८ वैशाख २०८१ शनिबार
प्रवास

अख्तर र क्वात्रा उच्चस्तरीय भेटघाटमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै शक्तिराष्ट्रका प्रतिनिधिहरू एकपछि अर्को गर्दै काठमाडौं उत्रिने क्रमले निरन्तरता पाएको छ। नयाँ निर्वाचनपछि दाहाल तेस्रोपटक सरकारको नेतृत्वमा पुगेसँगै छिमेकी तथा मित्रराष्ट्रका प्रतिनिधिहरू काठमाडौं आउने क्रमले निरन्तरता पाएको हो।

सोही क्रममा सोमबार मात्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन्। बिहान काठमाडौं आइपुगेका उनले दिनभरिमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री दाहाल, परराष्ट्रमन्त्री विमला पौड्याल राईसहित विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन्। बुधबार स्वदेश फर्कने उनले दुई पक्षीय सम्बन्धसहित पछिल्लो राजनीतिक अवस्थाबारे विभिन्न पक्षसँग भेटघाट गर्ने कार्यक्रम छ। नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा काठमाडौं आएका क्वात्रालाई सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले भेट दिएका छन्। त्यसक्रममा उनीहरूबीच ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षाका साथै संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यबारे छलफल भएको जनाइएको छ।

विदेश सचिवले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रण दिने आकलन गरिएको थियो। तर प्रधानमन्त्रीनिकट स्रोतले भेटका क्रममा भारत भ्रमणका लागि आधिकारिक निमन्त्रणा नदिएको दाबी गरेको छ। ‘भ्रमणका लागि भारतीय विदेश सचिवले प्रधानमन्त्रीलाई निम्ता दिएजस्तो लाग्दैन,’ निकट स्रोतले भन्यो। नेपाल–भारत सीमा समस्यासहितका विषयमा प्रधानमन्त्री दाहालले विदेश सचिवसँग चासो राखेको स्रोतको दाबी छ। परराष्ट्रमन्त्री पौड्यालले भैरहवास्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटबारे समेत छलफल भएको स्रोतको दाबी छ। उनले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन्। भेटका क्रममा दुई देशबीचको पारस्परिक हितका विभिन्न विषयमा छलफल गरेको देउवाले सामाजिक सञ्जालमा लेखेका छन्। ‘जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउनेछौं,’ उनले ट्विटरमा लेखेका छन्, ‘हाम्रो साझा लक्ष्य भनेको हाम्रा जनताको हितमा नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउनु हो।’

सोमबार नै दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर पनि काठमाडौं आइपुगेकी छन्। दुई दिन काठमाडौं बसाइका क्रममा अख्तरले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नका साथै नेपाली सेनाका अधिकारीहरूलाई भेट्ने कार्यक्रम छ। अमेरिकी दूतावासका अनुसार उपसहायक विदेशमन्त्रीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारहरूसँग छलफल गर्ने कार्यक्रम छ। ‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्नुहुनेछ,’ दूतावासले जनाएको छ।

अख्तरपछि अर्को साता फेरि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार नेपाल भ्रमणमा आउनेछिन्। यसअघि माघ २४ गते अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) प्रमुख समान्था पावर काठमाडौं आएर माघ २५ स्वदेश फर्केकी थिइन्। माघ १६ र १७ मा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आएकी थिइन्। अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघ (इयु) की आयुक्त जुटा उर्पिलाइनेन पनि माघ २५ काठमाडौं आइपुगेकी थिइन्। नेपाल भ्रमणका क्रममा संयुक्त अधिराज्य (बेलायत) का रक्षामन्त्री एन्ड्र्यु मोरिसन माघ २५ गते काठमाडौं आएर उच्चस्तरीय भेटघाटसहित दुई पक्षीय सम्बन्धबारे कुरा गरेका थिए।

प्रकाशित: २ फाल्गुन २०७९ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App