१ वैशाख २०८३ मंगलबार
image/svg+xml
अर्थ

कर्णाली राजमार्गका १० ठेक्का एकैपटक रद्द

कर्णाली राजमार्गअन्तर्गत मुगुको भूलभूलेदेखि ताल्चासम्मको २० किलोमिटर सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७४/७५ मा शंकरमाली निर्माण सेवाले झण्डै ५ करोड रुपैयाँमा ठेक्का लिएको थियो। उक्त कम्पनीले सडक चौडा बनाउने, टेवा–पर्खाल निर्माण गर्ने र ग्राभेल गर्ने जिम्मा लिएको भए पनि तीन पटक म्याद सकिँदासमेत आधा कामसमेत पूरा गर्न सकेन।

पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि सडक डिभिजन कार्यालयले चैत ११ गते कम्पनीको धरौटी रकम जफत गर्दै ठेक्का तोडेको छ। त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा कर्णाली राजमार्गकै दहीखोला–नाग्मा र सेरीघाट खण्डमा कालोपत्र मर्मतका लागि मान शाही निर्माण सेवा, कालीकोटसँग झण्डै एक करोड रुपैयाँमा सम्झौता गरिएको थियो। उक्त कम्पनीले पनि तीनपटक म्याद थपे पनि प्रगति शून्य रहेपछि चैत ११ मै ठेक्का तोडिएको छ।

सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत वर्षौंदेखि अलपत्र परेका १० वटा ठेक्का चैत ११ गते एकैपटक तोडेको हो। साथै, चार निर्माण कम्पनीसँग ‘ठेक्का अन्त्य गरी कारबाही किन नगर्ने’ सम्बन्धी सार्वजनिक सूचना समेत प्रकाशन गरिएको छ।

सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ। उनका अनुसार ती अधिकांश ठेक्काहरू आर्थिक वर्ष २०७४/७५ देखि अलपत्र अवस्थामा थिए। 'सम्झौताअनुसार काम गर्न पटक–पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीहरूले अटेर गरे,' सिंहले भने, 'उनीहरूले दाखिला गरेको धरौटी रकम जफत गरिनेछ र अब नयाँ ठेक्का प्रक्रियामा अघि बढिन्छ।'

सडक स्तरोन्नतिको काम अलपत्र पर्दा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन्। विशेष गरी कालीकोटको दहीखोला–मान्म–नाग्म–जुम्ला खण्ड अत्यधिक जोखिमपूर्ण बनेको छ। सो खण्डमा स्तरोन्नतिका अधिकांश काम अलपत्र रहेको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७९/८० मा कृष्ण निर्माण सेवाले जिम्मा लिएको खुल्लाले–घोडेंगा खण्ड, अविनाश निर्माण सेवाले जिम्मा लिएको नाग्म–गमगडी खण्ड, विनाम्रा निर्माण सेवाले जिम्मा लिएको मुगु खण्ड तथा आर्थिक वर्ष २०७८/७९ मा धुर्वा निर्माण सेवाले जिम्मा लिएको कुडारी–कालीकोट खण्डको ठेक्का समेत तोडिएको छ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार झण्डै १६ करोड रुपैयाँका कालीकोटका दुई, मुगुको नाग्म–गमगडी खण्डको एक तथा जुम्ला–डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडकखण्डका ठेक्का तोडिएका हुन्। निमित्त डिभिजन प्रमुख श्रवणकुमार महताराका अनुसार गत वर्ष झण्डै २० करोड रुपैयाँ लागतमा ८ वटा ठेक्कामार्फत राजमार्ग स्तरोन्नतिका काम अघि बढाइएको छ। दहीखोला–नाग्मा खण्डका तीन योजना चालु आर्थिक वर्षमै सम्पन्न भइसकेका छन्।

कार्यालयले चैत १८ गते सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरिएको जनाएको छ। कालिकोट, जुम्ला र मुगु जिल्लामा सञ्चालित विभिन्न सडक योजनाहरू तोकिएको समयभित्र सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको हो। सम्बन्धित निर्माण कम्पनीहरूसँग सम्झौता भए पनि पटक–पटक म्याद थप्दा समेत काम सम्पन्न नभएपछि यस्तो निर्णय लिनुपरेको कार्यालयले जनाएको छ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(२) र ५९(७) अनुसार ठेक्का अन्त्य गरिएको उल्लेख गरिएको छ।

यसअघि पनि कर्णाली राजमार्गअन्तर्गत चारवटा ठेक्का रद्द गरिसकिएको महताराले जानकारी दिए। तीमध्ये कालीकोटका दुई, मुगुको एक र जुम्ला–डोल्पा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडकखण्डको एक ठेक्का यसअघि नै तोडिएको थियो।

निर्माण कम्पनीकै कारण योजनाहरू समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै सडक डिभिजन कार्यालयले ठेक्का अन्त्य गरेको जनाएको छ।

प्रकाशित: ३० चैत्र २०८२ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App