१५ चैत्र २०८० बिहीबार
प्रवास

भारतको विमानस्थलमा नेपाली विद्यार्थी अलपत्र

सरकारका विभिन्न निकायबीच समन्वय हुन नसक्दा भारतको बैंग्लोर एयरपोर्ट पुगेका नेपाली विद्यार्थी अलपत्र परेका छन्। भारतका विभिन्न ठाउँमा अध्ययनरत नेपाली विद्यार्थीलाई सरकारले नेपाल वायुसेवाको उद्धार उडानबाट साउन १२ गते अर्थात् जुलाई २७ को उडानबाट बैंगलौरबाट काठमाडौं फर्काउने भनेको थियो। 

तर सिसिएमसीका सम्बन्धित सदस्य, भारतस्थित नेपाली दूतावास, नेपाल वायुसेवा निकायविच समन्वयनको कमीका कारण भारत सरकारको सम्बन्धित निकायसमक्ष उडान स्वीकृतिको प्रक्रियागत कागजात पुग्न सकेन। त्यसकारण नेपाल वायुसेवाले सोमबारको बैंगलौर–काठमाडौं उडान भर्ने स्वीकृति पाएन। जसका कारण सोमबार उडान भर्ने भन्दै टिकट काटेर आइतबार बिहान  बैंगलौर विमानस्थान पुगेका नेपाली विद्यार्थीहरू अलपत्र परेका हुन्।  

आइतबार बिहानै विशाखापटनमबाट आठ हजार रुपैयाँ उडान खर्च बेहोरेर निरेस श्रेष्ठ आइतबार बिहानै बैंगलोर विमानस्थल पुगे। उनले बैंगलौर–काठमाडौंंका लागि ४१ हजार नेपाली रकम खर्च गरेर सोमबार उडानका लागि टिकट काटेको ६ दिन भइसकेको थियो। पिसिआर परीक्षण गर्दा उनको सात हजार दुई सय रुपैयाँ थप खर्च भयो। विमानस्थल पुग्दा सोमबार बैंगलौर–काठमाडौं उडान भर्ने स्वीकृति भारत सरकारले नदिएका कारण उडान सारेर २९ तारेखलाई पु¥याइएको जानकारी दिइयो। ‘सोमबार हुने उडान रद्द भएको जानकारी आइतबार साँझ पाएँ। अब म विमानस्थल भन्दा बाहिर जाऊँ बैंगलौर प्रशासनले १४ दिन होम क्वारेन्टाइनको छाप हानिदिन्छ,’ निरेसले विमानस्थलबाटै नागरिकसँग गुनासो गर्दै भने, ‘विमानस्थलको होटलमा दिनको १० हजार भारतीय रुपैयाँ खर्च पर्ने रहेछ। खर्च नपुगेर अलपत्र पर्ने चिन्ता बढ्दै गइरहेको छ।’  नेपाल सरकारको गैरजिम्मेवारीपनका कारण नेपाली विद्यार्थी भारतमा अलपत्र परेको उनले बताए। संक्रमणकालीन अवस्थामा दूतावासले समेत अपनत्व नदेखाएको आरोप उनले लगाए।

आइतबार भारतका दिल्ली, विशाखापटनम, हैदराबाद, मुम्बई, पुनेलगायत थुप्रै स्थानमा अध्ययनरत नेपाली विद्यार्थी सोमबारको उडानका लागि बैंगलोर विमानस्थलमा पुगेका थिए। उडान सारेको सूचनाले सबै अलपत्र परेको बैंगलौरमा अध्ययनरत ऐश्वर्या झाले बताइन्। विशाखापटमका केही विद्यार्थीले आन्तरिक उडान रद्द गर्दा पुरै भाडा रकम खेर गएको बताएका छन्। आइतबार बैंगलौर पुगेका विद्यार्थीहरू केही विमानस्थालमै छन् भने केही बैंगलोरमा अध्ययनरत साथीभाइकहाँ पुगेका छन्। आ–आफ्नै स्थानमा उडान रद्द गर्दा केहीले उडान खर्च गुमाएका छन्।  

‘नेपाल सरकार आफ्ना नागरिकप्रति संवेदनशील नभएको हामीले अनुभव गरेका छौं। जसका कारण सयौं नेपाली विद्यार्थी विमानस्थलमा अलपत्र पर्दा समेत न सरकारलाई वास्ता छ न दुतावासलाई,’ ऐश्वर्याले नागरिकसँग गुनासो गरिन्, ‘हाम्रो उडान सोमबारलाई तय गरिएको थियो। तर, नेपाल सरकारको जिम्मेवार निकायले भारत सरकारलाई उडान स्वीकृतिका लागि प्रक्रिया नै ढिला गरेको हामीले दूतावासबाटै खबर पायौं।’  

आइतबार बैंगलौर पुगेका विद्यार्थीहरू केही विमानस्थालमै छन् भने केही बैंगलोरमा अध्ययनरत साथीभाइकहाँ पुगेका छन्। आ–आफ्नै स्थानमा उडान रद्द गर्दा केहीले उडान खर्च गुमाएका छन्।

भारतका विभिन्न ठाउँमा अध्ययनरत नेपाली विद्यार्थी, नेपाल सरकारले गठन गरेको सिसिएमसीका सदस्य एवं पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल वायुसेवा निगमको बैंगलौरका लागि म्यानेजर रीतादेवी राई र भारतमा रहेको नेपाली राजदूतावासका डिसिएम भरत रेग्मीबीच बारम्बार कुराकानी भएरै विद्यार्थीलाई प्लेन उड्ने निश्चित गराएको जनाइएको छ। सिसिएमसीका सदस्य लामिछानेले विद्यार्थीलाई शनिबारसम्म पनि सोमबार उडान भर्ने जानकारी दिएका थिए। दूतावासका रेग्मीले भारत सरकारले उडान ल्यान्डको स्वीकृति नदिएकाले निश्चित नभएको बताएका थिए। उडान निश्चित नै भएको बताउँदै आए पनि नेपाल वायुसेवाले आइतबार प्रेस विज्ञप्ति निकालेर निगमको जुलाई २७ का लागि तय भएको बैंगलौर–काठमाडौं उद्धार उडान २९ जुलाईलाई सारेको जानकारी गराउँदा विद्यार्थीहरू थप मानसिक र आर्थिक मारमा परेका हुन्।  

वायुसेवाकी प्रवक्ता अर्चचना खड्काले निगमले सोमबारै उडान भर्ने सबै तयारी गरे भारत सरकारको स्वीकृति पाउन नसकिएकाले उडान रद्द गरिएको जनाइन्। ‘सरकारले उडान भर्ने स्वीकृति दिएपछि निगमले जुलाई २० मा उडान भर्ने तय गरेर जुलाई २२ तारेखमा उडान कार्यतालिका प्रकाशन गरेर जुलाई २७ का लागि काठमाडौं–बैंगलौर उडान भर्ने तय गरेको हो,’ प्रवक्ता खड्काले नागरिकसँग भनिन्, ‘हामीलाई नेपाल सरकारका सम्बन्धित प्रतिनिधिले त उडान बैंगलौरमा ल्यान्डको स्वीकृति भारत सरकारले दिएको भनेका थिए। तर, अझै स्वीकृति नै पाएको छैन।’ उनले थपिन्, ‘२९ जुलाईमा पनि निगमको पूर्ण तयारी भए पनि भारत सरकारको स्वीकृति पाए मात्र उडान हुन्छ।’

भारतस्थित नेपाली दूतावासका राजदूत नीलाम्बर आचार्यले २७ तारेखमा उडान भर्ने तय भए पनि प्रक्रिया अघि बढाउन नभ्याएको बताए। उनले भारत सरकारको गृह, स्वास्थ्य र पर्यटन गरी तीन मन्त्रालयको स्वीकृति लिनुपर्ने भएकाले अलि समय लागेको बताए। ‘२७ जुलाईलाई तय गरिएको थियो तर भ्याइएन,’ राजदूत आचार्यले भने, ‘त्यही भएर विद्यार्थी अलपत्र पर्ने अवस्था आयो।’ उनले दूतावासले समाधान गर्ने प्रयास गरिरहेको बताए।  

सिसिएमसिका सदस्य एवं पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले सम्बन्धित निकायबीचको समन्वयको कमजोरीका कारण विद्यार्थीलाई समस्या परेको स्वीकार गर्दै समाधानको उपायमा लागेको बताए।‘मलाई शनिबारसम्म पनि दूतावासले उडान स्वीकृति लिएकै खबर थियो,’ लामिछानेले भने, ‘विमानस्थल पुगेका विद्यार्थीको समस्या दूर गर्न मैले विमानस्थालमा रहेका नेपाली प्रतिनिधि एयरपोर्ट म्यानेजरलाई निर्देशन दिएको छु। साउन १४ गते भने निश्चित रूपमा उडान हुने विश्वास उनले दिलाए। 

प्रकाशित: १२ श्रावण २०७७ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App