१२ आश्विन २०८३ सोमबार
image/svg+xml
प्रवास

भोटेकोशी बाढी प्रभावितको सम्झनामा लन्डनमा दीप प्रज्वलन

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका तथा प्रभावितहरूको सम्झनामा नेपाली ब्रिटिश कम्युनिटी (एनबीसी-यूके) ले लन्डनको ऐतिहासिक ट्राफल्गर स्क्वायरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

आइतबार आयोजित कार्यक्रममा बेलायतमा रहेका नेपाली समुदायका सदस्य, विभिन्न संघ-संस्थाका प्रतिनिधि, कूटनीतिज्ञ, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरिएको थियो।

कार्यक्रममा नेपाली दूतावास लन्डनका प्रतिनिधि संजोग राई, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, काउन्सिलर लक्ष्य गुरुङ, व्यवसायी उत्तम नेपाल, धादिङ-नुवाकोट समाज यूकेका अध्यक्ष बुद्धि तामाङ, युवा प्रतिनिधि सुशान्त चुडाल, एनआरएनए आइसिसी सचिव प्रसुना कँडेल, तमु समाज यूकेको संस्थापक अध्यक्ष चित्र गुरुङ, नर्स सुनिता गौतम तथा मिस नेपाल यूकेकी अध्यक्ष मनीषा डंगोललगायतको सहभागिता रहेको थियो।

एनबीसी-यूकेका अध्यक्ष समिर व्याकरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै बाढीबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। सहभागीहरूले प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई आवश्यक सहयोग, सहकार्य र मानवीय साथ उपलब्ध गराउन बेलायतस्थित नेपाली समुदाय एकताबद्ध हुनुपर्नेमा समेत जोड दिए।

प्रकाशित: १२ आश्विन २०८३ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App