चटगाँव– बंगलादेशको एक अदालतले युनाइटेड लिबरेसन फ्रन्ट अफ आसाम (उल्फा)का सैन्य प्रमुख परेश बरुवालाई मृत्युदण्डको सजाय सुनाएको छ। हातहतियार तस्करीको आरोपमा उनीसहित १४ जनालाई मृत्युदण्ड तोकिएको छ। अदालतले अन्य ३८ जनालाई भने प्रमाण अभाव भन्दै छाडेको छ।
पृथकतावादी संगठन उल्फा पूर्वोत्तर भारतमा सक्रिय छ। विशेष अदालतका न्यायाधीश मुजिबुर रहमानले हतियारको अवैध तस्करी र अस्थिरता फैलाएको आरोपमा मृत्युदण्ड सुनाएका हुन्। चटगाँवमा १ अप्रिल २००४ मा हतियार भेटिएको अर्को एक मुद्दामा बरुवालाई जन्मकैदको सजाय तोकिएको छ। न्यायाधीशले दुवै सजाय एकसाथ कार्यान्वयन हुने बताएका छन्।
उल्फाभित्रै उदारवादी समूहको नेतृत्व गर्ने राजु बरुवाले भने यसलाई 'निजी विषय' भनेका छन्। संगठनले औपचारिक प्रतिक्रिया दिएको छैन।
प्रकाशित: १६ माघ २०७० ०७:४७ बिहीबार

