२३ श्रावण २०८३ शनिबार
image/svg+xml
प्रवास

कतार पुगेका सुहाङले भने: समृद्धिका लागि स्वदेश र विदेशका नेपाली एकजुट हुनुपर्छ

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले नेपालको विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा रहेका सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

प्रवासी नेपाली मञ्च कतारको आठौँ राष्ट्रिय अधिवेशन–२०२६ को उद्घाटन गर्दै नेम्बाङले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्रवासी नेपालीको योगदान महत्वपूर्ण रहेको बताए।

उनले देशको विकास र समृद्धिको अभियानलाई सफल बनाउन एमालेले पुनर्संरचनासहित राजनीतिक पुनर्जागरणको दिशामा अघि बढ्नुपर्ने धारणा राखे। मुलुकले सामना गरिरहेका चुनौती समाधान गर्न युवाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीले पनि राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए।

कतारलगायत विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकले श्रम, सीप र पसिनामार्फत नेपालको अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको नेम्बाङको भनाइ थियो।

विदेशमा रहेर पनि नेपालको विकास, समृद्धि र राष्ट्रिय हितमा प्रवासी नेपालीले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सले लाखौँ नेपाली परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई केवल श्रमिकका रूपमा नभई नेपालको आर्थिक विकासका महत्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्ने धारणा राखे।

प्रवासमा कार्यरत नेपाली श्रमिकले भोग्दै आएका समस्या र चुनौती समाधानका लागि राज्य गम्भीर हुनुपर्नेमा पनि नेम्बाङले जोड दिए।

 

प्रकाशित: २२ श्रावण २०८३ २१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App