१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ को तयारी तीव्र पारिएको छ। आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलन व्यवस्थित बनाउन मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा १० वटा समिति गठन गरिएको छ।  

अक्टोबर १० मा सम्पन्न चौथो क्षेत्रीय बैठकले सम्मेलन व्यवस्थापन, आर्थिक परिचालन, प्रायोजन, अतिथि सत्कार तथा यातायात, भिसा तथा दर्ता, स्वयंसेवक परिचालन, सञ्चार, सांस्कृतिक कार्यक्रम, लगानी प्रवर्द्धन र घोषणापत्र तयारीलगायतका जिम्मेवारीसहित समिति गठन गरेको हो। 

सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी, श्रम अधिकार, सामाजिक सुरक्षा, युवा तथा महिला सहभागिता, नेतृत्व विकास र नेपालमा लगानी प्रवर्द्धनका विषय प्राथमिकतामा रहने क्षेत्रीय संयोजक श्रेष्ठले बताएका छन्।

श्रेष्ठले सम्मेलनलाई औपचारिक कार्यक्रम र भाषणमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका समस्या, सम्भावना र भविष्यसँग जोड्ने उद्देश्य रहेको बताए। 

रेमिट्यान्समार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याइरहेका नेपाली श्रमिकको सीप, अनुभव र पुँजीलाई स्वदेशको उत्पादन, उद्यमशीलता तथा रोजगारी सिर्जनासँग जोड्ने विषयमा पनि सम्मेलनले साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ। 

एनआरएनएले सम्मेलन सफल बनाउन विश्वभरका अभियन्ता, राष्ट्रिय समन्वय परिषद्, आईसीसी पदाधिकारी तथा नेपाली संघसंस्थालाई सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।  

प्रकाशित: १३ कार्तिक २०८३ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App