१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालमा अन्तर्राष्ट्रिय प्रविधिबाट इटा उत्पादनको तयारी

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधिबाट इटा उत्पादन सुरु हुने भएको छ। यसको लागि पोखरामा अन्तिम तयारी भइरहेको छ।  

पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुर्‍याएको हो। नेपाल इको प्यानल ग्रुपका लगानीकर्ताहरूको समूहले यो उद्योग सञ्चालनको तयारी थालेको हो। लगानीकर्तामध्येका एक इन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरूले वंगलादेशी विज्ञलाई झिकाइ लामो समयदेखि काम गराइरहेको जनाए। विगत ४० वर्षदेखि अटोमेटिक मेसिन मेड क्लिन व्रिक्स (इटा) विज्ञ पारिमल दासलाई विज्ञको रूपमा नियुक्त गरी काम गरिरहेको उनले जनाए।  

नेपाल आएका अटोमेटिक मेसिन मेड क्लिन व्रिक्स विज्ञ दासले नेपालमा चाइनिज प्रविधिबाट भक्तपुरमा चाइनिज इटा उत्पादन हुँंदै आए पनि अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएर इटाभटा सञ्चालन हुने नसकेको बताए। उनले अहिले पोखरामा सञ्चालन गर्न लागिएको इटा उद्योग अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएको सुनाए। उनका अनुसार यो प्रविधिबाट इटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्ने गर्दछ। मेसिनले इटा पार्नेदेखि इटा निकाल्नेसम्मको सबै काम गर्ने उनले बताए। अहिले नेपालमा इटा पार्ने काम मानिसबाट हुने गर्दछ।  

विज्ञ दासले यो प्रविधिबाट इटा उत्पादन गर्दा १२ औं महिना कारखाना सञ्चालन हुने जनाए। इटा घाममा राखेर नभई आफैं सुक्ने बनाइने भएकाले यो प्रविधिबाट वर्षाको सिजनमा पनि इटा बनाउन सकिने उनले बताए। अन्य सामान्य इटाभट्टाहरू वर्षमा ६ महिना मात्रै चल्ने गर्दछ। प्रत्येक वर्ष मंसिरमा सुरु भई चैत वैशाख महिनामा उद्योग बन्द हुने गर्दछ। असारमा पानी पर्ने भएकाले त्यस्ता उद्योग अस्थायी रूपमा ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्दछन्।  

पोखरा इको रेड ब्रिक्स प्रालिले भक्तपुरको जगातीस्थित भक्तपुर इटा तथा टायल उद्योग प्रालिले जस्तै १२ महिना सञ्चालन गर्न सकिने उद्योग सञ्चालनमा ल्याउन लागेको हो। इटाको बढ्दो मागलाई ध्यानमा राखी प्रालिले यस्तो उत्पादन थाल्न लागेको जनाएको छ।

नेपालमा पहिलादेखि चल्दै आएका दुई वटा चाइनिज इटा उद्योग थिए, भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग। तीमध्ये अहिले ललितपुरको हरिसिद्धिस्थित इटा तथा टायल उद्योग बन्द भइसकेको छ। यता भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ। इटा भौतिक निर्माणको प्रमुख सामानमा पर्दछ। जगदेखि सबैतिर इटाको प्रयोग हुन्छ। 

प्रकाशित: १३ मंसिर २०७९ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App