कोरोना महामारीको कारणले गत २ वर्षदेखि औपचारिकतामा मात्र सीमित पर्वतीय महोत्सव यस पटक भव्यतासाथ पोखरामा आयोजना गरिने भएको छ। महोत्सव यही डिसेम्बर १० र ११ (मंसिर २६ र २७) गते आयोजना गरिने जानकारी नेपाल पर्वतारोहण संघका मुख्य प्रशासकीय अधिकृत तथा महोत्सव निर्देशक जिनेस सिन्दुराकारले दिएका छन्।
अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा नेपाल पर्वतारोहण संघले पर्वतीय महोत्सव गर्न लागेको हो। पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयमा हुन लागेको महोत्सवको यस वर्षको नारा ‘वेमन मुभ माउन्टेन्स’ रहेको छ।
कोरोना महामारीपछि पर्यटनक्षेत्रका नियमित गतिविधिमा असर पर्दा रोजगार तथा वैकल्पिक आयस्रोतको लागि ग्रामीण क्षेत्रबाट पुरुष सदस्यहरू विदेश तथा सहरी क्षेत्रमा पलायन हुन बाध्य भएका थिए। त्यसवेला स्थानीय पर्यटनलाई चलायमान बनाइराख्न महिलाहरूले निर्वाह गरेको प्रभावकारी भूमिकाको पहिचान र सम्मान गर्र्दै संयुक्त राष्ट्रसंघले यस वर्षको नारा ‘वेमन मुभ्स माउन्टेन्स’ राखेको हो।
कोरोनाले शिथिल पारेका पर्वतीय क्षेत्रको वातावरणीय तथा सांस्कृतिक पक्षको संरक्षण एवम् सम्बद्र्धन र पर्वतीय उत्पादन तथा जैविक विविधता संरक्षण गर्ने लगायतका विविध कार्यहरूमा महिलाहरूको उपस्थितिलाई ध्यान दिदै यस वर्ष पर्वतीय महोत्सव पोखरामा आयोजना गर्न लागिएको हो।
पर्वतारोहण क्षेत्रमा महिलाहरूको योगदानलाई सम्मान गर्दै यस वर्षको पर्वतीय महोत्सव मनाउने उल्लेख गर्दै संघका प्रशासकीय अधिकृत तथा महोत्सव निर्देशक सिन्दुराकारले पर्वतारोहण क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका ३ महिला र २ पुरूष गरी ५ जनालाई तक्मा र सम्मान प्रदान गरिने बताएका छन्।
उनले महिलाहरूमा एसियाकै पहिलो अन्तर्राष्ट्रिय महिला माउन्टेन गाईड दावा याङजुम शेर्पा, नेपालको पहिलो महिला पर्वतारोहण प्रशिक्षक पासाङ ल्हामु शेर्पा र सगरमाथा आरोहण संघको अध्यक्ष तथा केटु हिमाल अरोही र चोयु हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला माया शेर्पालाई तक्मा र सम्मानपत्र प्रदान गरिने बताए।
यसका साथै पुरुषहरूमा भने विश्वको सर्वोच्च शिखर सगरमाथामा २६ औं पटक सफल अरोहण गरेर सबैभन्दा बढी सगरमाथा आरोहणको किर्तीमान कायम गरेका कामीरिता शेर्पा र ८ हजार मिटरभन्दा माथिका १४ हिमालहरू दुई पटक आरोहण गरेर अर्का कीर्तिमानी सानु शेर्पालाई तक्मासहित सम्मान गरिने बताए। यसका साथै पर्वतारोहणमा उल्लेख्य योगदान पु¥याएका अन्य महिलाहरूलाई पनि सम्मान गरिने जानकारी उनले दिए।
अबको पर्वतीय वातावरण, पर्यटनको संरक्षण र पर्यटनको संरक्षणमा महिलाहरूको भूमिका एकदमै अपरिहार्य भएको बताउँदै महोत्सव निर्देशक सिन्दुराकारले पर्वतीय क्षेत्रलाई चलायमान बनाउन अबको जिम्मेबारी महिलाको काँधमा आएकोे बताए।
सन् २००२ मा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको घोषणा गरेकोमा त्यसको एक वर्षपछि मात्र औपचारिक रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ। यसै क्रममा संघले सन् २०१५ देखि नेपालमा पर्वतीय महोत्सव मनाउँदै आएको छ । विगत ७ वर्षदेखि पर्वतारोहण महोत्सव मनाउँदै आएको संघले विगतको दुई वर्ष कोरोनाका कारण सामान्य कार्यक्रम मात्र गर्दै आएको थियो। यस वर्ष भने विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्यता साथ मनाउन लागेको संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले बताए।
कोरोनापछि महिलाहरूले पर्वतीय क्षेत्र, पर्वतीय गतिविधि र संस्कृतिको संरक्षण गर्न देखाएको क्रियाशीलतालाई ध्यान दिँदै यस वर्षको अन्तराष्ट्रिय पर्वतीय महोत्सव उनीहरूको सम्मानमा मनाउने तयारी भइरहेको संघका प्रमुख अधिकृत राइले बताएका छन्।
पर्वतारोहण क्षेत्रमा नेपालका महिलाहरूको योगदान अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै अधिकृत राईले यस पटकको महोत्सव महिला विशेष हुने बताए।
महोत्सव दुई दिनसम्म मनाइने भएको छ। प्रमुख कार्यकारी अधिकृत राईका अनुसार महोत्सवमा पर्वतीय पर्यटनमा महिला र उनीहरूको योगदान बारे अन्तरक्रिया तथा सम्मान कार्यक्रम, विभिन्न जातिजातिका संस्कृतिसम्बन्धी प्रदर्शनी, चित्रकला र छेलो प्रतिस्पर्धा, वृत्तचित्र प्रदर्शनी, आर्चरी, जिप लाइनिङ लगायतका गतिविधि आयोजना गरिने छन्।
पर्वतारोहण संघले विगत ७ वर्षदेखि अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव आयोजना गर्दै आएको छ। महोत्सव एक पटक काठमाडौमा आयोजना गरिएको थियो। अन्य सबै संस्करण पोखराको अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयमा सम्पन्न भएको छ। यसै क्रममा यस वर्षको महोत्सव पनि पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयमा सम्पन्न हुने भएको हो।
यस वर्षको महोत्सव पनि अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय पोखरा मै आयोजना हुने बताउँदै महोत्सव निर्देशक सिन्दुराकारले भने ‘एउटा त अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय नै पोखरा मात्र छ। अर्को संग्रहालयलाई आत्मनिर्भर बनाउन पनि हामीले हरेक वर्ष त्यहीँ गरिरहेका छौ।’ उनी थप्छन्, ‘पोखरामा अवस्थित यो संग्रहालय सय रोपनी जग्गामा फैलिएकाले महोत्सवका लागि प¥याप्त स्थान रहेकाले पनि सबैभन्दा उपयुक्त ठानिएको हो।’
महोत्सवको मुख्य आयोजक नेपाल पर्वतारोहण संघ रहेको छ भने सहआयोजकमा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, पोखरा पर्यटन काउन्सिल रहेको संघले जनाएको छ।
प्रकाशित: २० मंसिर २०७९ ०१:२९ मंगलबार