७ वैशाख २०८१ शुक्रबार
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः सकियो ‘क्यालिब्रेसन फ्लाईट’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन। फाइल तस्बिरः नागरिक

अगामि जनवरी एकदेखि संचालनमा ल्याउने तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रीक परीक्षण (क्यालिब्रेसन फ्लाइट) सकिएको छ। एकसाता लगाएर विमानस्थलको यान्त्रीक परीक्षण गरिएको हो। यान्त्रीक परीक्षणको रिपोर्ट भने आईसकेको छैन।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले पोखराको विमानस्थलको क्यालिब्रेसन फ्लाईट सकेर जहाज नेपालगञ्ज गएको जानकारी दिए। थाइल्याण्डको एरो थाई कम्पनिको जहाजले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट गरेको हो। मंसिर ५ गते (२१ नोभेम्बर) बाट सुरु भएको क्यालिब्रेसन फ्लाईट मंसिर ११ (२७ नोभेम्बर)सम्म चलेको थियो।  

‘एकसाता लगाएर क्यालिब्रेसन फ्लाईट भएको छ। पोखराको काम सकेर एरो थाइको जहाज नेपालगञ्ज गएको छ,’ जोशीले भने, ‘अब नेपालगञ्ज विमानस्थलको क्यालिब्रेसन फ्लाइट गर्छ।’ नेपालको हवाई सेवाको निमयनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अहिले पोखरा सहित नेपालका मुख्यमुख्य विमानस्थलको नियमित यान्त्रीक परीक्षण गरिरहेको। त्यही परीक्षणका लागि जहाज अहिले नेपालगञ्ज गएको हो। प्राधिकरणले एरो थाईको यही जहाजबाट आइएफआर (इन्स्ट्रुमेन्ट फ्लाईट रुल्स) उडान हुने अरु विमानस्थलको पनि परीक्षण गरेको।  

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रीक परीक्षण सकिएपनि अन्तिम प्रतिवेदन भने आइसकेको छैन। क्यालिब्रेसन उडान गरेको कम्पनिले तीनसाता भित्र अन्तिम प्रतिवेदन दिने प्राधिकरणको भनाई छ। ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाईटको रिपोर्टलाई अलि छिटोगरि उपलब्ध गराउन एरो थाइलाई अनुरोध गरिएको छ,’ जोशीले भने, ‘रिपोर्ट कहिले दिने भन्ने यकिन त भएको छैन। तर, अलि छिटो गरि पोखराको रिपोर्ट दिन अनुरोध गरिएको छ। किनकी उडान सुरु हुने दिन नजिक भएकोले पनि रिपोर्टका लागि हतार भएको हो।’  

क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आएपछि बल्ल व्यवसायिक परीक्षण उडान हुन्छ। परीक्षण उडान सफल भएपछि बल्ल नियमित र व्यवसायिक उडान सुरु हुन्छ। क्यालिब्रेसन फ्लाईटमा जहाजले विमानस्थलमा जडान गरिएका सबै उपकरणको परीक्षण गर्ने गरिन्छ।  

क्यालिब्रेसन फ्लाईट भएपनि जनवरी एकमा पहिलो अन्तर्राष्ट्रिय उडान कसले गर्ने भन्ने अझै यकिन भएको छैन। तर, नेपालको निजी क्षेत्रको अग्रणी हवाई कम्पनि बुद्ध एयरले पोखरालाई भारतसँग जोड्नेगरि पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ। त्यसका लागि प्रक्रिया अघि बढाएको छ। ‘बुद्धले भारतसँग जोड्नेगरि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्नका लागि प्रक्रिया अघि बढाएको छ। तर, अन्तिम टुंगो भने लागिसकेको छैन,’ प्राधिकरणका एकजना उच्च पदस्थ कर्मचारीले भने।  

बुद्ध एयरले केहीदिन अघि नै पोखरादेखि भारतको वनारससम्म सिधा उडान गर्ने घोषणा गरेको थियो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने प्रथम अन्तर्राष्ट्रिय उडानको रुपमा बुद्धले पोखरा–वनारस–पोखरा उडान गर्न चाहेको बुद्धले बताएको छ। सातामा तीनदिन (आइतबार, मंगलबार र विहीबार) उडान गर्ने बुद्धको योजना छ। त्यसबाहेक एयर ट्राफिक सर्भिस (एटिएस) रुटका लागि नेपाल सरकारले भारत सरकारसँग पहल गररहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा उडान गर्ने पनि बुद्धले बताएको छ। पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुइ र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडान गर्ने तयारी पनि बुद्धले गरेको छ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। शिलान्यासको डेढवर्षपछि मात्र विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीईले काम थालेको थियो। यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो। तरपनि चिनियाँ कम्पनिले निर्माणलाई गति दिई नै रह्यो। कोरोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेश्रो साता निर्माण कम्पनिले महत्वपूर्ण पुर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो।  

विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन। यी जहाज २ सय सिट भन्दा कम यात्र क्षमताका हुन। यो विमानस्थलले ३ वटा ठुला र ८ वटा साना गरि ११ वटा जहाज पार्किङ गर्न सक्छ। विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाई ४५ मिटर तथा धावनमार्गको मोटाई ३४ सेन्टिमिटर छ। विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता छ। १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन पनि रहेको छ।

प्रकाशित: १३ मंसिर २०७९ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App