यिङलक सरकारविरुद्ध विपक्षी दलले गएको नोभेम्बरयता गरेको विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या २४ पुगेको छ भने घाइते संख्या दर्जनौंमा छ। प्रदर्शनकारी चढेको बसमा गोली प्रहार कसले गर्यों प्रष्ट भएको छैन। घाइतेको उपचार गरिरहेको बैंककस्थित रामाथिबोडी अस्पतालका एक जना अधिकारीले उपचारका लागि ल्याइएका तीन जना घाइतेमध्ये एक जनाको टाउको गोली लागेको बताए।
उता,सरकार समर्थकले आइतबार राजधानी बैंककमा प्रधानमन्त्री यिङलकको समर्थनमा प्रदर्शन आयोजना गरेका छन्। आइतबार सरकार समर्थक र विरोधीबीच झडप हुनसक्ने आशंका गरिएको छ। आफूविरुद्ध पाँच महिनायता भइरहेका प्रदर्शन र भ्रष्टाचार निवारण आयोगद्वारा लापरवाहीको आरोपमा छानबिन भइरहेका बेला सिनेटको चुनावमा बहुमत जित्नु मात्र यिङलकका लागि सुखद रह्यो।
यिङलकमाथि किसानसँग सरकारले धान खरिद गर्दा लापरवाही गरी देशलाई नोक्सानमा पारेको आरोपमा भ्रष्टाचार निवारण आयोगले छानबिन गरिरहेको छ। आयोगले सोमबार पनि प्रधानमन्त्री यिङलकसँग धान खरिद मामिलाबारे बयान लिएको थियो। आयोगले उनीमाथि लागेको भ्रष्टाचार मुद्धामा महाअभियोग प्रस्ताव सिनेटमा पठाए यिङलक पदच्युत हुनसक्ने सञ्चारमाध्यमले जनाएका छन्। तर यिङलकलाई पदच्युत गर्न १५० सदस्यीय सिनेटमा ९० जनाले महाअभियोगका पक्षमा मतदान गर्नुपर्छ। जम्मा ७७ जनामात्र निर्वाचित सिनेटमा ७३ जना अझै आउन बाँकी छन्। तीमध्ये अधिकांश विपक्षी दलका नेता सिनेटमा आउने सम्भावना छ।
सञ्चारमाध्यमका अनुसार अहिलेसम्म आयोगले यिङलकविरुद्ध भ्रष्टाचार मामिला सिनेट पठाउनेबारे कुनै निर्णय गरेको छैन। सोमबार आयोगमा बयानका क्रममा यिङलकले आफूले पदीय दायित्व निर्वाहमा कुनै लापरवाही नगरेको र प्रमाण पेस गर्न केही समय मागेकी थिइन्।
प्रकाशित: १८ चैत्र २०७० २३:१७ मंगलबार





