अमेरिकी अनुसन्धानकर्ताहरूले यसका लागि १८ देखि २२ वर्ष उमेर समूहका १ सय ८९ युवकलाई उनीहरूको शारीरिक अभ्यास, खाना तथा टिभी हेर्ने बानीका विषयमा प्रश्न गरेका थिए र यसपछि उनीहरूको शुक्राणुको नमुना लिइएको थियो।
यस अनुसन्धानमा प्रतिसाता २० घण्टाभन्दा बढी टीभी हेर्ने युवकमा निकै कम हेर्ने वा हेर्दै नहेर्ने युवकको तुलनामा ४४ प्रतिशत कम शुक्राणु फेला परेको थियो।
शुक्राणु कम हुनुको प्रमुख कारण युवकले गर्ने शारीरिक अभ्यास पनि परेको बताइएको छ। यो अनुसन्धान प्रतिवेदन ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशन भएको छ।
प्रतिसाता १५ वा सोभन्दा बढी घण्टा शारीरिक अभ्यास गर्ने युवकमा प्रतिसाता पाँच घण्टाभन्दा भन्दा कम शारीरिक अभ्यास गर्ने युवकमा भन्दा ७३ प्रतिशत बढी शुक्राणु देखिएको छ।
शुक्राणुको मात्रा निकै कम हुने पुरुषले महिलालाई सन्तान जन्माउन सहयोग गर्न सक्दैनन्।
अन्य धेरै मुलुकमा गरिएको अध्ययनमा हाल धेरै दशकपछि शुक्राणुको गुणस्तर घट्न थालेको देखिएको छ। यसको वास्तविक कारण हालसम्म फेला पर्न सकेको छैन तर पनि वैज्ञानिकहरू मानिसको जीवनशैलीमा भएको परिवर्तनका कारण यस्तो भएको अनुमान गरेका छन्।
प्रकाशित: २३ माघ २०६९ २२:१४ मंगलबार





