२४ आश्विन २०८३ शनिबार
image/svg+xml
प्रवास

ममता बेपत्ता हुनुभन्दाअघिदेखि नै नरेशले कुटपिट गर्ने गरेको साथीको बयान

आमा भन्छिन्: म दुई वर्षदेखि छोरी ममतालाई खोजिरहेकी छु

अमेरिकाको भर्जिनिया राज्यमा बेपत्ता भएकी नेपाली मूलकी ममता काफ्ले भट्टका श्रीमान् नरेश भट्टविरुद्धको मुद्दामा उनकी साथी सरिता न्यौपानेले ममता बेपत्ता हुनुभन्दा पाँच महिनाअघि नरेशले उनलाई कुटपिट गरेको बयान दिएकी छन्।

अदालतमा बिहीबार बयान दिने क्रममा न्यौपानेले सन् २०२४ को फेब्रुअरीमा ममतालाई आफ्नो छिमेकमा रोइरहेको अवस्थामा भेटेको बताइन्। त्यसपछि उनलाई घरमा लगेकी न्यौपानेका अनुसार ममताले श्रीमान्सँग विवाद हुँदा आफू कुटपिटमा परेको बताएकी थिइन्। उनले आफ्नो बायाँ गालामा चोट लागेको तस्बिर र घटनापछिको भिडियोसमेत साथीलाई देखाएकी थिइन्।

न्यौपानेका अनुसार ममताले नरेशले आफूलाई पटकपटक कुटपिट गर्ने गरेको, अन्य महिलासँग सम्बन्ध राखेको र बच्चा जन्मिएपछि उनीहरूबीचको सम्बन्ध झन् बिग्रिएको बताएकी थिइन्। ममताले नरेशको विभिन्न महिलासँग अनलाइन कुराकानी भएको भेटेकी थिइन्। ती महिलाहरू अमेरिकाको मेरिल्यान्ड, भर्जिनिया र नेपालका रहेको उनले साथीलाई बताएको न्यौपानेको भनाइ छ।

ममताले आर्थिक कारोबार र मोबाइल प्रयोगमा समेत श्रीमान्ले नियन्त्रण गर्न थालेको बताएकी थिइन्। त्यसपछि न्यौपानेले उनलाई बैंकमा लगेर छुट्टै खाता खोल्न सहयोग गरेको, केही रकम दिएको र प्रयोगका लागि नयाँ मोबाइल किनिदिएको अदालतमा बताइन्।

घटनाको भोलिपल्ट न्यौपाने र उनका श्रीमान्ले नरेशलाई आफ्नो घरमा बोलाएर उनीहरूबीचको विवाद समाधान गर्ने प्रयास गरेका थिए। त्यतिबेला ममताको बैंक खाता बन्द गरिएको र मोबाइलसमेत प्रयोग गर्न नपाएको विषयमा प्रश्न गर्दा नरेशले घर सफा नगरेको र आफ्नी आमाको कुरा नमानेको कारण देखाएको न्यौपानेले बयान दिइन्।

उक्त विवादपछि ममता आफ्नी सानी छोरीसहित करिब तीन सातासम्म न्यौपानेको घरमा बसेकी थिइन्।

आमाले पनि दिइन् अदालतमा बयान

ममताकी आमा गीता काफ्लेले पनि बिहीबार अदालतमा बयान दिएकी छन्। छोरी बेपत्ता भएपछि आफू दुई वर्षअघि नेपालबाट अमेरिका आएको उनले बताइन्। अहिले उनी ममताका भाइ महेश र नातिनीसँग बस्दै आएकी छन्।

गीताका अनुसार ममता अमेरिका गएर नरेशसँग बस्न थालेपछि उनीहरूबीच बिहान र साँझ नियमित भिडियो तथा फोनमा कुराकानी हुने गर्थ्यो। छोरीसँग आफ्नो निकै घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले ममता बेपत्ता भएपछि आफू उनलाई खोज्न अमेरिका आएको बताइन्।

गीताले छोरीसँग अन्तिमपटक सन् २०२४ जुलाई २९ मा साँझ करिब ७ बजे भिडियो कलमा कुरा गरेकी थिइन्। करिब १५ मिनेट भएको उक्त कुराकानीका बेला ममता फ्रिज सफा गरिरहेकी थिइन्।

त्यसपछि ममताको फोन नलागेपछि गीताले लगातार दुई दिनसम्म सम्पर्क गर्ने प्रयास गरिन्। पछि उनले नरेशलाई सम्पर्क गरिन्। पाँच दिनपछि नरेशले भ्वाइस मेलमार्फत ममता काममा गएको र तीन दिनदेखि घर नफर्किएको जानकारी दिएको गीताले अदालतमा बताइन्।

पछि फोनमा कुरा हुँदा छोरी कहाँ छिन् भनेर सोध्दा नरेशले उनी काममै रहेको र सम्भवतः फर्किने जवाफ दिएको गीताको भनाइ छ।

नरेशमाथि तीनवटा अभियोग

ममता सन् २०२४ मा अमेरिकाको मानासस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन्। उनी बेपत्ता भएको करिब तीन सातापछि नरेश पक्राउ परेका थिए। ममताको शव हालसम्म फेला परेको छैन।

नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको गरी तीनवटा अभियोग लगाइएको छ। अभियोजन पक्षले नरेशले ममताको हत्या गरी शवका टुक्रा पारेको र लुकाएको आरोप लगाएको छ। यद्यपि, यी आरोप अदालतबाट प्रमाणित भइसकेका छैनन्।

मुद्दाको सुनुवाइमा ममताकी आमा र साथी न्यौपानेले दोस्रो दिन साक्षीका रूपमा बयान दिएका हुन्। उक्त मुद्दाको सुनुवाइ करिब सात सातासम्म चल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २३ आश्विन २०८३ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App