३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

रासायनिक मल नपाउँदा झापाका कृषकलाई सास्ती

झापामा रासायनिक मलको अभाव हुँदा कृषकले सास्ती भोग्नु परेको छ। मकै, तोरी र आलु रोप्ने समय नजिकिँदै गर्दा युरिया र डिएपी लगायतका रासायनिक मल अभाव भएको हो। खेतीपाती गर्ने हरेक समय मल अभाव झेल्नुपर्ने झापा बुद्धशान्ति–३ कञ्चनबारीका फणिन्द्र ढुङ्गानाले बताए।

ऊनी बाली लाउने बेलामा मल नपाएपछि उत्पादन घट्ने डरले भारतबाट न्युन गुणस्तरीय मल प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँछन्।

ढुङ्गाना भन्छन्, ‘यहाँका स्थानीय संस्थालाई जिम्मा दिएको छ भनेर सरकार पन्छिन खोज्छ, बजारमा मल छैन, साइकल लिएर पारि पानीट्याङ्की (भारत) गएर एक बोरा गुणस्तरहीन भए पनि मल ल्याउनैपर्ने बाध्यता छ।’

सरकारले साल्ट ट्रेडिङ र नेपाल कृषि सामग्री कम्पनी मार्फत सहकारीलाई मल प्रदान गर्दै आएका छन्। ती सहकारीहरूले आफ्ना सदस्य र नजिकका व्यक्तिलाई मात्रै मल बिक्री गर्ने गरेको आरोप लाग्दै आएको छ।

नेपाल कृषि सामग्री कम्पनी बिर्तामोडका कायममुकायम प्रमुख नारायण टुडु भने बजारमा मल अभाव नभएको बताउँछन्।

उनका अनुसार मल पर्याप्त मात्रामा आएको तर स्थानीय एजेन्टले मल समयमा नउठाँउदा खेतबारीमा मल अभाव भएको हो।

उनले भने, ‘प्रदेश सरकार मार्फत आएको मल हामीले जिल्लाका सबै पालिकाहरूलाई समानुपातिक रूपमा वितरण गरेका छौं तर पालिकाअन्तर्गतका सहकारीले समयमा मल नउठाँउदा कृषकलाई समस्या देखिएको छ।’

उता कृषकलाई मल वितरणको जिम्मा पाएका सहकारी भने आवश्यकता भन्दा कम मल आएकाले समस्या भएको बताउँछन्।

झापा बुद्ध शान्ति गाउँपालिकाको तीन वटा वडाको मल वितरणको जिम्मा पाएको हिमशिखर साना किसान कृषि सहकारीका प्रबन्धक नारायण पौडेल समानुपातिक वितरणका नाममा आवश्यकता पूर्ति गर्ने गरी मल नआएको गुनासो गर्छन्। उनकाअनुसार पालिकाबाट प्राप्त मल कृषकको माग अनुरूप छैन।मलवितरणको जिम्मा पाएका साल्ट ट्रेडिङ र कृषि सामग्री केन्द्र लिमिटेडले पर्याप्त मलको व्यववस्था गरेको भने पनि कृषकका खेतबारी सम्म मल नपुग्दा कृषकले सास्ती भोग्नुपरेको हो। चरनयोग्य जमिन र घाँस अभावले पशुपालनमा कमी आउँदा कृषकहरू रासायनिक मलमा निर्भर हुनुपरेको सुबेदी कृषि फर्म भद्रपुर एकका अर्जुन सुवेदीको बुझाइ छ।

प्रकाशित: २६ मंसिर २०७९ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App