१९ असार २०८१ बुधबार
image/svg+xml
प्रवास

सार्कको गतिरोध राजनैतिक हो, राजनैतिक संवादबाटै अन्त्य गर्नुपर्छः अग्रवाल

२०१६ मा पाकिस्तानको इस्लामावादमा तय भएको सार्क शिखर सम्मेलन हालसम्म हुन सकेको छैन।त्यसयता दक्षिण एशियाली राष्ट्रहरुको सहयोग र सहकार्यको संगठन सार्कको शिखर सम्मेलन अनिश्चित छ। सार्कस्तरीय गतिविधिहरु पनि ठप्प नै देखिन्छन्। कतिपयले यस अवस्थालाई सार्क कोमामा पुगेको पनि भन्ने गरेका छन्। 

नेपाल अध्यक्ष राष्ट्र भएपनि उसले गतिरोध अन्त्यका लागि पहल गर्न सकिरहेको छैन। सार्क गतिरोध नहटे पनि यस अन्तर्गतका केही संस्थाहरुले भने त्यस्तो गतिरोध हटाउन पहल थालेका छन्। भारतको नयाँ दिल्लीमा रहेको साउथ एशियन युनिभर्सिटी सार्क अन्तर्गतको संस्था हो। 

पाकिस्तानको नेतृत्वमा रहेको विश्वविद्यालयको सञ्चालक समिति बैठक ६ वर्षपछि बस्न सफल भएको छ। विश्वविद्यालयले आफ्नो गतिरोध अन्त्य गरे जस्तै संगठनमा देखिएको गतिरोध अन्त्यका लागिसमेत भुमिका खेल्न तयार रहेको बताएको छ। 

युनिभर्सिटीका अध्यक्ष प्राध्यापक केके अग्रवालले सार्क अघि बढ्न नसक्नुमा राजनीतिक कारण रहेको बताए। यसका लागि राजनीतिक तहबाटै संवाद जरुरी रहेको पनि उनको भनाइ छ। 

सार्कको गतिविधि शुन्य हुनु भारतको उपेक्षा मात्र कारण नभइ समग्र दक्षिण एशियाको राजनैतिक नेतृत्व जिम्मेवार रहेको र  सार्क राष्ट्रका राष्ट्रप्रमुखहरु एउटै मञ्चमा उभिएमा मात्रै पनि जारी गतिरोध अन्त्य हुने बताए।

उनले भने, ‘भारतको दृष्टिकोणबाट (पाकिस्तानलाई अलग गर्न खोजिएको) जस्तो लाग्दैन। हाम्रो विश्वविद्यालयका अध्यक्ष पाकिस्तानका हुनुहुन्छ। हामीलाई यससँग कुनै समस्या छैन। हामी(नयाँ दिल्लीबाट) उहाँसँग नियमित संवादमा छौँ। पाकिस्तानबाट आउने विद्यार्थीका हकमा पनि हामी (विश्वविद्यालय) मा भारत पाकिस्तान सम्बन्धका कारण कुनै समस्या भएको मैले सुनेको छैन। सार्क राष्ट्रका राष्ट्र प्रमुखहरुबीच यसलाई पुनः सक्रिय बनाउन सोचिनु जरुरी छ। र सम्भवतः यसको समाधान नै यही हुनसक्छ।’

यस्तै, उनले सार्क शिखर सम्मेलन हुन नसकेको विषय राजनैतिक नै भएको तर्क गर्दै अध्यक्ष अग्रवालले एकै ठाउँमा सबै सदस्य उभिएर मात्र समाधान निस्कने उल्लेख गरे।

सार्क राष्ट्रहरु एकै ठाउँमा आउन नसक्दा आठ देश संलग्न विश्वकै पहिलो विश्वविद्यालय समेत समस्यामा परेको बताए। तर विश्वविद्यालयको निरन्तर प्रयासपछि ६ वर्षपछि गतिरोध अन्त्य गरेको र सार्क राष्ट्र प्रमुखहरुबीच संवाद गराउन पाउँदा आफूलाई भाग्यमानी ठान्ने उनी बताउँछन्। 

प्रकाशित: १६ जेष्ठ २०८१ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App