसफाइलगायत कार्य गरी सुन्दर बनाएपछि पोखरीप्रति पर्यटकको आकर्षण बढेको हो। समितिले पोखरीमा माछा पालिराखेको छ। साथै पोखरीवरिपरि वृक्षरोपण गरी फूलबारी बनाएको छ। साथै यहाँ वनभोजका लागि पनि स्थान उपलब्ध रहेको छ। समितिले यहाँका पाटीपौवा र मन्दिरको जीर्णाेद्धार गरेको छ भने पोखरीवरिपरिको फराकिलो बाटोलाई इँटा बिछ्याएर सुन्दर पारेको छ।

प्रकाशित: १ पुस २०७९ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App