...
भूइँचालोपछि रसुवाको धुन्चेपारी हाकु गाउँका स्कुले भाइबहिनीहरु सदरमुकाममा विस्थापित भइ अस्थायी स्कुल र छात्रावासमा बसिरहेका छन्। एक युवा नावाले ती भाइबहिनीलाई केही सहयोग गरिदिन अनुरोध गर्नुभयो। संघर्षका बावजुद भविष्यका सपना साँच्दै स्कुल गइरहेका ती भाइबहिनीलाई शैक्षिक अभियान्तताको नाताले त्यहाँ पुग्न हुटहुटी चलिरहेको थियो। चौतारापछि सिधा त्यही जाने सोँच बनाएको थिएँ। मेरो लागि सिलसिला दिदी भगवान भएर आइदिनुभयो। उहाँ पनि काम विशेषले धुन्चले जान लाग्नुभएको रहेछ।
शनिबार ४ घण्टापछि धुन्चे पुगियो। हाकुका भाइबहिनी भेट्न म आतुर थिएँ। पारिपट्टि लाङटाङ नियाल्दै, चिसो हिमाली सिरेटोलाई चिर्दै धुन्चे बजारको पल्लो छेउमा रहेछ रसुवा माध्यामिक विद्यालय पुगेँ। शनिबार भएकाले स्कुल छुट्टि थियो। त्यसपछि स्थानीय युवा सुनील घलेको सहयोगमा हाकुका भाइ बहिनीलाई भेट्न अस्थायी स्कुलतर्फ लागेँ।
....
लाङटाङ हिमालको प्रकटताले मनमोहक बनाएको मलाई भाइबहिनीको अवस्था देखेर दुःखी बनायो। भनिन्छ, हिमाल सिधै देख्ने ठाउँमा धेरै जाडो हुन्छ। धुम्मिएको दिन, त्यसमाथि हिमाली जाडो र जस्तापाता र बाँसको सानो टहरोमा कक्षाकोठा बनाइएको रहेछ। जाडोयाममा चिसिने जस्तापाता र त्यसभित्र सुन्दर भविष्यको सपनामा तल्लीन भाइबहिनीहरु सर्ट पाइन्टमा कक्षाकार्य गरिरहेका थिए। मलाई जाडोमा वातानुकूलीत यन्त्र चलाएर अझ चिसो बनाएको महसुस भयो। मैले आफ्नो परिचय सुनाएँ।
तिम्रो नाम के हो?
रस्मी तामाङ, कक्षा १० मा पढ्छु।
उनीहरुबारे पहिल्यै थाहा भएर अन्य कुरा सोधें।
'तिमीहरुको गाउँको अवस्था कस्तो छ?'
'दाइ भूइँचालोपछि गाउँमा बस्न सकिएन। घर, स्कुल सबै भत्कियो। त्यसमाथि आगलागी पनि भयो। गाउँमा केही छैन। हामी २६ जानाचाहिँ यतै पढ्न बसेको। दाउराको समस्या छ। दुखः भए पनि चल्दैछ।' सानी बहिनीले केही गम्भीर भएर थपिन्, 'गाउँमा भूइँचालोले सबै भत्किएपछि आधा विद्यार्थी गाउँमा आधा धुन्चेमा गरी ३ वटा विद्यालयका हामी डेढ सयभन्दा बढी यहाँ छौं।' पारीपट्टिको आफ्नो गाउँतिर उसले देखाउँदा मैले जताततै सुख्खा पहिरो मात्र देखेँ।
त्यतिकैमा सँगैको अर्को भाइले केही कुरा भन्न खोज्यो।
'दाइ, एसएलसी आउँदैछ। पढ्ने कापी किताब, क्यालकुलेटर, कलम केही पनि छैन्। भूइँचालोपछि घरमा ठूलो आर्थिक समस्या छ। तातो लुगा छैन। अहिलेको अस्थायी छात्रवासमा हामी सबै पालैपालो सुत्छौं। खानेकुरा गाउँलेहरु मिलेर जुटाइदिएका छन्, चामल सकिन लागेको छ। पानी परेको बेला अस्थायी छात्रावास चुन्हिन्छ, जाने ठाउँ काहीँ हुँदैन।'
ऊ यतिकैमा रोकिएन- 'त्यो क्विसन व्याङ्क क के भन्ने हुन्छ रे, त्यो किन्ने पैसा पनि छैन। एसएलसी नजिकै आइसक्यो, पारिवारिक स्थिति नाजुक छ। सक्नुहुन्छ भने न्यानो लुगा र पढ्ने सामानहरु सहयोग गर्दिनुहोला।'
उसले मलाई नजिकैको मानिस सम्झियो सायद वा समस्याको सम्बोधन गरिदिने सरकारी अधिकारी, मनबाट सबै कुरा सेयर गर्योा। मलाई विद्यालय पढ्दाका दिनहरु झलझली याद आए। कुनै बेला ताप्लेजुङको दुर्गम गाउँमा त्यस्तै सरकारी विद्यालय पढी एसएलसी दिँदा मलाई धेरै जनाले ट्युसन पढ्न र शैक्षिक सामानहरु सहयोग गरेका थिए।
सद्भारव छात्रवृत्तिअन्तर्गत दुई वर्षमा विभिन्न जिल्लाका ३ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सकेका छौं। तर धुन्चेका विद्यार्थी भाइबहिनीजस्तो कस्ट यसअघिकाले सामना गर्नुपरेको थिएन। वर्षको ७ हजार रुपैंया एक नेपालीबाट लिएर अर्को नेपालीलाई वर्षभरि पुग्ने छात्रवृत्ति दिने हाम्रो अभियान हो। यसअन्तर्गत शैक्षिक सामाग्री र विद्यालय पोशाक उपलब्ध गराउँदै आएका छौं। तर न्यानो ज्याकेट र खानेकुरालाई हामीले समेटका छैनौं।
स्रोतसाधन जुटाएरमात्र छात्रवृत्ति उपलब्ध गराउने भएकाले पनि हालसम्म हामीले कुनै विद्यार्थीलाई न्यानो लुगा वा खानेकुरा उपलब्ध गराउन सकेका छैनौं। मैले उनीहरुको अवस्था देखेर केही नसोँची, केही सहयोग जुटाउने वचन दिएको छु। तर कहाँबाट कसरी स्रोत जुटाउने हो थाहा छैन। प्रयास भने गरिरहेको छु।
अन्त्यमा,
नेपालका नामी शिक्षाविद डा. केदारभक्त माथेमाले एक कार्यक्रममा 'स्टोरी अफ नेपाल्स स्कुल एजुकेशन इज स्टोरी अफ हरर' अर्थात् नेपालको विद्यालय शिक्षा एक भयानक कहाली लाग्दो कथाजस्तो भएको बताउनुभएको थियो। हुन पनि हो, नेपालमा एसएलसी दिने हरेक सयमध्ये १३ जनामात्र उत्तीर्ण हुन्छन्। गरिबी र अशिक्षाका कारण ग्रामीण नेपालीका कयौं पहिलो पुस्ताले समेत अहिलेको २१औं शताब्दीमा विद्यालय देखेका छैनन्। यस्तो अवस्था र त्यसमाथिको अनेकौं समस्याका बावजुद विद्यालय पुगेका बालबालिकाको भविष्य हाकुका बालबालिकाझैँ प्राकृतिक विपत्तिको मारमा परेका छन्।
प्रकाशित: २१ मंसिर २०७२ ०१:३९ सोमबार