१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

विमानस्थलमा पार्किङ शुल्क दोब्बर वृद्धि

पार्किङ शुल्क लेखिएको बोर्ड। तस्बिर: नागरिक

अर्जुन भट्ट ई–रिक्सा चालक हुन्। नेपालगञ्ज विमानस्थलमा उनले साउन १ गतेसम्म १० रूपैयाँ प्रतिघण्टाका दरले पार्किङ शुल्क बुझाउनुपथ्र्यो। साउन ९ गतेबाट उनले प्रतिघण्टा २० रूपैयाँका दरले पार्किङ शुल्क बुझाउनुपर्ने भएको छ। अब उनलाई विमानस्थलसम्म यात्रुलाई लैजान डर लाग्न थालेको छ। किनभने विमानस्थलको पार्किङ क्षेत्रमा पुगेपछि उनले प्रतिपटक २० रूपैयाँ तिर्नुपर्छ तर यात्रुको भाडा बढेको छैन। पार्किङ शुल्कमा जाने रकम उनको खल्तीबाट जाने हो। उनको आम्दानीबाट अब प्रतिघण्टा १० रूपैयाँ बढी खर्च हुन थालेको छ।

नेपालगन्ज विमानस्थलको पार्किङ क्षेत्रमा सवारी साधनको पार्किङ शुल्क दोब्बरले वृद्धि गरिएपछि यात्रुलाई विमानस्थलसम्म र विमानस्थलबाट गन्तव्यसम्म पु¥याएर अर्थाेपार्जन गर्ने ई–क्सिा लगायतका सवारी मजदुर मर्कामा परेका छन्। यसका साथै विमानस्थलमा पुग्ने सेवाग्राही पनि दोब्बर शुल्क तिर्न बाध्य छन्। विमानस्थलमा ई–रिक्सा, अटो रिक्सा, कार, ट्याक्सी र मिनिबस लगायतका सवारीसाधन ओसारपसार गर्न प्रयोग हुने गरेका छन्। मंसिर १ गतेबाट प्राधिकरणले पार्किङ शुल्क दोब्बरले वृद्धि गरेको छ। मोटरसाइकल र स्कुटरको प्रतिघण्टा २० रूपैयाँ, कार जिप र टेम्पोको प्रतिघण्टा ४० रूपैयाँ, बस मिनिबसको प्रतिघण्टा ६० रूपैयाँ भाडा तोकिएको छ।

प्रक्रिया पूरा नगरी पार्किङ ठेक्का

प्रक्रिया पूरा नगरी नेपालगञ्ज नागरिक उड्ययन कार्यालयले विमानस्थलभित्रको पार्किङ शुल्क उठाउन एउटा निजी कम्पनीलाई जिम्मा दिइएको छ। पार्किङ शुल्क संकलन गर्ने निजी फर्म र विमानस्थलका कर्मचारीको मिलेमतोमा प्रक्रिया नै पूरा नगरी पार्किङ शुल्क उठाउन जिम्मा दिइएको आरोप लागेको छ।

पार्किङ शुल्क उठाउने निजी फर्मसँगको सम्झौता टुंगिएपछि मंसिर ९ गतेबाट अर्काे एक निजी फर्मलाई तीन महिनाका लागि शुल्क उठाउन विमानस्थलले जिम्मा दिइएको छ। दुर्गा निर्माण सेवा नामक एक फर्मको नामबाट विमानस्थलभित्रै रहेको खाजाघरका सञ्चालक ईश्वर श्रेष्ठलाई पार्किङ शुल्क उठाउने जिम्मा दिइएको छ। जब कि मंसिर ८ गते नै पार्किङ शुल्क उठाउन बोलपत्रका लागि सूचना आह्वान भएको छ। उक्त बोलपत्र आह्वानको प्रक्रिया नै पूरा भएको छैन। अहिले बोलपत्र आह्वानको प्रक्रियामै रहेको र पहिले पार्किङ शुल्क उठाउँदै आएको फर्मले पार्किङ शुल्क नबुझाएकाले नयाँ फर्मलाई तीन महिनाका लागि मात्रै शुल्क उठाउने गरी जिम्मा दिइएको विमानस्थल प्रमुख सुरेशप्रसाद खनाल बताउँछन्।

‘पुरानो ठेक्काको सम्झौता सकियो,’ उनले भने, ‘नयाँलाई जिम्मा नदिने प्रक्रिया सुरु भएको छ। त्यसबीचको शुल्क खेर जान त दिनु भएन। त्यसैले हामीले केही समयका लागि अर्काे एक निजी फर्मलाई पार्किङ शुल्क उठाउन जिम्मा दिएका हौँ।’ दुर्गा निर्माण सेवाले मासिक एक लाख नौ हजार दुई सय रूपैयाँ विमानस्थललाई बुझाउने गरी उक्त सम्झौता गरेको छ। तीन महिनापछि वार्षिक एक करोड ८० हजार नघट्ने गरी बोलपत्र आह्वान भए अनुसार नयाँ सम्झौता गरिने खनालको भनाइ छ।

पार्किङ शुल्क उठाउने जिम्मा पाएका व्यवसायी श्रेष्ठ आफूलाई केही महिनाका लागि शुल्क उठाउने जिम्मा लिन अनुरोध आएपछि निवेदन पेस गरिएको हो। अहिले विमानस्थल प्रमुखसँग तीन महिनाको सम्झौता गरिएको छ। विमानस्थल प्रमुख खनाल यो सबै प्रक्रिया नियमाअनुसार भएको दाबी गर्छन्। अस्थायीरूपमा शुल्क उठाउन सूचना प्रकाशितलगायतका प्रक्रिया पूरा गरिएको छैन।

नेपालगञ्ज विमानस्थल परिसरमा रहेको नौ सय ९४ वर्गमिटर क्षेत्रफलको पार्किङ क्षेत्रको शुल्क उठाउन एक निजी फर्मसँग यसअघि गरिएको सम्झौता मंसिर १ गते सकिएको छ।

सम्झौता सकिएपछि नागरिक उड्ययन प्राधिकरणले नयाँ ठेक्का सम्झौताका लागि सूचना आह्वान गरेको छ। यसका साथै पहिले रहेको भाडादर दोब्बर वृद्धि गरेको छ। यसको सोझो मारमा ई–रिक्सा तथा सवारी मजदुुर परेका छन्। बढेको शुल्क तिर्न आफूहरू असमर्थ रहेको उनीहरू बताउँछन्। अटो रिक्सा चालक गेल्जित शेर्पा मजदुरको ढाड सेक्ने गरी पार्किङ शुल्क बढाइएको बताउँछन्। उक्त शुल्क समायोजन नभएसम्म आफूहरूले शुल्क नतिर्ने उनको अडान छ। नेपालगञ्ज विमानस्थल प्रमुख सुरेशप्रसाद खनाल पार्किङ शुल्क आफूले बढाएको नभइ प्राधिकरणबाटै बढेर आएको बताउँछन्। अहिलेको अवस्थामा बढेको पार्किङ शुल्क उपयुक्त नै भएको उनको ठहर छ।

प्रकाशित: १८ मंसिर २०७९ ०१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App