८ वैशाख २०८१ शनिबार
प्रवास

विदेशबाट घर फर्काउने केहि उडान अनिश्चित केहि स्थगन

कोभिड १९ का कारण युएईमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको नेपाल एयरलाईन्सको पहिलो  २ उडान अनिश्चित बनेको छ । युएईको दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार र बिहिबार हुने भनिएको उडान रद्द भएको सूचना दूतावासले जारी गरेर एकैछिनमा हटाएपछि घर फर्किन हैसिएका नेपालीहरू निराश बनेका छन् ।

दूतावासले प्राविधिक कारण देखाउँदै असार २ र ४ गते हुने भनिएको उडान रद्द भएको सूचना जारी गरेको थियो । आईतबार साँझ जारी गरिएको उक्त सूचना केही मिनेटमै दूतावासको फेसबुक पेजबाट हटाईएको थियो ।  

नेपाली दूतावास युएईकी नियोग उपप्रमुख एवं प्रवक्ता रिता धितालले प्राविधिक त्रुटिका कारण त्यस्तो सूचना सार्वजनिक भएको बताउँदै अहिलेसम्म उडान रद्द नभएको बताईन । नागरिक संग कुरा गर्दै धितालले भनिन्, ‘दूतावासले प्राथमिकतामा परेका नेपालीहरूलाई तोकिएकै मितिमा उडाउने कोशिश गरिरहेको छ ।’ यद्यपि प्राविधिक कारणले मंगलबारको उडान अनिश्चित बनेको स्विकार्दै धितालले आज विज्ञप्ति निकालेर यस विषयमा स्पष्ट पार्ने जानकारी दिईन ।  

यस अघि असार ३ गते बहराईनदेखि हुने भनिएको उडान समेत स्थगन भएको थियो । उक्त उडान असार ७ गते हुने बहराईन स्थित नेपाली दूतावासले जनाएको छ । यस्तै आज साउदीको दमामबाट हुने भनिएको हिमालय एयरलाईन्सको पहिलो उडान पनि रद्द भएको छ । रियादस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै आगामी उडानको बारेमा सूचना जारी गरेर जानकारी गराउने जनाएको छ ।

असार ६ र ९ गते युएईको राजधानी अबुधाबीबाट हिमालय एयरलाईन्सको ए ३२० न्यारो बडि विमानले उडान भर्दैछ । यी दुई उडानबाट करिब तीन सय नेपाली स्वदेश फर्कीने दूतावासले जनाएको छ । दूतावासबाट प्राथमिकतामा परेका यात्रुहरूको नाम उपलब्ध हुनासाथ टिकट बुकिङ खुला गर्ने हिमालय एयरलाईन्सकी सेल्स मेनेजर गिता बिष्टले नागरिकलाई बताईन ।

प्रकाशित: १ असार २०७७ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App