१२ मंसिर २०८१ बुधबार
image/svg+xml
प्रवास

जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

 जापान –  जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छिन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाइन्। 

'नेपाली आस्थालाई अन्य राष्ट्रले पनि अनुशरण गर्नुपर्छ' – राजकुमारी हिताची 

एसियाका उद्यमशील महिला सहकर्मी समाजले ४१ वर्षदेखि आयोजना गर्दै आएको एक दिवसीय च्यारिटी मेलामा प्रमुख अतिथिका रुपमा उपस्थित भएकी राजकुमारी हिताचीले कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालसंग नेपाल र नेपालीको शिर उच्च रहेको भन्दै प्रशंसा गरिन् । 

राजधानी टोकियो महानगरपालिकाको आकासाकास्थित इन्टरनेसनल होटलमा आयोजित एक मेलामा दौरा सुरुवाल र ढाका टोपी लगाएका नेपाली देखेर उनले नमस्ते अभिवादन गरिन् । २६ राष्ट्रका राजदूत र अधिकारीका बीचमा नेपालीप्रतिको विश्वास कुनै शब्दमा व्यक्त गर्न नसकिने उनले बताइन् । 

हिताचीले स्टलमा राखिएका नेपालीले बनाएका विभिन्न कलाका वस्तु, लत्ताकपडा, चिया तथा खानाको निरीक्षण गरिन् । नेपाली स्टलमा राखिएका सामग्री तथा विभिन्न वस्तुको अवलोकनपछि हस्तकलाका सामग्रीका कला र निर्मित वस्तुको अवस्थाबारे जानकारी गराइएको कार्यवाहक राजदूत अर्यालले बताए। 

अर्यालका अनुसार अवलोकनपछि राजकुमारी हिताचीले दुई शताब्दीअघि नेपालको राजकीय भ्रमणका क्रममा पोखराको पर्यटकीयस्थल, प्राचीन काठमाडौँ र प्यागोडा शैलीमा निर्मित मन्दिर र गौतम बुद्धको जन्मस्थल लुम्बिनीको स्मरण गर्दै हाल कस्तो अवस्थामा छन् ? भनी जिज्ञासा राखेकी थिइन् । 

सो अवसरमा नेपाली कार्यवाहक राजदूत अर्यालले राजकुमारीलाई मायाको चिनोस्वरुप चाँदीको करुवा प्रदान गरेका थिए । राजकुमारीले मेलामा अन्य स्टलमध्ये ममता रहेको भन्दै नेपाली चाँदीको गहना खरिद गरिन् । ५० भन्दा बढी स्टलमध्ये नेपाली राजदूतावासका तर्फबाट हस्तकला सामग्रीअन्तर्गतका पश्मिना, नेपाली चिया र खानासहितका दुई स्टल मेलामा राखिएको थियो । 

नेपाली स्टलमा राखिएका हस्तकलाका सामग्रीअन्तर्गत पस्मिनामा सजाइएका वस्तु र चाँदीका गहनामा राजकुमारी हिताची आकर्षित देखिइन्। अवलोकनका क्रममा नेपाली हस्तकलाका सामानमा विशेष चासो राखेकी राजकुमारी हिताचीले नेपाली आस्थालाई अन्य राष्ट्रले पनि अनुशरण गर्नुपर्नेसमेत बताएकी थिइन् । मेलामा नेपाली सामग्रीको ५० हजारभन्दा बढीले अध्ययन अवलोकन गरेको बताइएको छ । रासस 

प्रकाशित: ७ वैशाख २०७४ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App