३ माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

बेलायती संसद अगाडि मोदीविरूद्ध प्रदर्शन गरिने

लन्डन-बेलायतको सर्बदलीय संसदीय समिति अन्तर्गत नेपाल र भारत डेक्स हेर्ने सांसद वीरेन्द्र शर्माले नेपालमा भारतले गरेकोे नाकाबन्दीले उत्पन्न समस्या समाधानमा पहल गर्न बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई पत्र लेखेका छन्।

सांसद शर्माले क्यामरुनलाई लेखेको पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने बेलायत भ्रमणका बेला नेपालमा लगाइएको अघोषित नाकाबन्दीलाई पनि एजेन्डा बनाउन प्रस्ताव गरिएको छ। नेपाली दूतावास लन्डनमा आयोजित नेपाल डेस्टिनेशन प्रमोशन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले प्रधानमन्त्री क्यामरुनलाई लेखेको पत्रबारे जानकारी गराएका हुन्।

नेपाली दूतावास लन्डन र पर्यटन बोर्डको संयुक्त आयोजनामा मंगलबार आयोजित उक्त कार्यक्रममा सांसद शर्माले नेपाली जनताले लामो प्रतिक्षापछि नयाँ संविधान प्राप्त गरेकोमा बधाई दिए। कार्यक्रममा सांसद शर्माले भारत र नेपालको ऐतिहासिक सम्बन्धका बारेमा पनि चर्चा गरे। उनले दुई मुलुकबीचको सम्बन्ध नबिर्गान भारतलाई सुझावसमेत दिए।

कार्यक्रममा बोल्दै सर्वदलीय संसदीय समितिका उपसभापति बब ब्लायकमानले बेलायतको संसदमा जम्मा २५ प्रतिशत महिलाको प्रतिनित्व रहेको चर्चा गर्दै नेपालको नयाँ संविधानले ३३ प्रतिशत महिला संसदमा प्रतिनिधित्वको ग्यारेन्टी गरेको उल्लेख गरे। नेपालको नयाँ संविधानबाट बेलायतले पाठ सिक्नु पर्ने उनको तर्क थियो। उनले बेलायतले नेपालको विकास र समृद्धि हेर्ने चाहेको विचार ब्यक्त गरेका थिए।

कार्यक्रममा बेलायतकालागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुगेर नयाँ संविधान जारी भएको बताए। नेपालमा हालै गएको भूकम्पपछि जनजीवन साधारण अवस्थामा फर्किसकेको जानकारी दिँदै उनले भ्रमणकालागि नेपाल सुरक्षित रहेको बताए। कार्यक्रममा नेपाल इन्टरनेश्नल म्याराथोनका निक किरशव, नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत श्रद्धा श्रेष्ठ, प्रसाशन प्रमुख कमलप्रसाद भट्टराई, सूर्य थपलिया, ध्रुर्ब केसीलगायतले नेपालको पर्यटन प्रवद्र्धनका विभिन्न पक्षमा मन्तब्य राखेका थिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्य, यूके अध्यक्ष मुछेत्र गुरुङ, बेलायतस्थित ट्राभल राइटर, ट्राभल एजेन्ड, पत्रकार, पर्यटन ब्यवसायी, समाजसेवी, बुद्धिजीवी लगायतको सहभागिता थियो।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको बेला बेलायतस्थित नेपाली समुदायले १२ नोभेम्बर दिउँसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्ने भएका छन्। सो प्रदर्शनमा रहेका करिब १ दर्जन सामाजिक तथा राजनीतिक संघसंस्थाको सहभागिता रहने अपेक्षा गरिएको छ।

2

3

प्रकाशित: १८ कार्तिक २०७२ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App