कतार सरकारले काराबास सजाय भोगिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। यो माफी कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रदान गरिएको हो।
नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कतार सरकारप्रति आभार व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘कतार राज्यको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको शुभ अवसरमा १३ जना नेपाली कैदीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीका लागि नेपाल सरकार कतार सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।’
मन्त्रालयका अनुसार मानवीय आधारमा दिइएको यो आममाफीले नेपाल–कतारबीचको गहिरिँदो मित्रता र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतिविम्ब प्रस्तुत गर्दछ।
साथै, यस प्रकारको कदमले दुई देशबीचको आपसी विश्वास र सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
कतार सरकारले भने आममाफीअन्तर्गत कुन सजायको अवधि वा जरिवाना माफ गरिएको हो भन्ने विवरण सार्वजनिक गरेको छैन।
प्रकाशित: १७ पुस २०८२ १९:४७ बिहीबार





