६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
प्रवास

जताततै प्रलयकै चर्चा

काठमाडौँ, पुस ६ (नागरिक) - डिसेम्बर २१ अर्थात् आजको दिन विश्व ध्वस्त हुने चर्चा विशेष गरी पश्चिमी मुलुकमा छ। पश्चिमी मुलुककै देखासिकी नेपालतिर पनि यस्ता हल्लाको प्रभाव परिरहेको छ।

 ट्विटरमा आज बिहान सबैभन्दा चर्चा भएका १० विषयमध्ये पाँच विषय त यही सम्बन्धी छ। २१ डिसेम्बर, ० दिन बाँकी, ह्यापी अपोलोकेलिप्स, इन्ड अफ दि वर्ल्ड कन्फेसन जस्ता टपिक ट्रेन्डिङ भइरहेका छन्।

कतिलाई भने यो ठट्यौलीको विषय पनि भइरहेको छ। साढे सात हजारभन्दा बढी पटक रिट्विट भइसकेको एउटा ट्विटमा भनिएको छ - नासाले पुष्टि गरेको छ कि २१ डिसेम्बरको रात आकाश निकै अँध्यारो हुनेछ। यसलाई 'रात' भनिन्छ।

गंगनम स्टाइल
पुराना फ्रेन्च भविष्यवेत्ता नास्त्रेदमसको एउटा भविष्यवाणीसित जोडिएर कोरियन गायक साइको गीत गंगनम स्टाइललाई समेत प्रलयको हल्लासित जोड्ने गरिएको छ। उनीहरुका अनुसार यो भिडियो एक अर्ब पटक हेरिएपछि प्रलय हुनेछ। डिसेम्बर २१ कै वरपर यो भिडियो एक अर्ब पटक हेरिएको पहिलो भिडियो हुने चर्चा थियो। आज बिहानसम्म यो भिडियो हेर्नेको संख्या ९९ करोड ५८ लाख ४२ हजार पुगेको छ। युट्युब भिडियो र संकेतको रुपमा गरिएका प्राचीन भविष्यवाणीबीचको सम्बन्धलाई कतिले भने हास्यास्पद तर्ककै रुपमा मात्रै लिएका छन्।

प्रलय हुँदा पनि जोगिने ठाउँ
विश्वभर प्रलय हुँदा पनि केही ठाउँमा जादूमयी प्रभावका कारण केही नहुने विश्वास मानिसहरुले गरेका छन्। त्यस्तै एउटा ठाउँ हो मेक्सिकोको मेरिडा। दक्षिणी फ्रान्सको बुगाराच पहाडमा त प्रहरीले माथितिर जानै नहुने गरी बाटो रोकिदिएका छन्। टर्कीको सिरिन्स नगर पनि त्यस्तै ठाउँ हो। त्यस्ता ठाउँमा मान्छेहरुभन्दा पनि पत्रकारहरुको भीड बढिरहेको बीबीसीले जनाएको छ। एएफपीका अनुसार सिरिन्स नगरमा सयौँ पत्रकारहरु काम न काजसँग यत्तिकै डुलिरहेका छन्।
सर्बियाको रटान्ज माउन्टेन वरपरका होटलहरुमा भने बुकिङ सकिसकेको छ।

प्रकाशित: ६ पुस २०६९ ००:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App