१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
प्रवास

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा पुगे

रूस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा पुगेका छन्। गैरआवासीय नेपाली संघ, रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतका देशमा पुगेका हुन्।

शर्माका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना र ४ जना माल्दावा पुगेका हुन्।

युक्रेन युद्धबाट विस्थापित भइ बिभिन्न देशका सिमाबाट निस्किएका नेपाली सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक तिर लागेका हुन्।

ती मध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्कमा पुगेको संघका महासचिव राज कुमार थापाले जनकारी दिए। थापाका अनुसार ती नेपालीलाई एनआरएन पोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान  गर्दै आएको छ।

यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सिमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा.चिरन्जीबी खड्काले जानकारी दिए।

यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सकृय छ।

युद्वबाट विस्थापित नेपालीको उद्धारको लागि राजदूत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सिमा क्षेत्रमा आफैं खटिएका थिए।

युक्रेनबाट विस्थापितलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्तसमेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडान मार्फत नेपाल पठाउन आवश्यक पहलसमेत भइरहेको जनाएको छ। उद्धार समितिले  युक्रेनबाट विस्थापित नेपालीहरुको नियमित रूपमा तथ्यांक संकलन गर्दै आएको छ।

प्रकाशित: २४ फाल्गुन २०७८ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App