१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

अझै लाखौं नेपाली नागरिकता विहीन : उपप्रधानमन्त्री यादव

लन्डन- उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले विदेशमा बस्ने नेपालीको नागरिकता संविधानमै  सुनिश्चित भइसकेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले गैरआवासीयलाई संविधानले नै स्वीकार गरिसकेको र विदेशमा बस्ने नेपाली जन्मसिद्ध नागरिक भएकाले उनीहरुलाई अवमूल्यन गर्न नहुने बताए।

अल्डरशटमा आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘गैरआवासीय नेपालीहरु नेपालको ‘नेचुरल सिटिजन वाई ओरजिन’ हुन्। उनीहरु नेपाली नागरिक नै हुन, त्यसलाई अस्वीकार गर्न सकिन्न्।’ नेपालको तराई मधेसमा अझै लाखौं नेपाली नागरिकता विहीन रहेको भन्दै मन्त्री यादवले भने, ‘अहिलेसम्मको कानून र संवैधानिक व्यवस्थाले नेपालमै जन्मिएको नेपाली नागरिकको सन्तान गैरनागरिक बनेर बस्ने अवस्था छ। बाबुआमा नेपालमै जन्मेको व्यक्तिलेसमेत नागरिकता नपाउनेको संख्या लाखौं छ।’ उनले नेपालको राज्य व्यवस्थाले नै आफ्ना नागरिकलाई नचिनेर विदेशी भन्दै आएको दावी गरे। यादवले संसदमा दर्ता भएको नागरिकता सम्वन्धि विधेयकबाट सबै प्रकारका नागरिकताको समस्याको समाधान गर्न प्रयास गरिने बताए।

‘नागरिकता राष्ट्रियतासँग जोडिएको हुन्छ त्यसैले नेपाली संसारमा जहाँ भए पनि आफ्नो राष्ट्रिय पहिचान राख्न चाहान्छ भने नागरिकता दिन कन्जुस्याइँ गर्नु हुदैन’ यादवको तर्क थियो।

उनले भारत, चीन, क्यानाडा, इजरायल लगायतका देशका गैरआवासीय नागरिकले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै गैरआवासीय नेपालीले पनि देश विकासमा ठूलो भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए। उनले सिंगो मुलुकको विकासको लागि एक ढिक्का भएर लाग्न गैरआवासीय नेपालीलाई आग्रह गरे।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले नेपाल विभिन्न राजनैतिक व्यवस्थापनको लागि लामो समयसम्म बेथित भएको स्मरण गर्दै अब राजनीतिक व्यवस्थापन भइसकेको बताए। उनले राजनैतिक व्यवस्थापनसँगै आर्थिक विकास गरेर जनतालाई त्यसको अनुभूति दिन नसके प्राप्त राजनीतिक व्यवस्थापन समेत कमजोर हुने बताए। उनले संसारभर छरिएका नेपालीले आर्जन गरेको ज्ञान अनुभव, सिपलाई नेपाल निर्माणमा आवश्यकता भएको भन्दै त्यसलाई देश निमार्णमा एकीकृत गर्नुपर्नेमा जोड दिए। उनले विदेशमा बस्ने नेपालीलाई आर्थिक समाजिक विकासमा विदेशमा बस्ने नेपालीलाई सहकार्य गर्ननै गैरआवासीय नेपाली नागरिकतबारे संवैधानिक व्यवस्था गरिएको दावी गरे। उनले संविधानमा गरिएको व्यवस्थाका कुनै कन्जुस्याई नगरी नागरिकता ऐन बन्ने बताउँदै धेरै आशंका नगर्न आग्रह गरे।

संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले विदेशमा आर्जन गरेको ज्ञान र धन नेपालमा लगेर नेपालीको हितमा प्रयोग गर्नुपर्ने बताए।  राईले गैरआवासीय नेपाली संघले मागे बमोजिमको नागरिकता व्यवस्था संविधानले गरिएको बताए। उनले संविधान गतिशिल दस्तावेज भएको हुँदा अपुग भएका कुरा संविधानमा परिवर्तन गर्न सकिने विचार व्यक्त गरे। राईले भूतपूर्व गोर्खाको माग वार्ताद्वारा सम्वोधन भई समस्या समाधानतिर गइरहरेको प्रति खुशी व्यक्त गरे।

कार्यक्रमलाई सम्वोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले एनआरएनए युकेले नेपाली नेपाली बीचको एकताको महत्वपूर्ण काम गरिहेको बताए। उनले नेपाल सरकारले गैरआवासीय नेपाली संघ सहकार्य गरेर राष्ट्र निर्माणका लागि काँधमा काँधमा मिलाएर अघि बढी रहेको बताए। सुवेदीले नेपालमा पर्ने कष्ट र संकटको घडीमा बेलायतवासी नेपालीले सहयोग र सहानुभुति प्रदान गर्दै आएको भन्दै प्रशंसा गरे।

कार्यक्रममा गैरआवासीय नेपालीको नागरिकताको सुनिश्चिता र संसदमा दर्ता भएको नागरिकता सम्वन्धी विधयेकमा संशोधनको माग गर्दै गैरआवासीय नेपाली संघ युकेको तर्फबाट अध्यक्ष योगकुमार फगामीले मन्त्रीद्वयलाई ज्ञापनपत्र पेश गरेका थिए।

प्रकाशित: २६ आश्विन २०७५ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App