२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

अचार बनाउन वासुकलालाई भ्याईनभ्याई

सानो घर। सानै परिवार। आर्थिक अवस्था भने कमजोर। बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर। घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका-५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार।

लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन। गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो।

जीवनका संघर्ष निकै कष्टकर नै थियो। कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई। तर, यतिबेला उनको दिनचर्या फेरिएको छ। देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी बनेका उनी यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याईनभ्याई छिन्।

हातमा सीप नहुँदा अरूकै घरमा ज्यालामजदुरी गर्दै आएकी घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी छिन्। शारीरिक समस्या भएकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन। गत वर्षदेखि मात्र सुरु गरेको उनको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ। घरायसी प्रविधिबाट अग्र्यानिक उत्पादन गर्ने गरेकी छिन्।

हातमा सीप नहुँदा दिनभर अर्काको काम गर्न जाँदा खानै मुस्किल हुन्थ्यो। छोराछोरी पढाउन निकै मुस्किल हुन्थ्यो। बल हुन्जेल अरूकै काम गरेर जीवन धानेका थियौं तर उमेर ढल्किंदै गएपछि र कमजोर भएपछि काम गर्न जान पनि सक्न छाडियो। घर चलाउनै मुस्किल भएको उनका श्रीमान् सूर्यबहादुर विकले बताए।

उनी भन्छन्,‘तालिमले मलाई सीप मात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ। यही अचार उत्पादनले परिवारको सामान्य घरखर्च चलाउँदै आएका छौं।’ उनी थप्छन्, ‘सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो। बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु। लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ।’

छोरा वैदेशिक रोजगारमा छन्। श्रीमान्, बुहारी र उनी घरमा छन्। व्यवसाय सञ्चालनमा उनलाई श्रीमान् र बुहारीले साथ दिंदै छन्। उनको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो रु एक हजारमा बिक्री गर्ने गरेकी छिन्। परिवारको साथसहयोगसँगै व्यवसाय गर्दै आएकी उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छिन्।

मेलिना अचार उद्योग स्थापना गरी गाउँमै उनले व्यवसाय गर्दै आएकी छिन्। खासगरी अकबरेको अचार बनाउँदै आएकी छिन्। अचार उद्योगमा उनका श्रीमान् सूर्यबहादुरले साथ दिंदै आएका छन्। सूर्यबहादुर भन्छन्,‘सुरुका दिनमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो तर यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ। बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन।’

अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन। ग्राहकले फोनमार्फत माग्दै आएका छन्। ग्राहकले आफैं खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई। जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न शहरका साथै राजधानीसम्म निर्यात गर्दै आएका छौं।

अकबरे मात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दा लगायतका अचार उत्पादन हुने गरेको छ। अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग चलाउन समस्या छैन। विभिन्न संघसंस्थाले सञ्चालन गरेका तालिम खासै उपयोगमा आएका देखिंदैनन्। आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोेजगार बन्न सकिन्छ भन्ने वासुकला उदाहरण बनेकी छिन्। रासस

प्रकाशित: २५ मंसिर २०७९ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App