८ चैत्र २०८२ आइतबार
image/svg+xml
प्रवास

‘भारतीय प्रधानमन्त्री शक्तिविहीन'

नयाँ दिल्ली-(एजेन्सी)– भारतका प्रधानमन्त्री मनमोहन सिंहलाई पूर्व सहयोगीले एक पुस्तकमा शक्तिविहीन कठपुतलीको रूपमा प्रस्तुत गरेका छन्। प्रधानमन्त्री कार्यालयमा रहे पनि सिंहसँग शक्ति नभएको भनेर पुस्तकमा उल्लेख गरिएको छ।भारतमा निर्वाचन निकै तीतो प्रतिस्पर्धामा रहेकै बेला प्रधानमन्त्रीका आमसञ्चार सल्लाहकार सन्जय बारूले ‘द एक्सिडेन्टल प्राइममिनिस्टर– द मेकिङ एन्ड अनमेकिङ अफ मनमोहन सिंह' (घटनाक्रममा बनेका प्रधानमन्त्री– मनमोहन सिंहको उत्थान र अवसान) नामक पुस्तक सार्वजनिक गरेका हुन्, जसले नयाँ विवाद सिर्जना गरेको छ। यसै साता सार्वजनिक उक्त पुस्तकले मे १२ सम्म म्याराथनको रूपमा चलिरहेको निर्वाचनमा प्रतिपक्षी आलोचकलाई थप मसला प्रदान गरेको छ। पुस्तकमा कंग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीले शक्ति प्रयोग गरिरहेको उल्लेख गरिएको छ। 
प्राज्ञ एवं पत्रकार बारूले आमसञ्चार सल्लाहकार पद सन् २००८ मा त्यागेका थिए। 
भारतमा सत्ताधारी दलका नेता नै प्रधानमन्त्री हुने परम्परा थियो। गान्धीले सन् २००४ तथा २००९ मा निर्वाचन अभियानको नेतृत्व गरेकी थिइन् र कंग्रेसलाई शक्तिमा पुर्‍याइन्। हिन्दु राष्ट्रवादीहरूले इटालीमा जन्मिएकीले उनलाई भारतमा शासन गर्न अयोग्य बनाउँछ भन्ने विस्फोटक राजनीतिक मुद्दा अगाडि बढाए जसका कारण उनले प्रधानमन्त्रीको पद अस्वीकार गरिन्। 
उनले आफ्नो परिवारका समर्थक सिंहलाई यस पदका लागि चयन गरिन्। बारूका अनुसार गान्धीले शक्तिको अस्वीकार उनले भनेजस्तै उच्च आदर्शको मागको प्रतिक्रिया नभएर राजनीतिक रणनीति थियो। 
बारूले पुस्तकमा प्रधानमन्त्री सिंहले गान्धीसमर्थनमा आफूलाई समर्पण गरेको र उनले नै पार्टीको अध्यक्ष शक्तिको केन्द्र भएको स्वीकार गरेको बताएको उल्लेख गरेका छन्। 
आलोचकहरूले प्रधानमन्त्री सिंहको प्रशासनमा गान्धीले शक्ति प्रयोग गर्ने गरेको आरोप लगाउने गरेका थिए। बारूको पुस्तकले प्रधानमन्त्री सिंहको नजिकका व्यक्तिबाट उक्त कुराको पुष्टि गर्ने पहिलो सामग्री उपलब्ध गराएको छ। 
बारूले नरमभाषी प्रधानमन्त्रीको ठूलो आलोचनाको रूपमा भ्रष्टाचारको दाग लागेको सरकारको दिगो आयुका लागि ध्यान नदिएको आरोप लगाएका छन्। एकासी वर्षीय सिंह यस निर्वाचनपछि शासनमा रहनेछैनन्, तर उनले सार्वजनिक जीवनमा व्यक्तिगत रूपले उच्च सम्मानको आदर्श कायम गरेका छन्। 

टेलिफोनको अनुमति दिँदादेखि खानी वितरण गर्दासम्म अनेक काण्ड गरेको आरोप कंग्रेस पार्टीमाथि लगाइएको छ। यी काण्डबाट सरकारको कोषमा अर्बौं अमेरिकी डलर बराबर घाटा पुगेका सरकारी अधिकारीहरूले बताएका छन्। 
प्रधानमन्त्री सिंहले आफूले मन्त्री छनोट गर्न पाउने ठानेको, तर गान्धीले उक्त अवधारणालाई दबाएको बारूले उल्लेख गरेका छन्। 
बारूले सिंहसँग आफ्नो मन्त्रिपरिषदमा कमै अधिकार भएको उल्लेख गरेका छन् र प्रधानमन्त्री सिंहसँग महŒवपूर्ण विषयमा निर्णय गर्न कर्मचारीहरूले गान्धीको निर्देशन लिने गरेको बताएका छन्। 
प्रधानमन्त्री सिंहका प्रवक्ता पंकज पचौरीले उक्त पुस्तक तथ्यविहीन भएको बताएका छन्। उनले बारूले व्यापारिक फाइदाका लागि अधिकारप्राप्त पदको दुरूपयोग गरेको पनि आरोप लगाएका छन्। बारूले यो प्रतिक्रिया आफूलाई अनौठो लागेको बताएका छन्। 
भारतमा बहुचरणमा निर्वाचन भइरहेको छ र यसमा प्रतिपक्षी हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी विजयी हुने अनुमान गरिएको छ। निर्वाचनको नतिजा मे १६ मा आउँछ। 
बारूले प्रधानमन्त्री सिंहलाई सन् १९९० मा प्रथम चरणको ऐतिहासिक आर्थिक सुधार आरम्भ गर्ने प्रमुख अर्थशास्त्रीको रूपमा प्रस्तुत गरेका छन्। बारूले वंशपरम्पराको उत्तराधिकारीप्रति समर्थन जनाएर प्रधानमन्त्री सिंहले घातक निर्णयात्मक गल्ती गरेको बताएका छन्। 
हत्या गरिएका पूर्व प्रधानमन्त्री राजीव गान्धीका विधवा सोनियाले एक अन्तर्वार्तामा आफूलाई नेहरू–गान्धी वंशपरम्पराको मार्गदर्शकको रूपमा प्रस्तुत गरेकी छन्। यस वंशले भारतलाई तीन प्रधानमन्त्री दिएको छ। 
उनले आफ्ना छोरा ४३ वर्षीय राहुललाई कंग्रेस पार्टीको निर्वाचन अभियानमा धकेलेर राजनीतिक मञ्च प्रदान गरेकी छन्। यसो भए पनि राहुल गान्धीले पद लिन चाहना व्यक्त नगर्दा र सशक्त कार्यसम्पादन पनि नदिँदा भारतीय जनता पार्टीले विजय हासिल गर्ने अवस्था आएको धारणा व्यक्त गरिन्छ। 
भारतीय जनता पार्टीलाई कडा बोली भएका परम्परावादी नरेन्द्र मोदीले नेतृत्व गरेका छन्। यस पुस्तकमा मोदीको पनि आलोचना गरिएको छ। 
भारतीय जनता पार्टीका वेङ्काइया नाइडुले आफूले पहिलो दिनदेखि नै प्रधानमन्त्रीले अध्यक्षता गर्ने र गान्धीले निर्णय गर्ने गरेको बताउँदै आएको र यस पुस्तकले आफ्नो भनाइलाई प्रमाणित गरिदिएको बताए।

प्रकाशित: २९ चैत्र २०७० २०:५८ शनिबार