१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

विराटनगर महानगरपालिकाद्वारा कर संकलन अभियान सुरू

विराटनगर महानगरपालिकाले आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन कर संकलन अभियान मंगलबारदेखि सुरु गरेको छ।

चालु आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको महानगरपालिकाले कर संकलन अभियान सुरु गरेको हो। विराटनगर–४ स्थित ढाटबाट महानगरका प्रमुख नागेश कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा अभियानको सुरुवात गरिएको हो।

अभियान अन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे/नगरेको र फोहोरको सदस्य बने/नबनेको हेरिने राजश्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए।

पहिलो चरणमा वडा नम्बर १, ३, ४, ५ र १० मा अभियान सञ्चालन थालिएको छ। महानगरले सोचेजस्तो कर संकलन नभएका कारण अभियान सञ्चालन गर्नुपरेको प्रमुख कोइरालाले बताए। सबैको साथ र सहयोगले कर अभियान प्रभावकारी हुने उनको भनाइ थियो।

महानगरको अहिलेको आन्तरिक आम्दानीबाट विराटनगरको विकास असम्भव रहेको बताउँदै, प्रमुख कोइरालाले भने, ‘आन्तरिक राजश्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिन अभियान सञ्चालन गरिएको हो। अभियानलाई साथ दिन सम्पूर्ण महानगरवासीलाई आग्रह गर्दछौँ।’ सुशासन, पारदर्शिता र जबाफदेहितालाई प्रमुखताका साथ लिएर अगाडि बढेको उनले बताए।

उठ्नुपर्ने कर नउठेका कारण महानगरका तर्फबाट जनतालाई दिइनुपर्ने सेवा सुविधा दिन नसकेको बताउँदै, प्रमुख कोइरालाले भने, ‘बैङ्किङ कारोबारका लागि मात्रै व्यवसायीहरू करको दायरामा आउने गरेका छन्। अभियानबाट सबैलाई करको दायरामा ल्याउँछौँ। खाली हामी कर मात्रै संकलन गर्दैनौँ उठेको करलाई विकास निर्माणमा लगाउँछौँ। उठेको करलाई जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता गर्छौं।’

अभियानको पहिलो दिन मंगलबार ढाट आसपास सञ्चालित किराना पसलसहित विभिन्न व्यवसायको अनुगमन गरिएको थियो। सो क्रममा महानगरका कर्मचारीहरूले सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे/नगरेको, फोहोरको सदस्य बने/नबनेको हेरेका थिए। दर्ता र नवीकरण नगरेका पसल र व्यवसाय सञ्चालकलाई १५ दिनभित्र दर्ता गर्ने गरी पत्र दिइएको छ।

अभियानकाे एउटै उद्देश्य राजश्व अभिवृद्धि गर्नु रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए। अभियान महानगरका सबै वडामा सञ्चालन गरिने उनले जानकारी दिए। गत आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व संकलन गरेको महानगरले चालु आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: २७ मंसिर २०७९ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App