१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

सरकारको आग्रह लत्याउँदै संसदीय टोली खाडी भ्रमणमा

युएई - कोरोना भाइरस(कोविड–१९)को प्रकोप विश्वभर फैलिँदो छ। प्रकोप न्यूनिकरणका लागि विभिन्न देशहरुले सावधानीका उपायहरु अपनाई रहेका छन्। नेपालले पनि अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ। यस विषयमा सतर्कता अपनाउन सरकारले विभिन्न सूचनाहरु जारी गरेको छ।

तर सरकारले जारी गरेको अन्तर्राष्टिय भ्रमण सम्बन्धी सूचना विपरीत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका पदाधिकारी र राष्ट्रिय मानव अधिकार आयोगका अधिकारीहरुको टोली खाडी मुलुकहरूको भ्रमणमा छ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमल प्रसाद श्रीवास्तवसहित १० जनाको टोली गत सातादेखि अरब भ्रमणमा छन्।

खाडी मुलुकहरुमा कार्यरत घरेलु कामदारहरुको अध्ययन गर्न भन्दै निस्किएको संसदीय भ्रमण टोलीमा प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव,सदस्यहरु भीमसेनदास प्रधान , गोपालबहादुर बम, दूर्गाकुमारी विश्वकर्मा, प्रमोद साह, सूर्यनारायण यादव छन्।

यसैगरी संसद सचिवालयका कर्मचारीहरु उपसचिवद्वय शिवदत्त बराल र केशवराज सुवेदी राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदिप पाठक र शाखा अधिकृत रविलाल नेपाली पनि सांसदहरूको भ्रमण टोलीमा छन। भ्रमण टोलीले घरेलुु कामदारहरुको वस्तुस्थिति अध्ययन गर्ने भनिए पनि बास्तविक श्रमिसँग भेटघाट नै नगरेको यहाँ कार्यरत कामदारको गुनासो छ। टोलीले फाल्गुन १७, १८ र १९ गते ओमन भ्रमणमा रहँदा उच्च कुटनैतिक भेटघाटलाई मात्रै प्राथमिकता दिएको त्यहाँ कार्यरत नेपाली मजदुरहरुले बताए।

ओमानमा रहँदा संसदीय टोलीले ओमानको शुरा काउन्सिल (प्रतिनिधिसभा) का अध्यक्ष खालिद विन हिलाल अल मावली र स्टेट काउन्सिल (राष्ट्रियसभा) का अध्यक्ष माननीय याहृया विन महफौद अल मन्थरीसँग बेग्ला–बेग्लै द्वीपक्षीय भेटघाट गरेको थियो। भेटमा टोलीले त्यहाँको संसदको संरचना , संघीय व्यवस्था , प्रतिनिधित्व तथा संसदमा मौजुत समितिहरुको बारे जानकारी लिएको ओमनस्थित नेपाली दूतावासले जनाएको छ। टोलीले ओमनको मानव अधिकार आयोगका प्रतिनिधिहरुसंग समेत भेट गरेको र उक्त भेटमा राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदिप पाठकले सहकार्यका लागि एमओयु गर्न प्रस्ताव गरेको दूतावासले जनाएको छ।

भ्रमण टोलीले फाल्गुन २० देखि २३ सम्म साउदी अरबको भ्रमण गरेको थियो। भ्रमणका क्रममा सरकारी टोलीले साउदीमा कार्यरत नेपाली श्रमिकहरुसंग छलफल गरेको थियो। उक्त छलफलमा घरेलु महिला कामदारको सेवा, सुविधा र सुरक्षाको विषयमा टोलिको ध्यानाकर्षण गराइएको साउदीस्थित प्रवासी नेपाली समन्वय समितिका संयोजक नारायण पासवानले बताए। साउदीस्थित नेपाली समुदायका प्रतिनिधिहरुसंग भएको छलफलमा सहभागीले खाडीमा पुरुष कामदार नै असुरक्षित रहेकोले यहि स्थितिमा घरेलुु महिला कामदार ल्याउन नहुने सुझाव दिएको पासवानले जानकारी दिए।

साउदी अरेबियाको ३ दिवसीय भ्रमण सकाएर संसदीय टोली शुक्रबार साँझ युएई आइपुगेको छ। युएई भ्रमणका क्रममा टोलीले नेपाली समुदायका प्रतिनिधि तथा श्रमिकहरुसंग अन्तक्रिर्या गर्ने अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। यसैगरी युएईमा कार्यरत नेपालीहरुको मजदुर क्याम्प भ्रमण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ। ओमन, साउदी अरेबिया र युएईको भ्रमण सकाएर संसदीय टोली आगामी बुधबार नेपाल फर्कने कार्यक्रम रहेको छ।
यूएईबाट राजकुमार परियारको सहयोगमा

प्रकाशित: २४ फाल्गुन २०७६ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App