इतिहास आफैँ बन्दैन, इतिहास बनाउन वर्षौँको संघर्ष, निरन्तरता र अटल विश्वास आवश्यक पर्छ। मानिसहरूले आज झापाको बिर्तामोड–१ मा बनेको भव्य नाटक घर देख्छन्, अन्तर्राष्ट्रिय सम्मानका समाचार पढ्छन् वा क्षितिज नाट्य प्रतिष्ठानको नाम सुन्छन्। तर त्यो सफलताको उज्यालो पछाडि दशकौँसम्मको अभाव, अस्वीकार, अपमान, त्याग, समर्पण र अनवरत संघर्षको लामो यात्रा लुकेको छ।
विक्रम संवत् २०५८ सालमा स्थापना भएको क्षितिज नाट्य समूह कुनै सम्पन्न संस्था थिएन। केही सपना बोकेका युवाहरूले समाज परिवर्तनमा कला र संस्कृतिको शक्तिमा विश्वास गर्दै सुरु गरेको एउटा सानो अभियान थियो। त्यसबेला न स्रोत थियो, न पूर्वाधार, न आर्थिक बल। थियो त केवल कला, समाज र परिवर्तनप्रतिको अटुट विश्वास।
हाम्रो यात्रा पाँचथरको फिदिमबाट सुरु भयो। सडक नाटक, रेडियो नाटक र मञ्चीय प्रस्तुतिमार्फत गाउँका चौतारी, बजारका चोक, विद्यालयका प्राङ्गण र खुला सडकहरू नै हाम्रो रंगमञ्च बने। दर्शक नै हाम्रो प्रेरणा र शक्ति बने। त्यही सडकले हामीलाई सिकायो-कला केवल मनोरञ्जनको माध्यम होइन, समाज परिवर्तनको प्रभावकारी साधन पनि हो।
सुरुवाती चरणदेखि नै क्षितिजले जिल्ला, अञ्चल र क्षेत्रीय नाट्य अभियानहरूमा सक्रिय भूमिका खेल्यो। २०५८ सालमा विराटनगरमा आयोजित रमपम नाट्य महोत्सव र २०५९ सालमा धरानमा सम्पन्न पूर्वाञ्चल राष्ट्रिय नाट्य महोत्सवमा सहभागिताले पूर्वी नेपालको उदीयमान नाट्य संस्थाका रूपमा क्षितिजलाई स्थापित गरायो।
२०६४ साल हाम्रो यात्राको ऐतिहासिक मोड बन्यो। आरोहण गुरुकुलको प्रतिष्ठित मञ्चमा राष्ट्रस्तरीय नाटक प्रस्तुत गर्ने अवसर प्राप्त भयो। त्यो प्रस्तुति केवल एउटा नाटक थिएन; पाँचथरको माटोबाट उठेको एउटा सशक्त सांस्कृतिक आवाज थियो, जसले राष्ट्रिय रंगमञ्चमा हाम्रो पहिचानलाई अझ बलियो बनायो।
त्यही वर्ष संविधानसभा निर्वाचनका क्रममा लोकतान्त्रिक मूल्य, मतदान प्रक्रिया र नागरिक सचेतनासम्बन्धी झापा, इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानमा १२० भन्दा बढी सडक नाटक मञ्चन गर्ने अवसर प्राप्त भयो। यस अभियानले कला सामाजिक परिवर्तन र नागरिक शिक्षाको प्रभावकारी माध्यम बन्न सक्ने प्रमाणित गर्यो।
समयसँगै क्षितिजको अभियान विस्तार हुँदै गयो। पूर्वाञ्चलभरि १८ वटा शाखा तथा उपशाखा स्थापना भए। बाल, युवा र ज्येष्ठ कलाकार गरी ५५२ भन्दा बढी प्रतिभाहरू एउटै सांस्कृतिक परिवारमा आबद्ध भए। "क्षितिज जस्तै अनन्त" भन्ने दृष्टिसहित संस्था पूर्वी नेपालको अग्रणी नाट्य आन्दोलनका रूपमा विकसित भयो।
यस अवधिमा "कुरा अर्को छ" र "बिहानी" जस्ता टेलिचलचित्र निर्माण गरिए। सामाजिक चेतना, संस्कृति र समसामयिक विषयवस्तुमा आधारित यी सिर्जनाले हिमशिखर टेलिभिजन, सूर्योदय टेलिभिजन हुँदै नेपाल टेलिभिजनसम्म स्थान पाए। यसले देखायो-गाउँबाट सुरु भएको एउटा सपना राष्ट्रिय सञ्चारमाध्यमसम्म पुग्न सक्छ, यदि त्यसमा निरन्तरता, मेहनत र समर्पण छ भने।
तर हाम्रो सबैभन्दा ठूलो सपना अझै अधुरो थियो, झापामा आफ्नै नाटक घर निर्माण गर्ने।
यो सपना कुनै एक धनी व्यक्तिको लगानीले साकार भएको होइन। यो हजारौँ नागरिकको विश्वास, सहयोग र अपनत्वले बनेको सपना हो। हामी गाउँ–गाउँ, टोल–टोल र घर–घर पुग्यौँ। "एक इट्टा सहयोग गरिदिनुहोस्" भन्ने अभियान लिएर सडकमा निस्कियौँ। कतै सम्मान पाइयो, कतै उपहास सहनुपर्यो। कतै सहयोगका हात बढे, कतै ढोका बन्द भए। तर हाम्रो विश्वास कहिल्यै डगमगाएन।
२०७४ सालदेखि सुरु भएको बहुजातीय सांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण अभियान २०८१/८२ सम्म आइपुग्दा ऐतिहासिक उपलब्धिमा परिणत भयो। सर्वसाधारण नागरिकबाट सडकमा १५ रुपैयाँको एक थान इट्टाका रूपमा संकलित सहयोगले करिब साढे तीन करोड रुपैयाँ बराबरको नाटक घर निर्माण सम्भव भयो। यो भवन केवल इँटा, सिमेन्ट र रडले बनेको संरचना होइन; यो नेपाली समाजको सामूहिक विश्वास, सांस्कृतिक चेतना र सहकार्यको जीवन्त प्रतीक हो।
यस अभियानमा सडकदेखि सदनसम्म आवाज उठाइयो। कलाकार, साहित्यकार, अभियन्ता, किसान, मजदुर, विद्यार्थी, व्यापारी, शुभेच्छुक र सर्वसाधारणको पसिनाले यो सपना साकार भयो। त्यसैले यो नाटक घर कुनै व्यक्ति वा संस्थाको निजी सम्पत्ति होइन, सम्पूर्ण समाजको साझा गौरव हो।
यसै समर्पण र सांस्कृतिक योगदानको कदर गर्दै ८ मार्च २०२६ मा भियतनाम सरकारले संस्थाका संस्थापक तथा अभियन्ता माधब कल्पितलाई दानाङ सहरमा आयोजना गरिएको विशेष कार्यक्रममा नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणमा पुर्याएको योगदानको सम्मानस्वरूप अन्तर्राष्ट्रिय सम्मान प्रदान गर्यो। यो सम्मान कुनै एक व्यक्तिको उपलब्धि मात्र थिएन; नेपाली रंगमञ्च, नेपाली कलाकार, झापा र सम्पूर्ण नेपालको सांस्कृतिक पहिचानप्रतिको सम्मान थियो।
तर हाम्रो यात्रा यतिमै टुंगिएको छैन।
अब हाम्रो अर्को लक्ष्य अझ व्यापक छ-बहुजातीय सांस्कृतिक संग्रहालय निर्माण। जहाँ नेपालका सबै जातजाति, भाषा, कला, संस्कृति, लोकपरम्परा, इतिहास र जीवनशैलीलाई संरक्षण र पुस्तान्तरण गरिनेछ। साथै कलाकारलाई सिर्जनामात्र होइन, व्यवसाय र आत्मनिर्भरतासँग जोड्दै "कलाबाट कलाकार बचाउने" अभियानलाई नयाँ उचाइमा पुर्याइनेछ।
हामी विश्वास गर्छौं, कला मञ्चमा सीमित हुनु हुँदैन। यसले समाजलाई जोड्नुपर्छ, इतिहास जोगाउनुपर्छ, संस्कृतिलाई पुस्तान्तरण गर्नुपर्छ, नयाँ पुस्तामा पहिचानप्रतिको गर्व जगाउनुपर्छ र राष्ट्र निर्माणको अभियानमा सक्रिय भूमिका खेल्नुपर्छ।
आज पनि हाम्रो संघर्ष जारी छ। सपना अझै बाँकी छन्। हामीलाई अझै धेरै इट्टा जोड्न बाँकी छ। नाटक घर निर्माणपछि पनि सांस्कृतिक संग्रहालय निर्माणका लागि "एक धुर भूमिदान" अभियानमार्फत प्रतिष्ठानले हालसम्म १४५ धुर जग्गा आफ्नो नाममा ल्याउन सफल भएको छ। अब हामी भवनका मात्र होइन, चेतनाका इट्टा जोड्ने यात्रामा छौँ। अब पर्खाल होइन, पुस्तालाई जोड्ने विश्वास निर्माण गर्ने अभियानमा छौँ।
क्षितिज नाट्य प्रतिष्ठानको इतिहास एउटा संस्थाको कथा मात्र होइन। यो हजारौँ नागरिकको विश्वास, कलाकारहरूको समर्पण, संस्कृतिप्रतिको प्रेम र सामूहिक संघर्षबाट लेखिएको नेपाली सांस्कृतिक आन्दोलनको जीवित दस्तावेज हो।
एक इट्टाबाट सुरु भएको अभियान आज कोशी प्रदेशकै रंगमञ्चीय इतिहासको एउटा महत्वपूर्ण अध्याय बनेको छ। अब यही इतिहासलाई भविष्यका पुस्ताका लागि प्रेरणाको उज्यालोमा रूपान्तरण गर्नु र यसलाई अझ समृद्ध बनाउँदै लैजानु हामी सबैको साझा जिम्मेवारी हो।
कल्पित क्षितिज नाट्य प्रतिष्ठान, झापाका अध्यक्ष हुन् ।
प्रकाशित: २२ असार २०८३ १५:४५ सोमबार





