९ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रवास

डेनमार्कमा तिहार विशेष कार्यक्रमको तयारी

कोपनहेगन – तिहारलाई उल्लासमय बनाउन डेनमार्कबासी नेपालीले विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन्। यस अन्तर्गत आगामी नोभेम्बर २ मा डेनमार्कको कोपनहेगनमो विजया दशमी तथा शुभदिपावली शुभकामना साँझ २०७० आयोजना हुने भएको छ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गैरआवासीय नेपाली संघ डेनमार्कले बताएको छ।संघको आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रममा युरो टुर २०१३ का गायक रोज मोक्तानको प्रस्तुती रहने छ। हांस्यव्यंग्य शृंखला मेरी बास्सैका कलाकारद्वय तक्मेबुढा (विल्सन बिक्रम राई) र माग्नेबुढा (केदार घिमिरे)ले हांस्यव्यंग्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ। स्थानीय नेपाली कलाकारले गायन तथा नृत्य प्रस्तुत गर्ने छन्। कोपनहेगनको नरेब्रोहेलन हलमा हुने कार्यक्रममा १ सय ५० डेनिस क्रोनर प्रवेश शुल्क राखिएको र यसमा नेपाली खानासमेत समावेश हुने संघले जनाएको छ।

'युरो टुर २०१३' नाम दिएर युरोपका विभिन्न मुलुकमा कलाकारिता प्रस्तुत गर्दै डेनमार्क आउने क्रममा रहेका कलाकारले यसअघि बेल्जियम, नेदरल्यान्ड र स्विटजरल्यान्डमा आफ्नो कला प्रस्तुत गरिसकेका छन्। डेनमार्कपछि पोर्चुगल, स्पेन, जर्मनी, फ्रान्स र इटालीमा समेत कार्यक्रम हुने टुरका सदस्यहरुले बताए।

तिहारको उपलक्ष्यमा नोभेम्बर १ का दिन कोपनहेगनस्थित वकिङ स्ट्रिटमा देउसी–भैलो स्ट्रिट फेस्टिवल २०१३ हुने छ। नेपालमा जस्तै देउसी भैलो खेल्दै, रमाउँदै, नेपाली मौलिक गीत गाउँदै नेपाली संस्कृतिको पहिचान गराउने अभिप्रायले नेप्लिज स्ट्रिट फेस्टिवल नामक सामाजिक संस्थाले महोत्सव आयोजना गर्दैछ।

कगंनिटिभ ग्रुप डेनमार्कले पनि तिहारको उपलक्ष्यमा अक्टोबर ३१ का दिन कोपनहेगनमै तिहार मेला आयोजना गर्दैछ। विभिन्न नेपाली सामान र खानाको स्टल राखी नेपाली मौलिक संस्कृती जीवित राख्ने उद्देश्यका साथ गरिन लागेको मेलामा बालबालिकालाई लक्ष्य गर्दै चित्रकला प्रतियोगितासमेत गरिने जानकारी संस्थाले दिएको छ।

यस्तै नेवारी नयाँ वर्ष नेपाल संम्बत ११३४ अवसरमा नेवाः गुठी डेनमार्कले यहाँ बस्ने नेवार समुदायलाई लक्ष्य गर्दै नोभेम्बर ४ मा कोपनहेगनमा म्हः पूजा गर्दैछ। नेवारी सांस्कृतिक पूजाका साथै नेवारी खानपिन समेत उपलब्ध हुने उक्त कार्यक्रममा नेवारी पहिचानका पोसाक लगाएर डेनमार्कबासी नेवार समुदाय सहभागी हुने संस्थाले जानकारी दिएको छ।

प्रकाशित: १२ कार्तिक २०७० ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App