२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

कञ्चनजंघा संरक्षण क्षेत्र घुम्न एक वर्षमा पुगे १३८० पर्यटक, ३५ लाखभन्दा बढी राजस्व संकलन

आर्थिक वर्ष २०८२/८३ मा ताप्लेजुङस्थित कञ्चनजंघा संरक्षण क्षेत्रमा कुल १ हजार ३८० पर्यटक पुगेका छन्। कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवका अनुसार तीमध्ये १ हजार ३३१ विदेशी र ४९ नेपाली पर्यटक रहेका छन्।

विदेशी पर्यटकमध्ये सार्क राष्ट्रका ७९ (६८ पुरुष, ११ महिला) र सार्क बाहेकका १ हजार २५२ (८१३ पुरुष, ४३९ महिला) रहेका छन्। सार्क बाहेकका पर्यटकबाट प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले २५ लाख ४ हजार रुपैयाँ र सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति ५ सय रुपैयाँका दरले ३९ हजार ५ सय रुपैयाँ दस्तुर संकलन भएको कार्यालयले जनाएको छ। ४९ नेपालीबाट प्रतिव्यक्ति १०० रुपैयाँका दरले ४ हजार ९ सय रुपैयाँ राजस्व उठाइएको छ।

त्यस्तै, घुन्सामा १२ पटक र तापेथोकमा ४८ पटक गरी ६० पटक हेलिकोप्टर अवतरण हुँदा प्रतिउडान ३ हजार रुपैयाँका दरले १ लाख ८० हजार रुपैयाँ संकलन भएको छ। काठ, बालुवा तथा जडीबुटीको रोयल्टीबाट ८ लाख ४० हजार ७७१ रुपैयाँ उठेसँगै कार्यालयले वर्षभरिमा ३५ लाख ६९ हजार १७१ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

संरक्षण अधिकृत यादवका अनुसार गत आर्थिक वर्षको साउन, पुस, माघ, फागुन र यस वर्षको असारमा एक जना पनि पर्यटक आएनन्। अन्य महिनामा भने भदौमा १५, असोजमा २९३, कात्तिकमा ६०७, मंसिरमा ७८, चैतमा १४३, वैशाखमा २०४ र जेठमा ४० जना पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरेका थिए।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार क्षेत्रसम्म पुग्ने पर्यटक तथा हिमाल आरोहणका क्रममा बिरामी परेकाहरूको उद्धार र सामग्री ढुवानीका लागि हेलिकोप्टर नियमित रूपमा सञ्चालन हुने गरेको कार्यालयले जनाएको छ।

 

 

प्रकाशित: ७ श्रावण २०८३ १६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App