१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

टेक्सासमा दुई दिने यूनाईटेड नेप्लिज् कन्भेन्सन हुँदै

न्युयोर्क—अमेरिकामा हुँदै आए नयाँ ढंगले मे २७ र २८ मा युनाइटेड नेप्लिज एसोसिएसनको दोस्रो सम्मेलन टेक्सासमा हुने भएको छ। कार्यक्रमको उद्घाटन टेक्सासको अरबिड् सिटी मेयर रिक स्टोफर्डले गर्नेछन्।

अमेरिकामा रहेका नेपाली युवा तथा बालबालिकाहरुका लागि क्षेत्र र अवसरको संभावना, राजनीतिमा कसरी अमेरिकन समुदायमा आवद्ध हुने र अमेरिकामा पाउनसक्ने अवसरबारे दुई दिनसम्म विभिन्न कार्यपत्र र विषयबस्तुमा छलफल हुने एसोसियसनका अध्यक्ष पासाड शेर्पाले बताए। कार्यक्रमको सम्पुर्ण तयारी सकिएको बताउँदै यस कार्यक्रमले नेपाली समुदायलाई शिक्षामुलक बनाउने आयोजक यूएनएका अध्यक्ष शेर्पाले बताए।

आउँदो शुक्रबारदेखि आइतबारसम्म हुने युएनएको सम्मेलनले यसपटक युवालाई केन्द्रबिन्दूमा राखेको छ। अमेरिकामा अध्ययन गर्दै रहेका, हुर्कंदै गरेका नेपाली समुदायका बालबालिकादेखि लिएर युवाहरुलाई लक्षित गरेर यसपटक युएनएले कार्यक्रमलाई केन्द्रित गरेको हो। सन् २०१४ मा स्थापना भएको यो संस्थाको पहिलो सम्मेलन यस अघि लसएन्जलसमा भएको थियो भने यो दोश्रो सम्मेलन हो।

‘यो कार्यक्रम हामीले यही हुर्कंदै गरेका, यहीँ भविष्य बनाउने तयारीमा रहेका हाम्रा बालबालिकालाई केन्द्रित गरेकाले यो कार्यक्रमबाट नेपाली समुदायले लाभ हासिल गर्न सक्नेछ। त्यसका लागि संभावना र चुनौती केलाउन छलफल हुनेछ’, उनले भने। हुर्कंदै गरेका बालबालिकालाई ध्यान दिन सकिएन र उनीहरुको प्रतिभालाई उचित स्थान दिन सकिएन भने नेपाली समुदाय पछि पर्ने भएकोले यस पटकको सम्मेलनले युवा केन्द्रित गरिएको आयोजकले बताएका छन्।

तीन दिने सम्मेलनका क्रममा युवाहरुलाई ‘ट्यालेन्स शो’, युवा फोरम, साहित्य फोरम, डिजे नाइट, कन्सर्ट, फेशन शो, विभिन्न खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमहरु राखिएको छ। यी कार्यक्रमहरुले नेपाली युवाहरुलाई अमेरिकामा यहाँको समुदायसँग एकीकृत गराउने लक्ष्य भएकोले यस्ता कार्यक्रमले नेपाली समुदायलाई सहयोगी हुनेछ।

कार्यक्रम लागि नेपालबाट क्रिकेट खेलाडी पारस खड्का, नायिका नन्दिता केसी भिजे नग्मा श्रेष्ठ आउँदैछन्। अहिलेका चर्चित गायक हेमन्त राना पनि सम्मेलनमा सहभागी हुँदैछन्। त्यस्तै ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठ पनि सहभागी हुने निश्चित भएको आयोजकले जनाएका छन्। कार्यक्रममा ससाना बालबालिकाहरुलाई लक्षित गरेर स्पेलिङ टेस्ट, वक्तत्वकला प्रतियोगितासमेत सम्मेलनको क्रममा राखिएको छ । यी प्रतियोगितामा उत्कृष्ठ हुनेलाई एकहजार डलर राशीको नगद पुरस्कार दिइनेछ।

सम्मेलनको क्रममा झण्डै दुईहजार जनाको सहभागिता रहने अनुमान आयोजकले गरेका छन्। अमेरिकाको पूर्बी तटको न्यूयोर्कदेखि लिएर पश्चिम तटको क्यालिफोर्नियासम्मका नेपालीहरु सम्मेलनमा सहभागी हुन ड्यालस पुग्ने बताए। कार्यक्रम ड्यालसको डिएफडब्ल्यू एअरपोर्टबाट उत्तरतर्फ रहेको फोरप्वाइन्ट शेराटन होटलमा हुनेछ।

अमेरिकाका सरकारी निकायमा पुगेका नेपाली समुदायका सदस्यहरुलाई समेत निमन्त्रणा गरेर उनीहरुबाट सफलताका अनुभवहरु आदान प्रदान गर्ने कार्यक्रम राखिएको छ। अमेरिकामा सबैभन्दा बढी प्रगति गर्ने नेपाली समुदायको बसोबास गर्ने स्थान ड्यालस हो। युएनएले हरेक वर्ष ड्यालसमा यो सम्मेलन गर्ने लक्ष्य समेत लिएको छ। कार्यक्रमको क्रममा ब्लड डोनर्स अमेरिकाले रक्तदान कार्यक्रम समेत राखेको छ।

प्रकाशित: ११ जेष्ठ २०७४ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App