५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

एनआरएनए हङकङमा ललित, चीन र मकाउमा हुँदै

हङकङ–गैरआवासीय नेपाली संघ हङकङको अध्यक्षमा ललित लिम्बु निर्वाचित भएका छन् । एनआरएनए हङकङको नेतृत्वमा पश्चिम नेपालको वर्चश्व रहँदै आएकोमा पहिलो पटक पूर्व ताप्लेजुङका लिम्बु अध्यक्षमा विजयी भएका हुन् ।

आइतबार शुरु भएको एनआरएनए हङकङको पाचौँ अधिवेशनको निर्वाचन परिणाम सोमबार बिहान घोषणा गरिएको छ । छ सय ३१ मत ल्याएर अध्यक्षमा विजयी भएका ललित आङ्बुहाङ लिम्बुलाई राधिका गुरुङ (४६५) र दिलिपसिं गुरुङ (३६५) ले पछ्याएका थिए । संघका दुई उपाध्यक्षमा विजय सुब्बा (८३०) र प्रताप तामाङ (८०७) विजयी भएका छन् ।
Lalit Limbu Chairman

                                       अध्यक्षमा निर्वाचित लिम्बु
करिब एक हजार पाँच सय सदस्यले मतदान गरेको निर्वाचनमा निरञ्जन गुरुङ अत्याधिक मत (९६५) ल्याएर महासचिवमा विजयी भए । सन्तोष राई सचिव र संगीता गुरुङ कोषाध्यक्षमा निर्वाचित भएका छन् । २३ सदस्यीय हङकङ राष्ट्रिय संयोजन कमिटिमा १७ जना सदस्य निर्वाचित भएका छन् । पश्चिम नेपालका खासगरी गुरुङ समुदायको वर्चश्व रहेको एनआरएनए हङकङमा पहिलो पटक पूर्वका लिम्बुको नेतृत्वमा राई, गुरुङ, मगर र तामाङ समुदायको मिश्रित टिम आएको छ ।

एनआरएनए हङकङको सदस्य संख्या करिब छ सयबाट बढेर यसवर्ष दुई हजार आठ सय ६४ पुगेको छ, जसमध्ये एक हजार पाँच सय मतदानमा सहभागी भए ।सदस्य संख्या अनपेक्षित रुपमा बढेर स्थानीय मेरिनर्स क्लवमा देखिएको ठूलो भीडलाई संयोजन गर्दै एसिया क्षेत्रीय संयोजक गंगा राई तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार त्रिलोक गुरुङको नेतृत्वमा रहेको अध्यक्ष मण्डलले दिनरात लगाएर अधिवेशन सम्पन्न गरेको हो ।

'पहिला औँलामा गन्न सकिने सदस्य हुन्थे, अहिले विश्वका धेरै देश र हङकङमा पनि एनआरएनएप्रतिआकर्षण देखेर गर्व लाग्छ', सल्लाहकार गुरुङले भने, 'हङकङमा सानो हलमा त्यति धेरै मानिस संयोजन गर्नु निकै चुनौतीपूर्ण थियो तर सहभागीहरू संस्थाप्रतिको आकर्षण र उत्साहले आएकाले खासै कठिन भएन ।'

नयाँ संविधान मस्यौदामा 'एनआरएन नागरिकता' को व्यवस्था गरिएसँगै नेपाल सरकारबाट मान्यताप्राप्त यो संस्थाप्रति विदेशमा बस्ने नेपालीको आकर्षण निकै बढेको महशुस यहाँ गरिएको छ ।करिब ३२ हजार नेपाली बस्ने हङकङमा हजार बढी नेपाली एकै ठाउँ भेला हुनु आपैmमा दुर्लभ मानिन्छ । आइतबारको भेला त्यस्तै दुर्लभ थियो ।

'अधिवेशनमा उत्साहजनक सहभागिताले नयाँ टिमलाई उर्जा मिलेको छ, एनआरएनएलाई हङकङका प्रत्येक नेपालीले चिन्ने र सहभागी हुने अवस्थामा विकास गर्ने लक्षका साथ हामी काम गर्छौँ', पर्यटन व्यावसायमा संलग्न अध्यक्ष लिम्बुले भने, 'महावाणिज्य दूताबाससँग समन्वय गरी नेपालको पर्यटन प्रवद्र्धनका निम्ति हङकङमा कार्यक्रम गर्ने योजना पनि बनाउने छौँ ।'

मूख्यभूमी चीन तथा विशेष प्रशासनिक क्षेत्र हङकङ र मकाउमा एनआरएनएका बेग्लाबेग्लै राष्ट्रिय समन्वय कमिटि छन् । ग्वान्झाओ हुँदै हङकङ आइपुगेका क्षेत्रीय संयोजक राईले अर्को महिनाभित्र चीन र मकाउमा पनि अधिवेशन हुने बताए ।

प्रकाशित: ११ श्रावण २०७२ ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App