१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रिलायन्स चिनी मिलविरुद्ध किसान आन्दोलित

सुकेको उखु मानवत– मटिअर्वा सडक खण्डको घाट श्रीपुरमा राखेर प्रदर्शन गर्दै पीडित किसान।

कलैया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालिविरुद्ध स्थानीय किसान आन्दोलित भएका छन्।

मिलले रोप्न लगाएको उखु समय नै नपुगी सुक्न थालेपछि रिलायन्स चिनी मिलसँग क्षतिपूर्तिको माग गर्दै किसान आन्दोलित भएका हुन्।

आन्दोलित उखु किसानले चिनी मिल रहेको मानवत– मटिअर्वा सडकखण्डको घाटश्रीपुरमा शनिबार सडकमै सुकेको उखु जलाएर प्रदर्शन गरेका थिए। रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएका कारण आफूहरू समस्यामा परेको उखु किसान रामनारायण यादवले आरोप लगाएका छन्।

रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालिलाई उखु सुक्न थालेको खबर गर्दा कुनै सुनुवाई नगरेपछि बाध्य भएर सडकमा चक्काजाम गर्नुपरेको यादवले बताए।

चिनी मिलले वर्षौंदेखि यस क्षेत्रका किसानले लगाउँदै आएको उखुको बिउ रोप्न नदिई भारतबाट ल्याइएको बिउ रोप्न बाध्य बनाएको आरोप यादवले लगाए। उनका अनुसार कमसल बिउ उपलब्ध गराएकाले यसको सम्पूर्ण दोष चिनी मिल सञ्चालक राजकुमार अग्रवालले लिनुपर्छ।

उखुको बिउदेखि त्यसमा प्रयोग गरिने, विषादी र धेरै प्रकारका मल दिएर चिनी मिलले किसानहरूबाट रकम असुल्ने गरेको पनि यादवले बताए। उनका अनुसार किसानलाई धेरै उत्पादन दिने भनेर झुठो आश्वासन दिइयो । ४÷५ वर्ष अघिदेखि नै सिओजिरो–२३८ जातको उखु रोप्न मिल र किसान संघले दबाब दिँदै आएको अरोप यादवले लगाए।  

चिनी मिलले उपलब्ध गराएको बिउ लगाएकाले उखु बालीमा गरिएको लगानी डुबेको यादवले बताए। मिलले उपलब्ध गराएको बिउबाट उम्रिएको उखुको बोटमा रेडरड (रातो हुँदै सड्ने) समस्या देखिएको छ।  

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले उखु सुकेको भन्दै किसानले क्षतिपूर्तिको माग राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको बताएका छन्। किसानलाई सम्झाइबुझाइ गर्दा आइतबार प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाको बैठक राखेर छलफल गर्ने सहमति भएको बोगटीले बताए।

रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालिले बारा र पर्साका किसानहरूसँग उखु खरिद गर्ने सम्झौता गरेर नौ हजारभन्दा बढी किसानहरूलाई उखु रोप्न लगाउने गरेको किसानहरूले  

बताएका छन् ।

प्रकाशित: २५ मंसिर २०७९ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App