चार वर्षअघि भविष्यको खोजीमा नेपालबाट संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका २६ वर्षीय तयब खानले सवा १ अर्ब रुपैयाँ (३ करोड दिराम) बराबरको चिठ्ठा जितेका छन्। हाल अबुधाबीमा बसोबास गर्दै आएका खान यूएई लटरीको ‘लक्की डे ड्र’ अन्तर्गतको ज्याकपट प्रणालीमा ग्रान्ड पुरस्कार जित्ने पहिलो व्यक्ति बनेका छन्।
रोचक कुरा के छ भने विजेता नम्बर घोषणा हुँदा खानले ‘ड्र’ हेरेका पनि थिएनन्। उनले यो खबर इमेलमार्फत थाहा पाए।
“यसअघि पनि साना पुरस्कार जित्दा यस्तै इमेल आएका थिए, त्यसैले मैले धेरै ध्यान दिएको थिइनँ,” खानले भने। “तर जब इमेल खोलेर ३ करोड दिराम देखेँ, मेरा हातखुट्टा नै काम्न थाले। यो सपना जस्तै लागिरहेको थियो।”
यो विजेता टिकट पाँच जना घनिष्ठ साथीहरूको साझा लगानीमा खरिद गरिएको थियो। उनीहरू नियमित रूपमा पैसा जम्मा गरेर लटरी टिकट किन्थे। अब ३ करोड दिरामको पुरस्कार पाँचै जनाबीच बराबरी बाँडिनेछ, जसअनुसार प्रत्येकले ६० लाख दिराम (झन्डै २५ करोड रुपैयाँ) पाउनेछन्।
खानका अनुसार उनले सन् २०२४ को सुरुआतमा फेसबुक चलाउँदै गर्दा यूएई लटरीबारे थाहा पाएका थिए। त्यसपछि पाँच जना साथीले मिलेर नियमित रूपमा टिकट किन्न थाले।
“हामी जम्मा पाँच जना थियौँ। सबैले पैसा जम्मा गरेर टिकट किन्थ्यौँ,” उनले भने। “हरेक साता पालैपालो एक जनाले नम्बर छनोट गर्थ्यौँ।”
समयक्रममा उनीहरूले तीन वा चार नम्बर मिलाएर साना पुरस्कारहरू पनि जिते, जसले उनीहरूलाई निरन्तर प्रयास गर्न प्रेरित गर्यो।
“कहिलेकाहीँ त जित्न सम्भव नहुने जस्तो लाग्थ्यो, तर हामीले आशा भने कहिल्यै छाडेनौँ,” खानले भने।
पुरस्कार जितेको खबर उनले सबैभन्दा पहिले नेपालमा रहेका आफ्ना काकालाई सुनाएका थिए। खानका अनुसार उनका काका पितासरह हुन् र उनीकै सहयोगमा खान यूएई पुगेका थिए।
“म यूएई आउनुको मुख्य कारण नै उहाँ हुनुहुन्छ। हामीले कति रकम जित्यौँ भनेर सुनाउँदा उहाँ एकछिन बोल्नै सक्नुभएन। उहाँका आँखाबाट आँसु झरे,” खानले सम्झिए।
त्यसो त, खानका लागि यो जित केवल आर्थिक स्वतन्त्रताको विषय मात्र होइन। उनको पहिलो प्राथमिकता नेपालमा आफ्नो परिवारका लागि घर बनाउनु हो।
“मेरो पहिलो लक्ष्य नै परिवारका लागि राम्रो घर किन्ने वा बनाउने हो,” उनले भने। “अब म राम्रो स्थानमा परिवारलाई आवश्यक सबै सुविधा भएको घर बनाउन सक्छु।”
२६ वर्षीय खानले अब लगानी र व्यवसायका अवसरहरू पनि खोज्ने योजना बनाएका छन्।
“मैले चार वर्षसम्म कर्मचारीका रूपमा काम गरेँ,” उनले भने। “अब म अर्को तहमा पुग्न चाहन्छु। उद्यमशीलता र लगानीका क्षेत्रमा अवसर खोज्न चाहन्छु।”
दीर्घकालीन योजनामा धेरै रकम खर्च हुने भए पनि वर्षौँदेखि चाहेका केही व्यक्तिगत सपना पनि पूरा गर्ने उनको योजना छ।
“म लामो समयदेखि महिन्द्रा थार जीप र रोलेक्स घडी किन्ने सोचमा थिएँ,” उनले भने।
खानका अनुसार यो जितले पाँचै जना साथीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ।
“मेरो एक जना साथी धेरै वर्षदेखि परिवारबाट टाढा छन्। अर्कोको हालै विवाह भएको छ, र अर्का एक जना भर्खरै बुबा बनेका छन्,” उनले भने। “हामी सबैका लागि म अत्यन्त खुसी छु।”
प्रकाशित: २५ जेष्ठ २०८३ १९:१२ सोमबार





