आयोगका अनुसार महाराष्ट्रमा १० सिटका लागि ५८ प्रतिशतभन्दा बढी, हरियाणा र केरलमा करिब ७३ प्रतिशत र चन्डिगढमा ७४ प्रतिशत मत खसेको छ। उडिसा र अन्डमान निकोबारमा ६७ प्रतिशतभन्दा बढी मत खसेको छ भने जम्मु कास्मिरको एउटा सिटमा ६६ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ।
दिल्लीलगायत बिहारका ६, झारखन्डका ४, केरलका सबै २० तथा हरियाणा, उत्तरप्रदेश र महाराष्ट्रका १०/१० लोकसभा सिटका लागि बिहीबार मतदान भएको छ। साथै छत्तिसगढ, जम्मु कास्मिर, चन्डीगढ, अन्डमान निकोबार र लक्ष्यद्विपका १/१ लोकसभा सिटका लागि पनि बिहीबारै मतदान भएको छ। उडिसामा लोकसभाका १० र विधानसभाका ७० सिटका लागि मतदान भयो। ९१ सिटमा कुल १४ सय १८ जना उम्मेदवार छन् भने मतदाताको संख्या करिब ११ करोड छ।
भारतभर सबैको नजर भने दिल्लीका ७ चुनाव क्षेत्रमा अडिएको छ। केही महिनाअघि त्यहाँ भएको विधानसभा चुनावमा सत्तारुढ कंग्रेसलाई लज्जास्पद पराज भोग्न बाध्य पारेको अरबिन्द केजरीवालको आम आदमी पार्टीका कारण पनि दिल्लीको चुनावमा सबैको ध्यान केन्द्रीत भएका हो। त्यहाँ ७ लोकसभा सांसदका लागि उम्मेदवारी दिएका १ सय ५० जनालाई करिब १.२७ करोड मतदाताले मतदान गर्न पाउँछन्।
दिल्लीमा स्थापना गरिएका २५ सय २७ मतदान केन्द्रमध्ये ९० केन्द्र अति संवेदनशील मानिएको छ। दिल्लीका ७ वटै सिटमा कंग्रेस, भाजपा र आपसहित १ सय २९ पार्टीका १ सय ५० उम्मेदवार चुनावी मैदानमा छन्। केन्द्र शासित दिल्लीमा नयाँ दिल्ली, चाँदनी चोक, पश्चिम दिल्ली, पूर्वी दिल्ली, उत्तर पश्चिम दिल्ली, उत्तर पूर्वी दिल्ली र दक्षिण दिल्ली गरी ७ लोकसभा निर्वाचन क्षेत्र छन्। दिल्लीको चुनावमा ४५ हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ।
बिहीबार भएको निर्वाचन भाजपाका लागि अत्यन्त महत्वपूर्ण छ। गुजरात, हरियाणा, उत्तर प्रदेश, दिल्ली, महाराष्ट्र, बिहारलगायत राज्यमा मोदी लहर चलेका कारण यी राज्यबाट धेरै सिट जित्ने अपेक्षा भाजपा र मोदीले गरेका छन्। दक्षिण भारतमा मोदी लहर नचलेका कारण भाजपाले भारतमा मोदीको नेतृत्वमा नयाँ सरकार गठनको सपना पनि उत्तर भारतीय राज्यबाट जित्ने सिटमा भर पर्छ। त्यसमाथि पनि राजधानी दिल्लीमा स्थानीय सरकार बनाएको आप लोकसभा चुनावमा उत्रेपछि फेरिएको राजनीतिक समिकरणका कारण कतियप सिटमा कंग्रेस–भाजपा–आप त्रिपक्षीय चुनावी भिडन्त हुने सम्भावनासमेत सञ्चारमाध्यमले जनाएका छन्।
छत्तिसगढमा भने माओवादी हिंसाबीच मतदान भइरहेको सञ्चारमाध्यमले जनाएका छन्। राज्यका ११ लोकसभा सिटमध्ये बिहीबार बस्तरका लागि मतदान भयो। गएको विधानसभा चुनावमा बस्तरका ४९ हजार १०७ मतदाताले ‘नोटा' अर्थात् ‘कुनै पनि उम्मेदवारलाई मत दिन्नँ' विकल्प रोजेका थिए। त्यसैले बस्तरमा राजनीतिक पार्टी आशंकित छन्।
तेस्रो चरणका चर्चित अनुहारहरू
राजधानी दिल्लीमा सत्तारुढ दल कंग्रेसका केन्द्रीय सूचना तथा प्रविधिमन्त्री कपिल सिब्बलसहित कृष्णा तीरथ र पूर्वमन्त्री अजय माकन चुनावी मैदानमा छन्। भारतीय जनता पार्टीका वरिष्ठ नेता हर्षवर्द्धन, दिल्ली कंग्रेसका पूर्वअध्यक्ष जेपी अग्रवाल, दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितका छोरा सन्दिप दीक्षित पनि लोकसभा सिटमा प्रतिस्पर्धा गरिरहेका छन्।
राजधानीमा विधानसभा चुनावपछि स्थानीय सरकार गठन गरेको आपका उम्मेदवार पनि लोकसभाको चुनावी मैदानमा छन्। आपबाट दिल्लीकी पूर्वमन्त्री राखी बिडलान र चर्चित टेलिभिजन पत्रकार आसुतोषले उम्मेदवारी दिएका छन्। भाजपाकी प्रवक्ता मीनाक्षी लेखी र भोजपुरी गायक मनोज तिवारी पनि दिल्लीबाट लोकसभाका लागि उम्मेदवार भएका छन्।
दिल्लीसँगै पश्चिमी उत्तर प्रदेशका १० सिटमा समेत धेरैको नजर रहको छ। मतदान भएका क्षेत्रमा दंगा प्रभावित मुज्जफरनगरलगायत सहारनपुर, मेरठ, बिजनोर, बुलन्दसहर, कैराना, अलिगढ, बागपत र दिल्लीसँग जोडिएका गाजियाबाद तथा गौतमबुद्ध नगर (नोएडा) चुनाव क्षेत्र छन्। राष्ट्रिय लोकदलका अध्यक्ष र केन्द्रीयमन्त्री अजित सिंह बागपतबाट उठेका छन्।
पूर्वसेनाध्यक्ष जनरल विके सिंह गाजियाबाद संसदीय क्षेत्रबाट लोकसभाका लागि उम्मेदवार बनेका छन्। उत्तर प्रदेशको पश्चिमी भूभाग बिजनोरबाट अभिनेत्री जयाप्रदा, मेरठबाट नगमा र गाजियाबादबाट राज बब्बर लोकसभाका लागि चुनावी भिडन्तमा उत्रेका छन्। जयाप्रदा राष्ट्रिय लोक दल र नगमा तथा राज बब्बर कंग्रेसका उम्मेदवार हुन्।
महाराष्ट्रको विदर्भबाट भाजपाका पूर्व अध्यक्ष नितिन गडकरी चुनावी मैदानमा छन्। केन्द्रीय मन्त्री ससि थरुर केरलको तिरुअनन्तपुरमबाट लोकसभा सदस्यका लागि दोस्रोपल्ट पनि चुनावमा उत्रेका छन्। चन्डिगढबाट अभिनेत्री किरण खेर भाजपाबाट र गुल पनाग आपबाट पूर्वरेलमन्त्री कंग्रेसका पवनकुमार बंसलविरुद्ध चुनाव लडिरहेका छन्।
मध्यप्रदेशमा केन्द्रीयमन्त्री कमलनाथको जितहारको निर्णय बिहीबारकै मतदानबाट हुनेछ। उडिसामा भने लोकसभासँगै विधानसभाका लागि पनि मतदान भइरहेको छ। विधानसभामा जनता दल (बिजु)को पलडा गह्रौं ठानिएको छ।
अहिले भइरहेको निर्वाचन १६औं लोकसभाका लागि हो। १६औं लोकसभाका लागि सोमबार नौ चरणमा मतदान सुरु भएको हो। ७ अप्रिलबाट सुरु चुनाव करिब पाँच सातापछि १२ मेमा समाप्त हुनेछ। चुनाव सकिएको ४ दिनपछि १६ मेदेखि मतगणना थालिने चुनाव आयोगले जनाएको छ।
प्रकाशित: २७ चैत्र २०७० २२:२० बिहीबार





