८ वैशाख २०८१ शनिबार
प्रवास

दुवईमा नेपाली स्वयंसेवकहरुले देखाएको आत्मीयता

युएई- कोरोना भाईरसको प्रकोप बढेसंगै बद्लिएको दैनिकी, अन्य बेला सधैं व्यस्त रहने सुनसान सडक , अस्थाई रुपमा बन्द गराईएका बडेमानका मलहरु , सिनेमा हल , सार्वजनिक पार्क र सपिङ सेन्टरहरु। यी सबै सुनसान छन् अहिले व्यवसाय र पर्यटनको ग्लोबल हब मानिने दुबई शहरमा।

कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि स्थानीय प्रशासनले अप्रिल ४ देखि संचालन गरेको २४ घण्टे राष्ट्रिय निर्मलिकरण अभियानका कारण दुबई यतिबेला लकडाउन जत्तिकै भएको छ। बाटाघाटाहरु खालि छन् , अत्यावश्यक काममा बाहेक कोहि पनि घरबाहिर निस्कदैनन्। कोरोना भाईरसको फैलावाट रोक्न प्रहरीले पनि सक्रियता बढाएको छ। ठाउँठाउँमा प्रहरीले कोरोना भाईरसबाट जोगिन अपनाउनुपर्ने सावधानीहरु माईकिङ्ग गर्दै हिँडिरहेका छन्। कतै ड्रोनको प्रयोग गरिएको छ , कतै घोडाको , यस्तै – यस्तै।

यसैबिच अरु घरभित्रै बसिरहँदा स्वयंसेवक लेखिएको हरियो रिफ्ल्याक्टिभ भेष्ट , हातमा सेतो ग्लोभ्स , मुखमा मास्क र टाउकोमा सेतो क्याप लगाएका झन्डै एक दर्जन नेपाली स्वयंसेवकहरुको दल (एनआरएनए क्युआरएफ) भने साँझ बिहान समेत नभनी दुबई तथा यस आसपासका राज्यमा बसोबास गर्ने नेपालीहरुको आवास क्षेत्रमा धाईरहेका छ्न। उनीहरुको ध्येय भनेको समस्यामा परेका नेपालीहरुलाई उद्दार तथा सहयोग गर्नु हो।

कोरोनाको प्रकोपका कारण सकसपुर्ण बनेको दैनिकी , रोजगार गुमेर , तलब नपाएर , भिषा सकिएर र घर फर्किन नपाएर उदासीनता र चिन्ताले चाउरिएको नेपालीहरुको अनुहारमा राहतको लाली पोत्न डेढ सातादेखि नेपाली स्वयंसेवक दल खटिईरहेको छ।

झन्डै ३ लाख नेपाली बसोबास गर्ने युएईमा   आधा भन्दा बढि नेपाली दुबईमै बस्छन्। यिनै नेपालीहरुको आहतमा राहत दिन नेपाली स्वयंसेवकहरुको टोली भोकप्यास नभनी खटिरहेको छ। गएको अप्रिल १० तारिख स्थानीय प्रशासन (दुबई प्रहरी) बाट अनुमती पाएसंगै नेपाल एसोसिएसन – एनआएनए , आदिवासी जनजाती युवा महासंघ र शेर्पा किदुङ युएईका स्वयंसेवकहरु मैदानमा खटिएका हुन। यो टोलिसंग दुबई प्रहरीले उपलब्ध गराएको एउटा हटलाईन नम्बर समेत रहेको छ। जसमा युएईका सातैवटा राज्यमा रहेका नेपालीहरुले कोरोनाको लक्षण देखिए र आपतकालीन सहयोग चाहिए फोन गर्न मिल्छ।

अप्रिल १० तारिख स्थानीय प्रशासन (दुबई प्रहरी) बाट औपचारिक अनुमती लिएर एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली , एनसिसि युवा संयोजक मदन अधिकारी , एनसीसी सदस्य सुजन सापकोटा , रमेश गौतम , नेफिन युएईका टंक थापा मगर, नेपाल मगर संघ युएईकी सुनिता थापामगर , शेर्पा किदुंग युएईकी निमा ल्हमु शेर्पा , अमन थापा लगायतका नेपाली स्वयंसेवकहरु ४ वटा गाडी सहित मैदानमा खटिईरहेका छन्। जसको नेतृत्व एनआरएनएका उपाध्यक्ष पासाङ शेर्पाले गरेका छन्।

युएईमा नेपालीहरु समेत कोरोनाबाट संक्रमित बन्न थालेपछि उद्दार तथा सहयोगका लागि गएको अप्रिल ६ तारिख नै एनआरएनएले अध्यक्ष प्रकाश कोईरालाको संयोजकत्वमा यूएईका सातै राज्यमा संघका पदाधिकारी संयोजक रहने गरि क्षेत्रीय समिति परिचालन गरि राहत वितरणलाई तीब्रता दिइरहेको थियो। यसैबीच दुबई प्रहरीको समेत सहयोग मिलेपछि उद्दारमा जुट्न थप उत्साह मिलेको एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईराला बताउँछन्।

स्वयंसेवक दलले स्थानीय प्रशासनबाट अनुमती पाए लगत्तै नेपालीहरुको आवासमै गएर वस्तुस्थितिको अध्ययन थालेको थियो। पहिलो चरणमा घर फर्किन चाहने नेपालीहरुको तथ्यांक संकलन गर्न अनलाइन फारमको विकास गरेर घर फर्किन चाहनेहरुको तथ्यांक संकलन गरिएको एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईरालाले बताए। उनले अहिलेसम्म करिब ७ हजार जनाले उक्त फारम भरिसकेको जानकारी दिए। यहि तथ्यांकका आधारमा घर फर्किन चाहने नेपालीहरुलाइ घरफिर्तीको वातावरण बनाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने कोईरालाको भनाई छ।

बाहृ सयले पाए खाद्यान्न राहत

एनआरएनएको स्वयंसेवक दल मैदानमा उत्रिएको नवौँ दिनसम्म आईपुग्दा करिब बाहृ सय नेपालीलाई खाद्यान्न सहयोग गरिसकिएको स्वयंसेवक दलका सदस्य एवं एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खालीले जानकारी दिएका छन्।

स्वयंसेवक दलले रोजगार गुमाएका , तलब नपाएका र खाद्यान्न सकिएर भोकै बस्न बाध्य भएका नेपालीहरुको आवास स्थलमै गएर चामल , दाल , तेल , तरकारी लगायतका खाद्य सामाग्री सहयोग गर्दै आएको छ।

यसैबीच गत शुक्रबार कोठा भाडा तिर्ने पैसा नभएर पार्कमा सुत्न बाध्य ३८ जनाको टोलीलाई एक महिनाको कोठा भाडा सहित २ साताको खाद्यान्न सहयोग गरिएको स्वयंसेवक दलका एक सदस्यले जानकारी दिए।

एनआरएनएले सुरुवातमा ७ लाख नेपाली रुपैयाँ वरावरको कोष खडा गरि राहत वितरण थालेको थियो। अहिले उक्त कोषमा युएईमा रहेका नेपाली व्यवसायी तथा समाजसेवीहरुले समेत सहयोग गरिरहेका छन्। आर्थिक सहयोगको अलावा जिन्सी सामाग्रीहरु समेत सहयोग प्राप्त भईरहेको एनआरएनएले जनाएको छ।

नेपालीका लागि दुबई प्रहरीको हटलाईन

दुबई प्रहरीले आपतकालीन स्थितिमा रहेका नेपालीहरुलाई तत्काल सहयोग गर्न ०५२३८२४८३५ नंबरको हटलाई नम्बर उपलब्ध गराएको छ। यो हटलाईन नंबर २४ सै घण्टा नेपाली स्वयंसेवक दलसंग रहन्छ। कोरोना संग सम्बन्धित समस्या र आपतकालीन मेडिकल सहयोग चाहिएमा युएईका सातै राज्यमा रहेका नेपालीहरुले यो नम्बरमा फोन गर्न मिल्छ।

स्वयंसेवक दलले हटलाईनमा आएका कलहरुलाई दुबई प्रहरीसंग समन्वय गरेर तत्काल “रेस्पोन्स” गर्ने हटलाइनलाई व्यवस्थापन गरिरहेका सुजन सापकोटाले बताए। उनले हटलाईन संचालनमा आए यता कोरोनाको लक्षण देखिएका  ७ जनालाई एम्बुलेन्स पठाएर अस्पतालमा भर्ना गरिएको जानकारी दिए।

 

 

 

 

 

 

 

 

प्रकाशित: ७ वैशाख २०७७ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App