१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सबै जिल्लामा आर्थिक विकास गर्न संयुक्त रुपमा लगानी गरौं: ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको सम्भावना भएका देशभरका  जिल्लामा संयुक्त रुपमा लगानी गर्नुपर्ने बताएका छन्। म्याग्दी उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभाको शनिबार बेनीमा उद्घाटन गर्दै लगानीको सम्भावना र आर्थिक लाभ हुने क्षेत्रमा स्थानीय लगानीकर्ताकै अगुवाईमा संयुक्त लगानी गरी समृद्धको यात्रालाई सहज बनाउन सकिने ढकालले बताए।

अर्थतन्त्रको विकासमा निजी क्षेत्र र सरकार मिलेर लगानी गर्नुको विकल्प छैन,‘अब जहाँ सम्भावना छ त्यही लगानी गर्नुपर्छ’ बरिष्ठ उपाध्यक्ष ढकालले भने। ढकालले उत्तरी म्याग्दीको कालिगण्डकी नदीमा १ सय ५० मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताए। उनले निजी क्षेत्रको लगानीमा म्याग्दी जिल्लाभित्र पर्नेगरी कालीगण्डकी नदीको पानीबाट १ सय ५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताउँदै यसका लागि नेपाल सरकारले १५ सय मेगावाटको पिपिए गर्ने भन्ने निर्णय भैसकेको हुँदा त्यसैभित्र कालीगण्डकी नदीको पनि पिपिए गरी निर्माणकार्य थालिने बताए।  सरकार र निजी क्षेत्रको सहकार्यमा उद्योग खोलेर देशमा आर्थिक विकास गर्न सकिने बताउँदै स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकारले आवश्यक वातावरण बनाउनुपर्ने बताए।  ‘सानो सानो लगानी मात्रै किन नहोस्, हामीले संयुक्त रुपमा अगाडी बढाउन स्थानीय सरकार समेत सक्रिय हुनुपर्छ’ उनले भने। लगानीबिना अव समृद्ध नेपाल बनाउन नसकिने भएकाले निजी क्षेत्रको तर्फदेखि देशभित्र भएका आर्थिक उपार्जनका क्षेत्रको विकासलाई अगाडि बढाउन सकिने उनको भनाई थियो।  

पछिल्लो समय कोरोना भाइरस, लकडाउन, आर्थिक तरलताको अभाव र व्याजदर वृद्धिलगायत विविध समस्याहरुको प्रत्यक्ष असर निजी क्षेत्रमा परेकाले यसको समाधान गर्न उद्योग वाणिज्य महासंघको तर्फदेखि सम्बन्धित नियमनकारी निकायहरुमा पहल गरिएको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ।सङ्घीयताको कार्यान्वयनसँगै निजी क्षेत्रको मर्यादाक्रम र मेला महोत्सव निजी क्षेत्रले मात्रै गर्न पाउने व्यवस्थाका लागि आफूले गृहमन्त्रीसमक्ष माग राखेको बताए।  देशैभर हुने मेला महोत्सवहरु उद्योग वाणिज्य महासंघका सदस्यहरुले मात्रै गर्न पाउनुपर्छ भन्ने माग आफूहरुले नेपाल सरकारसमक्ष राखेको र त्यसलाई कार्यान्वयनको पाटोमा लैजाने उपाध्यक्ष ढकालले बताए।  जिल्लाका स्थानीय तहहरुले सम्भावित कृषि, पर्यटन, जडिबुटी र जलविद्युतलगायत सम्भावित आयोजनाहरुको पहिचान गर्नुपर्नेमा जोड दिए। पर्यटन प्रवद्र्धन गर्न सम्भावित क्षेत्रहरुको बारेमा आफूहरुले जानकारी पाएको खण्डमा त्यस क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने उपाध्यक्ष ढकालले प्रतिबद्धता जनाए। साधारणसभाको अवसरमा संविधान सभाका सदस्य रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका मेयर सुरत केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेताहरुको उपस्थिती रहेको थियो। साधारणसभाको अध्यक्षता बेलबहादुर कटुवाल र सञ्चालन महासचिव अमित बानियाँले गरेका थिए। 

प्रकाशित: २४ मंसिर २०७९ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App