गण्डकी प्रदेशका पूर्व मन्त्री लक्ष्मणबहादुर पाण्डेमाथि घुस मागेको आरोप लागेको छ। गण्डकी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री पाण्डेले पोखरा–३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिलाई अस्पताल स्तरोन्नतिको नवीकरण गर्न ३० लाख घुस मागेको श्रव्य दृश्य सार्वजनिक भएको हो।
उनीसँगै मन्त्रालयका सचिव युवानिधि बसौला र मन्त्रीका स्वकीय सचिव यादव पौडेल पनि घुस काण्डमा जोडिएका छन्।
घुस मागेको काण्डमा जोडिएका पाण्डे नेकपा एमालेबाट नवलपुर क्षेत्र नम्बर २ (२)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा उनी ४ महिना ११ दिन स्वास्थ्य मन्त्री बनेका थिए।
२०८३ साल वैशाख २ गते मन्त्री भएका उनी एमालेले सरकार छाडेर फिर्ता बोलाएसँगै गत भदौ १० गते राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए।
पोखराबाट प्रसारण हुने ‘गण्डकी छड्के’मार्फत सार्वजनिक श्रव्य दृश्यमा मन्त्री पाण्डे, मन्त्रालयका सचिव बसौला र मन्त्रीका स्वकीय सचिव पौडेल मिलेर अस्पताल स्तरोन्नति नवीकरण गर्न ३० लाख मागेको खुलेको छ।
५० शय्याको अस्पताललाई स्तरोन्नति गरेर एक सय शय्याको बनाए पनि त्यसको नवीकरण गर्न अस्पतालसँग रकम मागेको उल्लेख छ। ६ महिने परीक्षण कालका लागि एक वर्षअघि नै १ सय शय्याको अनुमति पाएको सो अस्पतालको नवीकरणका लागि भने विभिन्न कागजात नपुगेको भन्दै ६–७ महिनादेखि नवीकरण फाइल अड्काइएको थियो।
अस्पताल स्रोत भन्छ,‘नवीकरणका लागि पटक÷पटक ताकेता गर्दा मन्त्री, सचिव र स्वकीय सचिवले घुस मागेका हुन्।’
आर्थिक लेनदेनको सुरुवात स्वयम् मन्त्रीले गरेको श्रव्य दृश्यमा पाइन्छ। मन्त्री क्वार्टर भएको डिलमा उनले भनेका छन्,‘ल अब ३० लाखमा पक्का भयो, बाँकी कुरा मेरो स्वकीय सचिव यादव पौडेलसँग गर्नू।’
त्यसपछि अस्पतालका अध्यक्ष यादव गौतमसँग मन्त्रीका स्वकीय सचिव यादव पौडेलले डिल गर्न थाल्छन्। डिलमा स्वकीय सचिव पौडेलले ३० लाख माग्छन् भने अस्पतालका अध्यक्ष गौतमले २० लाखबाट बार्गेनिङ गरेका छन्।
तर बिचमा २५ लाखमा कुरा मिलेको फोन संवादले पुष्टि गर्छ। श्रव्य दृश्यमा अध्यक्ष गौतम भन्छन्,‘२० लाख लिएर आउँ ? जवाफमा स्वकीय सचिव भन्छन्, पहिले भनेकै जति लिएर आउनू, गौतम फेरि भन्छन्, कति २५ लाख ?, पौडेल भन्छन्, हुन्छ पहिलेकै डिल अनुसार।’ तर यो डिल अगाडि नै १० लाख रकम क्यास लगेको पनि स्रोत बताउँछ। तर त्यसको औपचारिक पुष्टि भइसकेको छैन।
पच्चीस लाखमा कुरा मिलेपछि अस्पताल अध्यक्ष गौतमले नवीकरण प्रमाण पत्र लिएर आउन र पैसा लैजान आग्रह गर्छन्। त्यसका लागि आफूले स्टाफलाई पठाउने बताउँछन्।
जवाफमा स्वकीय सचिव पौडेलले स्टाफ पठाउँदा घटना सार्वजनिक हुनसक्ने भन्दै अध्यक्ष गौतम स्वयमलाई आउन आग्रह गर्छन्। सार्वजनिक श्रव्य दृश्यमा देखिन्छ,‘पैसा म क्यास नै लिएर आउँछु। तपाईं चाहिं कार्यालयबाट सबै काम सकेर नवीकरणको कागजात लिएर यतै आए हुन्न ? पौडेल भन्छन्, त्यहाँ अलि अप्ठ्यारो हुन्छ तपाईं नजिक आउनुस्, मेरो अफिस तिरै।’
घुस लेनदेनको डिल गरेका स्वकीय सचिव पौडेलले मन्त्रीकै निर्देशन अनुसार आफूले अस्पतालसँग रकम लेनदेनको डिल गरेको बताएका छन्।
‘मन्त्रालयका सचिवले पैसाको डिल गरेको र सोही अनुसार तिमिले पनि अस्पताल सञ्चालकसँग डिल गर्नु भनेर मन्त्री पाण्डेले भनेकाले मैले आर्थिक लेनदेनको डिल गरेको हुँ’,उनले अगाडि थपे,‘तर डिल गरे पनि पैसा भने आफूले नलिनू भनेकाले पैसा लिइनँ।’
उनका अनुसार अस्पतालले मापदण्ड पूरा गरेकाले नवीकरण गराउनका लागि मात्रै रकम लेनदेनको डिल गरिएको हो। उनले श्रव्य दृश्यमा भनेका छन्,‘मन्त्री ज्यूले यस्तो यस्तो डिल भएको छ, त्यसै अनुसार डिल गरेर अगाडि कागजात बढाउनु भन्नु भएअनुसार मैले गरेको हुँ।’
रोकिएको नवीकरण कागजात अगाडि बढाएर काम फत्ते गर्नका लागि मात्रै आफूले रकमको डिल गरेको उनको जिकिर छ।
स्वकीय सचिव पौडेलकै जस्तो तत्कालीन मन्त्री पाण्डेले पनि आर्थिक लेनदेनको डिल भए पनि घुस नलिएको दाबी गरे। सचिव बसौलाले पैसाको डिल गरेको थाहा पाएपछि आफूले स्वकीय सचिवलाई आर्थिक लेनदेनको डिल गर्न अह्राएको मन्त्री पाण्डेको भनाई छ।
‘मैले कागजात अगाडि बढाउनका लागि डिल गर्न भनेको हुँ’,उनले भनेका छन्,‘तर आफूले पैसा नलिनू भनेको थिएँ, त्यही अनुसार पैसा नलिई फर्केछन्।’
उनले यसो भने पनि उनका स्वकीय सचिव यादव गौतम पौडेलको नाममा अस्पतालको खाताबाट २५ लाखको चेक काटिएको पाइएको छ। जुन श्रव्य दृश्यमासमेत देखाइएको छ।
घुस काण्डमा मुछिएका मन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेलले आर्थिक लेनदेनको मुख्य नाइके मन्त्रालयका सचिव युवानिधि बसौला भएको आरोप लगाएका छन्।
मन्त्री पाण्डेले भनेका छन्,‘सबै मापदण्ड पूरा गर्दा पनि सचिव ज्यूले फाइल रोकेर आर्थिक लेनदेनको डिल गर्नु भएको रहेछ, त्यो थाहा पाएपछि मैले नै सचिव ज्यूले भने अनुसार नै डिल गरेर नवीकरण गरिदिनू भनेको हुँ।’ अर्थात् घुस मागेको सचिव बसौलाले हो र सो रकम सचिव बसौलाले नै लैजाने गरी मागिएको हो।
स्वकीय सचिव पौडेलले पनि मन्त्रालयका सचिव बसौलाले २५ लाख नभई नवीकरण गर्न सकिँदैन भनेर भन्नुभए अनुसार डिल गरेको बताए। ‘सचिव ज्यूले रकम नलिई नवीकरण गर्दिन भन्दै म्यासेज गर्नुभयो’,उनले भने,‘उहाँकै लागि रकम मागिदिएको हुँ।’
अस्पताल सञ्चालक समितिका अध्यक्ष गौतमले पनि मन्त्री र स्वकीय सचिवले पैसा नलिएको बताए। तर मन्त्रालयका सचिव बसौलाले रकम नदिएसम्म दुःख दिएकाले आर्थिक लेनदेनको कुरा गर्न बाध्य भएको बताए।
‘हामीले सबै मापदण्ड पूरा गरेर नवीकरणका लागि आग्रह गर्दा पनि फाइल रोकियो,उनले अगाडि भनेका छन्’,‘मैले त्यत्रो बाइपास गरेर तपाईंको काम गर्दै छु, त्यसैले पैसा नभई म काम गर्दिनँ भन्नुभयो। मलाई यति चाहिन्छ कि चाहिन्छ भनेर भन्नुभयो।’
उनले आफूलाई मात्रै नभई अन्य धेरैलाई यसरी नै फाइल अड्काएर घुस मागेर दुःख दिने गरेको उनको आरोप छ। सचिव बसौलामाथि कारबाही हुनै पर्ने भन्दै उनले अगाडि थपे,‘सचिव ज्यूले मैले अरूलाई पनि दिनुपर्छ भनेर माग्नु भएको हो।’
मन्त्रालयका सचिव बसौलाले भने घुस खाएको प्रमाणित गर्न चुनौती दिएका छन्। सोही श्रव्य दृश्यमा उनले आफूले कसैसँग घुस नमागेको दाबी गर्दै उनले भनेका छन्,‘नखाको विष त लाग्दैन होला, कानुनसम्मत नै गरेको छु।’
विवादमा आएपछि सचिव बसौला अहिले कार्यालय जान छाडेका छन्। उनले बिरामी बिदा लिएर घरमै आराम गरेर बसेको बताएका छन्।
यसैबिच, नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले घुस काण्डको निष्पक्ष छानबिन गर्न ३ सदस्यीय छानबिन समिति बनाएको छ। संसदीय दलकी प्रमुख सचेतक देवका पहारीको संयोजकत्वमा प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ र एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी सदस्य रहेको छानबिन समिति एमालेले बनाएको हो।
समितिलाई १५ दिन भित्रमा घुस काण्डको सत्य तथ्य छानबिन गरी प्रतिवेदन बनाउन भनिएको छ ।
प्रकाशित: ४ आश्विन २०८३ १७:२८ आइतबार





