८ वैशाख २०८१ शनिबार
ब्लग

दशैंभन्दा ठूलो चाड चुनाव पो रैछ

शुक्रबार वैशाख ३० को स्थानीय चुनावको माहोलले छोपेको थियो। चुनावका गाडी नचल्ने पहिले नै थाहा भएकाले बिहीबार अफिसको काम भ्याएर भोट दिन म कास्कीको पोखराबाट माछापुच्छ्रे गाउँपालिका पुगें। माछापुच्छ्रेको फेदैमा रहेको मेरो गाउँमा मतदानको अघिल्लो दिनको चहलपहल बेग्लै थियो। गाउँको रमणीय दृश्यसँगै चुनावी माहोलले अर्को रौनक थपेको थियो। उम्मेदवारहरू मतदाता पर्खेर बसेका थिए।

नजिकै भएकाले म बेलाबखत गाउँ पुगिरहन्छु। गाउँमा पुग्दा सिधै मेरी ९२ बर्से हजुरआमालाई भेटेर फर्कन्छु। गाउँ नगई नहुने बाध्यताका लागि वर्ष दिनमा आउने दशैं कुर्नैपर्छ। म मात्र होइन, गाउँबाट विभिन्न पेसा–व्यवसायमा लागेका दाजुभाइ, दिदीबहिनी र साथीहरू पनि दशैंमै गाउँ पुग्छन्। दशैंमा हामी प्राय काकाको निवास अर्थात् मूलघरमा भेट्छौं। त्यतिबेला विशेषतः पारिवारिक जमघट नै हुन्छ। आफू गाउँ पुगेका बेला सबै जना घरमा भेटिन्नन्। संयोग मिल्यो भने मात्र भेटिन्छन्। दशैंको टीका लगाएपछि जानै पर्ने ठाउँमा पुग्यो फेरि आफ्नै कर्मथलो फर्कनुपर्ने बाध्यता छ।

चुनाव लोकतन्त्रका लागि एउटा महोत्सव हो। जनतालाई संविधानले दिएको नैसर्गिक अधिकार पनि हो। चुनावको परिभाषासहित लोकतन्त्रको विषयतर्फ लाग्न मलाई मन छैन। किनकि मैले चुनावलाई बैग्लै तरीकाले महसुस गरें।

हजुरआमालाई भेट्नबाहेक भोट दिनकै लागि मतदाताको रूपमा भने यसरी पहिलोपटक गाउँ पुगेको थिएँ। उमेरले भोट हाल्ने समय यसअघि नै भए पनि कहिले विदेश, कहिले आफ्नै पेशामा व्यस्त भैरहँदा मतदान गर्ने अवसर मिलेको थिएन। जब म गाउँ पुगें तब चुनावलाई फरक उत्सवको रूपमा महसुस गरें। लाग्यो, चुनाव दशैंभन्दा ठूलो चाड पो रैछ। बालसखाहरूसँग भेट्ने दिन रहेछ। आफूलाई पढाएका गुरुहरूसँग भेट्ने एउटा मौका रहेछ।

मेरो ३ नम्बर वडामा पोखरेलको बाहुल्य छ। साथसाथै लम्साल, क्षेत्री, घर्ती, विक, परियार लगायत विभिन्न जातजाति मिश्रणसहितको जातीय गुच्छा छ। जसले माछापुच्छ्रेमा अझै सुन्दरता थपेको छ।

शुक्रबार बिहान ९ बजेतिर मतदानस्थल पुगें। सबै झुण्डझुण्ड भएर मत माग्दै थिए। आफ्नो विवेकपूर्ण मत अधिकारको उपयोग पनि गर्न पाएकोमा खुसी लाग्यो। गाउँमा नबसेपछि कहिलेकाहीं पुग्ने गाउँले पर्यटकजस्तै भइन्छ। यसपटकको चुनावले जुराइदिएको भेटमा कतिपयले बुबाको नामले चिनें। कतिले भाइको नामबाट, कतिले आमाको नामबाट र कतिले मेरै नामबाट चिनें। बालसखाहरूसँगको भेटले छुट्टै आत्मीयता बढायो।

यो जस्तो राम्रो पुनर्मिलनको उत्सव अरू लागेन। नागरिक अधिकार सबै आफ्नो ठाउँमा छन्। त्योभन्दा बढी मेरा लागि पुनर्मिलनको उत्सव बन्यो। भेटघाटको उत्सव लाग्यो। मलाई गणित पढाउनुभएको शिक्षक भेटें। जतिबेला म मेघराज निमाविको कक्षा ६ र ७ पढेको थिएँ। 

त्यसबेलाको निमावि अहिले मेघराज आधारभूत विद्यालय भएको छ। २५ वर्षपछि गणित पढाउने पदम सरलाई भेट्दा मलाई बुबाकै छोरा भनेर चिन्नुभयो। म पढाइमा अब्बल थिएँ। त्यसबेला एसएलसीअघि हुने परीक्षा कक्षा १० को टेस्टमा गणित विषयमा ९८ नम्बर ल्याएको थिएँ। एसएलसीमा ९२ नम्बर ल्याएको थिएँ।

अर्को व्यक्तित्व थानेश्वर सरलाई भेटें। उहाँ मेरो ममीको क्लासमेट हुनुहुन्थ्यो। मलाई त्यसबेला विद्यालयको पुस्तकालयमा लगेर छोडिदिनुहुन्थ्यो। म खाली समय पढेर समयको सदुपयोग गर्थे। पुस्तकालय पनि ठूलो भएको छ। मैले बसेर पढ्ने पुस्तकालय फरक बनेको छ। दुवै जना सरसहितको भेटले मलाई त्यही बालापन सम्झाइदियो।

६ र ७ कक्षा पढ्दाका साथीहरू भेटें। कति साथी राजनीतिमा छन्। कति आफ्नै पेसाव्यवसाय त कति विदेशमा छन्। एकजना मेरो मिल्ने साथी वडा सदस्यको उम्मेदवार हुनुभएको रहेछ। चुनावी माहोल भएकाले विगतका कुरा गरेर रमाउन त सकेनौं। तर, चुनावी माहोल मलाई विशुद्ध भेटघाटको अवसर लाग्यो। एकैछिन भए पनि मेरो मानसपटलमा बालापन फर्कियो।

कतिले मलाई दाइ चिन्नुभयो भनेर सोधे। कतिले मलाई चिनेरै नामले बोलाए, चिनिएका, बिर्सिएका र नाम याद नभएका अनुहारसँग भेटघाटको अवसर मलाई चुनावले जुराइदियो। माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणपट्टि काखमा बसको प्राकृतिक सौन्दर्यले भरिपूर्ण कास्कीको माछापुच्छ्रे गाउँपालिका छ। अधिकांश ठाउँबाट मनोरम हिमश्रृंखला, हरिया पहाडहरू देखिन्छन्। माछापुच्छ्रे हिमाल यसै गाउँपालिकामा रहेकाले नै गाउँपालिकाको नाम राखिएको हो। माछापुच्छ्रे गाउँपालिकाको सुन्दरतासँग मेरा बालापन जोडिएका छन्। मेरा अतीत २०७९ सालको स्थानीय तहको चुनावले पुनर्ताजगी गराइदियो।

प्रकाशित: ३१ वैशाख २०७९ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App