लाहोर, माघ १५ (एजेन्सी)- पाकिस्तानको सरकारले १० दिनभित्र चुनावको मिती तोक्ने आइतबार बताएको छ। पाक सूचनामन्त्री कमर जमान काइराले लाहोरमा आइतबार धार्मिक नेता ताहिर-उल-कादरीसहितको संयुक्त पत्रकार सम्मेलनमा चुनावको मिति तोक्ने बताएका हुन्।
क्यानडाबाट आएका धार्मिक नेता ताहिर-उल-कादरी नेतृŒवको विरोध प्रदर्शन शान्त पार्न सरकारले उनीसँग वार्तामा सहमती गरेको थियो। कादरीसँग भएको सहमतीका आधारमा सरकारले आइतबारको निर्णय गरेको अनुमान छ।
दुई साताअघि कादरीले चार दिनसम्म पाकिस्तानी राजधानी इस्लामाबादमा हजारौं समर्थकसहित विरोध प्रदर्शन र धर्ना दिएका थिए।
कादरी नेतृत्वको प्रदर्शनकारीले तत्काल संसद बिघटनसहित सेना र न्यायालयको सहमतीमा अन्तरिम सरकार गठन गर्न माग गरेका थिए। केही महिनाअघि देखि नै सेना र न्यायालयसँग सम्बन्ध चिसिँदै गएपछि पाकिस्तानमा सरकार धरापमा पर्दै गएको छ।
प्रकाशित: १४ माघ २०६९ २२:२८ आइतबार

